न्यू नर्मल: मंगलबार चार मुलुकका विदेशी पर्यटक नेपाल आउँदै, अमेरिका, युरोपबाट बुकिङ आउन थाल्यो

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ कात्तिक १ गते १२:५३ | Oct 17, 2020
न्यू नर्मल: मंगलबार चार मुलुकका विदेशी पर्यटक नेपाल आउँदै, अमेरिका, युरोपबाट बुकिङ आउन थाल्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले पर्वतारोहण र हिमाल आरोहण गर्ने पर्यटकलाई शनिबारदेखि नेपाल आउन खुला गरेको छ। यो निर्णयपछि मंगलबार चार मुलुकका विदेशी पर्यटक ट्रेकिङ र हिमालय आरोहणका लागि आउँदैछन्।

कोरोना संक्रमणको सात महिनापछि विदेशी पर्यटक नेपाल आउन लागेका हुन्। पर्यटन विभागले मंगलबारदेखि नेपाल भ्रमणका लागि आउन चाहेका १० जना विदेशी पर्यटकलाई अन-अराइभल भिसा दिन अध्यागमन विभागलाई पत्राचार गरेको जनाएको छ।

मंगलबार अमेरिकाबाट पाँच जना, कतार, बेलायत, इटली, जोर्डन र युनाइटेड अरब इमिरेट्स लगायत प्रत्येक मुलुकबाट एक जनाका दरले अनअराइभल भिसा उपलब्ध गराउनका लागि पत्राचार गरेको हो। विभागका अनुसार अमेरिका र कतारबाट आउन लागेका पर्यटकले अमादब्लम '६८१४ मिटर' हिमाल आरोहणका लागि ४५ दिन सम्मका लागि भ्रमण अनुमतिको समयावधि दिइएको छ।

हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनको व्यवस्थापनमा गर्न लागिएको यो हिमाल आरोहणका लागि अक्टोबर २७ तारिखदेखि ४५ दिनसम्म समयावधि छुट्याइएको छ। युके, इटली, जोर्डन, युनाइटेड अरब इमिरेट्स लगायत मुलुकबाट आउने पर्यटकले हिमुङ (७१२६ मिटर) हिमाल आरोहण गर्ने भएका छन्। ट्याग नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनले व्यवस्थापन गरेको यो हिमाल आरोहणका लागि नोभेम्बर १ तारिखदेखि ६० दिनसम्मका लागि समयावधि छुट्याइएको विभागले जनाएको छ।

विभागले जारी गरेको सूचना अनुसार विदेशी पर्यटकलाई सात दिन क्वारेन्टिनको मापदण्ड छ। क्वारेन्टिन मापदण्डमा व्यवसायीले असन्तुष्टी जनाए पनि विदेशी पर्यटकले भने आउन चासो देखाएका छन्। अध्यामगन विभागका महानिर्देशक रमेशकुमार केसीले पर्यटन विभागको सिफारिसमा १० जना पर्यटकलाई अनअराइभल भिसा दिन लागिएको बताए।

पछिल्लो समय विदेशी पर्यटकले नेपाल भ्रमणमा देखाएको चासोले व्यवसायीमा केही आशा पलाएको ट्रेकिङ एजेन्सी नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले बताए। 'पर्वतारोहण र हिमाल आरोहणका लागि युरोप, अमेरिका लगायत मुलुकबाट बुकिङ आउन सुरु भएको छ। केही विदेशी पर्यटक आउँदो साता नै नेपाल आउँदैछन्,' उनले भने। यस अघि बहराइनका राजपरिवार सदस्यसहितको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल र गोरखाको मनास्लु हिमाल आरोहण गरिसकेको छ।