गण्डकीको पूर्वाधार मन्त्रालयले ५२ जना प्राविधिक भर्ना गर्दै, मन्त्रालय र मातहतमा खटाइने

बिजमाण्डू
२०७७ असोज २४ गते १०:४१ | Oct 10, 2020
गण्डकीको पूर्वाधार मन्त्रालयले ५२ जना प्राविधिक भर्ना गर्दै, मन्त्रालय र मातहतमा खटाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। गण्डकी प्रदेश सरकारले मेकानिकल इन्जिनियरसहित उल्लेख्य संख्यामा प्राविधिकहरू भर्ना गर्ने भएको छ। शनिबार प्रकाशित सूचनाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायमा जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकाले करारमा ५२ जना प्राविधिक भर्ना गर्न लागेको हो।

सातौं तहको ९ जना इन्जिनियर भर्ना गर्ने भएको छ। यो पदका लागि मेकानिकल इन्जिनियरिङ वा सो सरहको योग्यता भएको जनशक्ति मागेको छ। यस्तै पाँचौं तहमा एक जना भौगर्भिक विषयका स्नातकोत्तर योग्यताको इन्जिनियर भर्ना गर्ने भएको छ। 

सिभिल र मेकानिकल इन्जिनियर गरि ३१ जना लिन लागेको मन्त्रालयले योग्यतामा सिभिल र मेकानिकलतर्फका जनशक्ति मागेको छ। 

पाँचौं तहका ल्याब टेक्निसियन ३ र ल्याब सहायक ९ जना भर्ना गर्न सूचना जारी गरेको छ। संघीय सरकारमातहतका प्राविधिक जनशक्ति प्रदेशमा निकै कम छन्। प्रदेशमा पूर्वाधारका थुप्रै योजनाहरू भए पनि स्थानीय तह र मातहतका कार्यालयहरूको मागअनुसार प्रदेश सरकारले दक्ष जनशक्ति व्यवस्थापन गर्न सकेको छैन।

पदपूर्तिका लागि जारी शनिबार जारी सूचनाअनुसार योग्यता पुगेका इच्छुकले कात्तिक ५ भित्र निवेदन दिन सक्नेछन्।