सकसमा सन्ध्याकालीन रेस्टुरेन्ट : ‘नखाउँ दिनभरिको सिकार, खाउँ कान्छा बाउको अनुहार’

सविन ढकाल/बिजमाण्डू
२०७७ असोज ६ गते १८:३८ | Sep 22, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। भदौ ३१ गते जिल्ला प्रशासनले गरेको निर्णय सुन्दा शोभनवीर मालाकार एकाएक खुशी हुने स्थिति बन्यो। लामो समयदेखि बन्द भएको उनको व्यवसाय खुल्न पाउने खबर उनका लागि आशाको किरण बन्यो। शोभनवीर मालाकार अर्थात् त्रिसारा रेष्टुरेष्टका संचालक।

देशभित्र इनेगिनेका रेष्टुरेष्टमा पर्छ त्रिसारा। काठमाडौंका दरवारमार्ग र लाजिम्पाट गरी दुई ठाउँको रेष्टुरेष्ट युवादेखि भिआइपीसम्मको रोजाइमा पर्नेगर्छ। चैत ११ गतेदेखि नै बन्द थियो उनको रेस्टुराँ। नाफा त परको कुरा भाडा समेत उठाउने अवस्थामा लकडाउन र निषेधाज्ञा लाग्यो। कसरी कर्मचारीलाई तलब दिने भन्ने विषयले उकुसमुकुस पारिरहेको थियो।

असोज १ गतेबाट सरकारले संचालन गर्न दिएपछि केही नभए पनि भाडा र कर्मचारीलाई तलब त खुवाउन पुग्ला भन्ने सोचेका थिए उनी। उनी खुशी हुनुको कारण यही थियो। जिल्ला प्रशासनबाट आएको निर्देशनसँगै विदामा भएका कर्मचारीलाई डाके। ५० जना कर्मचारीको पीसीआर परीक्षण गराए। त्यहीअनुसार रेष्टुरेष्टमा संक्रमणबाट जोगिने गरी सुरक्षाको मापदण्ड मिलाउन संरचना हेरफेर गरे।

तर, उनको खुशी धेरै समय टिक्न पाएन। व्यवसाय खोल्न नपाउँदै उनलाई आएको जानकारीले फेरि निराश बनायो। सूचना थियो – रेष्टुरेष्ट राति ९ बजेसम्म मात्र खोल्न पाउने। प्रहरीले पनि ९ बजेपछि खोले कारबाही गर्ने चेतावनी दियो। त्यसपछि मालाकारलाई रेष्टुरेष्ट खोल्न नखोल्नुको कुनै औचित्य नै भएन।

'हाम्रोमा ७ बजेदेखि ग्राहक आउन थाल्छन्। ९ बजे बन्द गर्नका लागि साढे ८ बजेबाट तयारी गर्नुपर्छ। एक घण्टाको लागि खोलेर त के गर्ने? पिक आवरमा नै बन्द गर भनेपछि कसरी व्यापार हुन्छ?,' व्यवसायी मालाकारले भने।

लकडाउनका कारण ग्राहकहरूलाई रेस्टुरेन्टका परिकार घरमै मगाएर खाने अभ्यास बढेको छ। ग्राहकहरू सपरिवार रेस्टुरेन्ट आउने र अर्डर पर्खेर खाएर जाने वातावरण नभएसम्म कारोबारले अपेक्षित गति नलिने व्यवसायीहरुको आँकलन छ। एक त मानिस रेष्टुरेष्टमा संक्रमणको त्रासमा कमैमात्रामा पुगेका छन्। त्यसमा पनि ९ बजे नै व्यवसाय बन्द गर भन्दै प्रहरी पुग्दा खोल्नु नखोल्नुको औचित्य रहेन। लकडाउनपछि केही समय टेक – अवेको सेवा सञ्चालन गर्न अनुमति दिइएको थियो। केही नाम चलेका रेष्टुरेष्टले सेवा दिए, त्यतिखेर। तर पनि रेस्टुरेन्ट सञ्चालकहरू त्यसबाट अपेक्षित फाइदा पाउन सकेनन्।

'अहिले धेरै रेष्टुरेष्ट व्यवसायहरु खुलिसकेका छैनन्। खुलेका रेष्टुरेन्टमा पनि ग्राहको सङ्ख्या कम छ। तर, पिक आवरमा नै बन्द गर्नुपर्ने भयो भने मर्का पर्छ। हामी यो विषयमा सम्वन्धित निकायसँग कुरा गर्छौं,' रेष्टुरा एण्ड वार एसोसिएसनका अध्यक्ष अरनिकोराज भण्डारीले भने।

काठमाडौंमा अहिले साना ठूला गरी २ हजार ५ सयको हाराहारीमा रेष्टुरेष्ट संचालमा छन्। सरकारको मापदण्ड अनुसार व्यवसाय संचालन गर्ने व्यवस्था मिलाइएको व्यवसायीहरुको दावी छ। 'हामीले सबै व्यवस्था मिलाएका छौं। दुरी कामय छ। तर ९ बजेपछि किन खोल्न नपाइने?,' व्यवसायी मालकारले प्रश्न गरे।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाले जारी गरेको नियममा रेष्टुरेष्ट व्यवसायलाई कुनै समय तोकेको छैन। डान्सबार, पार्टी प्यालेस लगायत क्षेत्रलाई रोक भने लगाएको छ। कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत कुनै पनि रेष्टुरेष्ट व्यवसायलाई समय तोकेर नै संचालन गर्नु वा नगर्नु कुनै पनि निर्णय नगरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए।

'यो संक्रमण अन्तर्गत कुनै त्यस्तो निर्णय छैन। यो स्थानीय प्रहरीलाई शान्ति सुरक्षा व्यवस्थापनको लागि समय तोकेको हुनुपर्छ,' सहायक सीडीओ दुलालले भने।

केही अघि निषेधाज्ञाको समयमा प्रहरीले टेक वे मार्फत् सामान घरघर पुर्‍याउने युवाहरुलाई समेत नियन्त्रणमा लिएको थियो। त्यसपछि केहीदिन टेक वे संचालकले व्यवसाय बन्द गरेका थिए जसको चर्को आलोचना पनि भयो। स्थानीय प्रशासन र व्यवसायीबीच यस विषयमा सहमति भएपछि पुनः होम डेलिभरी सेवा दिन थालिएको थियो।

अहिले त्यस्तै रेष्टुरेष्ट व्यवसायलाई पनि समय निर्धारण गरिएको छ। शान्ति सुरक्षा र कोरोना संक्रमणलाई मध्यनजर गर्दै यस्तो नियम लगाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआइजी विश्वराज पोखरेलले बताए।

'रातको समयमा मानिसले मापदण्ड तथा सुरक्षा पालना गर्ने सम्भावना निकै कम देखेर यस्तो व्यवस्था गरेका हौं,' डीआइजी पोखरेलले भने।

तर व्यवसायीहरुले दिउँसो कोरोना नसर्ने राती सर्ने भन्ने तर्फ गर्न नमिल्ने बताइरहेका छन्। प्रहरी प्रशासनलाई सुरक्षा मापदण्ड तथा अन्य सुरक्षामा समस्या भए आफूले यसको जिम्मेवारी लिएर काम गर्ने रेष्टुरा एण्ड वार एसोशियसनका अध्यक्ष राजभण्डारीले बताए।

'आवश्यक सुरक्षा व्यवस्था मिलाउँछौं। सीसी क्यामरादेखि अन्य मानिस राखेर पनि सामाजिक दुरीदेखि अन्य कुराको निरीक्षण गर्न तयार छौं। तर रेष्टेरेष्टलाई पूरा समय खोल्न दिनुपर्छ,' अध्यक्ष राजभण्डारीले भने।

यतिखेर सन्ध्याकालीन रेस्टुरेन्टहरुका लागि जिल्ला प्रशासनको आदेश र प्रहरीको व्यवहारले एउटा उखान चरितार्थ भएको छ – नखाउँ दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार।