अन्तःशुल्क घटेपछि हुण्डाइले सार्वजनिक गर्‍यो इभीको नयाँ मूल्य, कोना सिरिजको यस्तो छ मूल्य 

बिजमाण्डू
२०७७ कात्तिक २ गते १४:४३ | Oct 18, 2020
अन्तःशुल्क घटेपछि हुण्डाइले सार्वजनिक गर्‍यो इभीको नयाँ मूल्य, कोना सिरिजको यस्तो छ मूल्य 

Tata
GBIME
Nepal Life

काठमाडौं। हुण्डाइ मोटर्सको नेपालका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना र आयोनिक लगायत विद्युतीय गाडीको नेपाली बजार मूल्य पुनरावलोकन गरेको छ। 
विद्युतीय सवारीमा लिँदै आएको अन्तःशुल्क सरकारले घटाएपछि कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। एक सयदेखि एक सय ५० किलोवाट क्षमतासम्मका विद्युतीय गाडी बिक्री गर्दै आएको कम्पनीले नयाँ मूल्य आइतबार सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार एक सय किलोवाट क्षमताको कोना र आयोनिकको नयाँ मूल्य ७६ लाख ९६ हजार रुपैयाँ छ भने १५० किलोवाट क्षमताको कोनाको ९४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

नयाँ मूल्यप्रति ग्राहकले जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। 'अब कति समयसम्म होल्ड गरेर बस्ने भन्ने कुरालाई मध्यनजर गर्दै हामीले इभी(इलेक्ट्रोनिक भेहिकल) पारखीको चासोलाई मध्यनजर गर्दै मूल्य निर्धारण गरेका हौं,' कम्पनीका एक पदाधिकारीले भने, 'करको दर बढेपछि पर्ने मूल्यभन्दा अबको मूल्य घटेर आएको छ।' इलेक्ट्रिक गाडी चढ्न चाहनेका लागि नयाँ मूल्यले सहज हुने अपेक्षा गरिएको उनले बताए।

सरकारले इभीमा अन्तःशुल्क बढाउनुअघि एक सय किलोवाटको गाडीको नेपाली बजार मूल्य ५५ लाख ९६ हजार रुपैयाँ थियो भने १५० किलोवाटको इभीको मूल्य ६५ लाख ९६ हजार रुपैयाँ थियो।

कम्पनीका अनुसार नेपालमा हालसम्म २ सय ५० वटा कोना गाडी बिक्री भइसकेको छ।  

सरकारले शुल्क वृद्धि गर्दा बजार मूल्य एक करोड हाराहारी पर्ने भएको थियो। मन्त्रिपरिषद्ले अन्तःशुल्कको दर घटाएपछि मूल्य घटाउन सहज भएको हो।