नेपाल-भारत सीमा खोल्न वीरगंजका मेयर सरावगीको प्रस्ताव, भन्छन्, ‘बर्बाद भइसक्यो’

बिजमाण्डू
२०७७ असोज १४ गते ०८:४५ | Sep 30, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंजका मेयर विजयकुमार सरावगीले नेपाल सरकारले भारतीय सीमा उच्च सतर्कता अपनाएर खोल्नुपर्ने प्रस्ताव गरेका छन्। वीरगंजको भिस्वाडाँडामा पर्यटन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा सीमा खोल्न प्रस्ताव गरेका हुन्।

भिजिट मधेस नेपालले तराईको २२ वटा जिल्लामा पर्यटन दिवस मनाएको थियो। वीरगंजको पर्यटकीय स्थलको रूपमा चिनिने भिस्वाडाँडामा पनि अन्तरक्रिया गर्दै पर्यटकबिनाको पर्यटन दिवस मनाइयो। अन्तरक्रियामा मेयर सरावगीले वीरगंजको होटल व्यवसायी सुक्न लागेकाले प्राण भर्न आवश्यक मापदण्ड पालना गरी नेपाल–भारत सीमा खोल्न आग्रह गरे।

‘वीरगंजको पर्यटन व्यवसाय सुकिसकेको छ, बर्बाद भइसक्यो। करोडौंको लागानी डुब्ने खतरा छ,’ उनले भने, ‘वीरगंज नेपालको गेटवे अफ नेपाल हो। वीरगंज–रक्सौल नाका खोलियो भने वीरगंज, पर्साको मात्र भलाई हुँदैन, प्रदेश २ कै ८ जिल्लाको पर्यटन व्यवसायसँगै नेपालकै पर्यटन व्यवसायमा चमक आउन सक्छ।’

अहिले भारतमा पनि कोरोनाको तनावबीच कतिपय मानिस नेपाल आउन खोजिरहेका छन्। बिहारमा मदिरा बन्द छ, वीरगंजमा कोरोना संक्रमण नियन्त्रण हुन थालेको छ। वैवाहिक समारोह, भेला तथा अन्य कार्यक्रमका लागि पनि भारतीय पर्यटकलाई वीरगंजमा स्वागत गरी पुनः पर्यटन व्यवसायलाई 'बुस्ट अप' गर्नुपर्ने उनको जोड थियो।

वीरगंज पब्लिक कलेजका सञ्चालक डा. दीपक शाक्यले प्रदेश २ का सम्पूर्ण पर्यटकीय गन्तव्यलाई नयाँ पहिचान र प्रवर्द्धन गरी अगामी दिनमा अघि बढनु पर्ने जोड दिए।

पर्यटक पत्रकार संघका अध्यक्ष शंकर अचार्यले वीरगंजमा पर्यटन टिकाइराख्न र कम्तिमा तीन दिनको प्याकेज बनाउनका लागि आवश्यक गन्तव्यको छनोट र आवश्यक आधुनिक सुविधासमेत उपलब्ध नभएसम्म पर्यटन व्यवसायमा वीरगंजको विकास गर्न चुनौती रहेको बताए।

होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य माधव बस्नेतले भारतीय सीमाना नखोलेसम्म वीरगंजको होटल व्यवसाय धरासायी हुने बताए। वीरगंज आर्थिक नगरीसँगै औद्योगिक करिडोर भएको साथसाथै, नेपालकै छोटो नाका भएकाले पनि पर्यटन व्यवसायमा यो क्षेत्रको ठूलो योगदान रहेको भनाइ उनले राखे। सरोकारवाला निकायले मिलेर वीरगंजमा आउने पर्यटकलाई नयाँ चिज दिएपछि पर्यटन व्यवसाय फड्को मार्ने धारणा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले राखे।

कार्यक्रममा भिजिट मधेस नेपालका केन्द्रीय अध्यक्ष ओमप्रकाश सर्राफले पछिल्लो ७ महिनामा कोरोना महामारीको कारण तराइका २२ जिल्लाको पर्यटन व्यवसायमा कस्तो असर परेको र के गर्दा अहिलेको परिस्थितिबाट उन्मुक्ति पाउन सकिन्छ भन्ने सन्देश सहितको कार्यपत्र प्रस्तुत गरेका थिए।