रेल विभागको महानिर्देशकमा प्रमिला बज्राचार्य, कार्यकालको अन्तिममा विवादित बनेर बाहिरिए मिश्र

बिजमाण्डू
२०७७ असोज १९ गते १८:५६ | Oct 5, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। रेल विभागमा दुई वर्ष एक महिना नेतृत्व गरेर महानिर्देशक पदबाट बलराम मिश्रले अवकास पाएका छन्। उनको ठाउँमा सहसचिव प्रमिला बज्राचार्यलाई यातायात मन्त्रालयले जिम्मेवारी दिएर पठाएको छ। 

सोमबार नै उनले कार्यभार सम्हालेकी छन्। बज्राचार्य मन्त्रालयकी वरिष्ठ सहसचिव हुन्। उनी सचिवमा बढुवा हुने मन्त्रालयको पहिलो नम्बरमा छिन्। उनैलाई सरकारले ३ सय बिजुली बस खरिद गर्न गठन गरिएको कार्यदलको संयोजकको जिम्मा दिएको थियो। 

बज्राचार्य खानेपानी विभागमा इन्जिनियरका रूपमा सरकारी सेवामा प्रवेश गरेकी हुन्। सुरुमा उनले एसियाली विकास बैंकको सहयोगमा संचालित सामुदायिक खानेपानी सुधार आयोजनामा काम गरेकी थिइन्। 

त्यसपछि  खानेपानी विभागमा काम गरिन्। २०६६  सालमा खुल्लाबाट सिनियर डिभिजन इन्जिनियर पदमा नाम निकालिन्। उनी हाइवे उपसमुहकी इन्जिनियर भइन्। २०६७ सालमा खुल्लाबाट सहसचिव नाम निकालिन्। 

सडक विभागमा सडक सुधार आयोजना, उत्तर दक्षिण व्यापारिक मार्ग आयोजना (कर्णाली, कोशी र  कालीगण्डकी),  त्यस्तै राष्ट्रिय सतर्कता केन्द्र प्राविधिक परिक्षण महाशाखा प्रमुख भएर काम गरेकी छन्। विभागमा उनले मर्मतसम्भार महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन। मन्त्रालयमा सरुवा भएपछि उनलाई निर्माण महाशाखाको जिम्मेवारी दिइएको थियो।

कार्यकालको अन्तिम समयमा विवादित भए मिश्र !
रेल विभागमा २५ महिना काम गर्दा कुनै विवाद नभए पनि कार्यकालको अन्तिम समयमा मिश्र विवादित भएका थिए। पुर्व-पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गतको इनरुवा-काकडभिट्टा रेलमार्ग निर्माणको ठेक्का कुनै तयारी नै नगरी निकालेर विवादित भएका थिए। 

१८ वटा कम्पनीसँग पहिले नै ‘म्याच फिक्सिङ’ गरेर ठेक्का निकालिएको थियो। आयोजनामा पर्ने मुआब्जा यकिन नै नभइ, रुख कटान स्वीकृति नलिइ निर्माण कम्पनीसँग सम्झौता गरेर ३४ अर्ब रुपैयाँको ठेक्का निकालिएको थियो। जसले राज्यलाई १० अर्ब घाटा लाग्ने निर्माण व्यवसायीहरु नै दाबी गरेका थिए। 

चौतर्फी आलोचना भएपछि ठेक्का रद्द गरिएको थियो। मन्त्रालयका एक सहसचिवले ठेक्का रद्द गरेर उनैलाई राम्रो भएको बताए। ती सहसचिवका अनुसार त्यो ठेक्का अघि बढाइएको भए उनलाई पछिसम्म अप्ठ्यारो पर्ने थियो।