यसरी बन्छ कम खर्चमै बलियो घर, के कुरामा ध्यान पुर्याउने, स्ट्रक्चरल इन्जिनीयरको टिप्स

बिजमाण्डू
२०७७ असोज ६ गते ११:५६ | Sep 22, 2020
यसरी बन्छ कम खर्चमै बलियो घर, के कुरामा ध्यान पुर्याउने, स्ट्रक्चरल इन्जिनीयरको टिप्स

Tata
GBIME
Nepal Life

‘अफोर्डेबल हाउजिङ’ (औकातअनुसारको अर्थात् किन्न सक्ने घर) को अवधारणा संसारभरि नै फैलँदो छ, भलै यो आफैंमा एक सापेक्षित अर्थ दिने अवधारणा हो । किनभने सन्दर्भ र परिवेशअनुसार यसले फरक अर्थ अभिप्रेरित गर्छ ।

अमेरिकामा ‘किन्न सक्ने’ भनेर बनाइएको उस्तै घर नेपालमा बनाउँदा भने ‘किन्न नसक्ने’ पनि हुन सक्छ । नेपालमै पनि एउटा वर्गले किन्न सक्ने घर अर्को वर्गको हैसियतले भ्याउँदैन ।

माइल्सले (सन् २०००) लेखेका छन्, ‘न्यून तथा मध्यम आय भएका परिवारका लागि घरहरू तब ‘अफोर्डेबल’ हुन्छन् जब उनीहरूले आफ्नो आम्दानीको ३० प्रतिशत खर्चिंदा घर पाउन सक्छन् ।

ग्लोबल म्याककिन्से इन्स्टिच्युट रिपोर्ट (२०१४) ले पनि अफोर्डेबल हाउजिङलाई तीनवटा दायरा वा शर्त (तल चित्रमा देखाइएको) बाट व्याख्या गरेको छ जुन हरेक राष्ट्रले आफ्नो परिवेशमा ढालेर परिभाषित गर्नुपर्ने हुन्छ ।

यो रिपोर्टअनुसार हाउजिङ अफोर्डेबल हुनका लागि पहिलो शर्त हो— ‘अफोर्डेबल हाउजिङ’ त्यो मात्रै हो जुन कुनै नागरिकले आफ्नो परिवारको कुल आम्दानीको ३० देखि ४० प्रतिशत खर्च गरेर किन्न सक्छ ।

दोस्रो, पारिवारिक आम्दानीको बढीमा ४० प्रतिशत खर्चिंदा आउने त्यस्तो घरमा एउटा आवासमा हुनुपर्ने सम्पूर्ण आधारभूत सुविधा हुनुपर्छ र त्यो घर उसले काम गर्ने ठाउँबाट एक घण्टाभन्दा कम दूरीमा रहनुपर्छ ।

रिपोर्टमा उल्लेख अफोर्डेबल हाउजिङको तेस्रो शर्त भन्छ— यस्तो घर सम्बन्धित राष्ट्र वा क्षेत्रको औसत आम्दानीको ८० प्रतिशत कमाइ हुने परिवारले किन्न सक्ने हुनुपर्छ।

जग्गाको आकाशिँदो मूल्य र महँगो निर्माण सामग्रीले गर्दा न्यून तथा मध्यम आय भएका परिवारले बासस्थानको व्यवस्था गर्न सक्दैनन् । त्यसैले राज्य र गैरसरकारी संस्थाहरूको पहलमा यस्तो वर्गलाई लक्षित गरेर आवासीय योजनाहरू ल्याउने गरिन्छ ।

नेपाल सरकारले एशियाली विकास बैंकको सहयोगमा सन् २०१० मा गरेको एक अध्ययनअनुसार काठमाडौंमा घरको मूल्य र परिवारको आम्दानीको अनुपात १०.६ थियो । हालैका वर्षमा यस्तो अध्ययन भएको त भेटिंदैन तर महँगीकै दरमा आम्दानी नबढेकाले घरको मूल्य र पारिवारिक आय अनुपातको अवस्था झन् भयावह रहेको अनुमान लगाउन सकिन्छ ।

मितव्ययी निर्माणको तरिका
परम्परागत निर्माण विधि र निर्माण सामग्रीको प्रयोगले घर बनाउने खर्च हरेक वर्ष धान्नै नसक्ने गरी बढिरहेको छ । नेपालको महँगो आवास खर्चका कारण न्यून तथा मध्यमवर्गीय मात्र होइन, उच्च मध्यमवर्गीय परिवार पनि समस्यामा परेको देखिन्छ । सामूहिक रूपमा बनाइने ‘हाउजिङ’ होस् या व्यक्तिगत तवरमा बनाइने घर, सबैमा घरको मूल्य कसरी कम गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

उचित बजेटिङ तथा व्यवस्थापन, आधुनिक निर्माण प्रविधि प्रयोग र निर्माण सामग्रीको उच्चतम सदुपयोग गरिएन भने अफोर्डेबल भनिएका घरहरू पनि ‘किन्न नसक्ने’ (अनअफोर्डेल) मा परिणत हुन्छन् । व्यक्तिगत तहमा त झन् अहिले पनि पुख्र्यौली जग्गा वा

आफ्नो अन्य जायजेथा नबेची घर बनाउन धौधौ पर्ने स्थिति भैसकेको छ ।

कमसल सामग्रीको प्रयोग गरेर बनाइएको र न्यून गुणस्तरको घर नै कम लागतको (लो कस्ट हाउजिङ) हुन्छ भन्ने मान्यता गलत हो । घरको सुरक्षा, टिकाउ, गुणस्तर र सुविधामा कुनै पनि सम्झौता नगरीकनै स्तरीय डिजाइन, आधुनिक निर्माण प्रविधि, उचित व्यवस्थापन र गुणस्तरीय स्थानीय निर्माण सामग्रीको प्रयोगले घरको लागत कम गर्न सकिन्छ ।

कुनै पनि घर बनाउँदा लाग्ने लागतका प्रमुख पक्ष निर्माण सामग्री, निर्माण कार्य (कन्स्ट्रक्शन) र इन्जिनीयरिङ डिजाइन हुन् । उच्चतम डिजाइन भयो भने सामान्य अवस्थामा भन्दा कम निर्माण सामग्रीबाटै घर बनाउन सकिन्छ, जसले समग्र घरकै लागत कम हुन्छ ।

आधुनिक निर्माण प्रविधिबाट छिटो र थोरै सामग्री खेर जाने किसिमले निर्माण सम्पन्न गर्न सकिन्छ । घरको जग, बाहिरी र भित्री पर्खाल (पार्टिशन वाल), स्ल्याब सिस्टम र फिनिसिङमा ध्यान पुर्यायो भने पारम्परिक तरिकाले बनाइनेभन्दा कम लागतमा घर निर्माण गर्न सकिन्छ ।

घरको जग
घर निर्माणको एउटा महत्त्वपूर्ण पाटो हो जग । जगको किसिमअनुसार घरको कुल लागतको १५ देखि ३० प्रतिशतसम्म जग निर्माणमा खर्च हुन्छ । माटोको अध्ययन गरेर उपयुक्त किसिमको जग डिजाइन गर्यो भने यसको लागत त्योभन्दा कम गर्न सकिन्छ ।

भूकम्पपछि नेपालमा बन्ने गरेका भवनका जगहरू अनावश्यक रूपमा खर्चिलो हुनेगरी बनाइने गरेको देखिन्छ । राफ्ट मात्र भए पुग्ने ठाउँमा पाइल्ड–राफ्ट डिजाइन गर्ने, स्प्रेड फुटिङ भए पुग्ने ठाउँमा राफ्ट डिजाइन गर्ने इत्यादि गरेको पइएको छ । चितवनमा मिडियम गुणस्तरको माटोमा बन्दै गरेको अढाईतले घरमा पनि राफ्ट फाउन्डेशन डिजाइन गरेको पइएको छ ।

अहिलेको परिवेशमा नेपालमा जगको लागत कम गर्ने होइन कि, ओभर–डिजाइन गरेन भने मात्र पनि परियोजनाको लागत धेरै कम गर्न सकिन्छ ।

जगको ओभर–डिजाइन नगर्नका लागि निम्न कुरामा ध्यान पुर्याउन जरूरी छ ।

– उपयुक्त ग्रीड स्पेसिङ तय गरेर आवश्यक संख्यामा मात्र पिल्लर दिने ।

– माटोको भार बहन क्षमता (बियरिङ क्यापासिटी) एकदमै कम छ भने भवनको आकारअनुसार दुई पिल्लरबीचको दूरी कम गराउने र सकेसम्म भवनमा हात्तीपाइले (स्प्रेड फुटिङ) डिजाइन गर्ने ।

– पाइल्ड–राफ्ट सबैभन्दा महँगो फाउन्डेशन सिस्टम हो । त्यसैले आवश्यक नपर्ने ठाउँमा यस्तो फाउन्डेशन डिजाइन नगर्ने ।

समान्यतया दलदलमै बनेका र ‘लिक्युफ्याक्शन’ को उच्च जोखिम रहेको ठाउँमा बाहेक ठीकठाकको माटोमा पनि चार–पाँच तलासम्मको घरका लागि राफ्ट फाउन्डेशन आवश्यक पर्दैन ।

एल क्याडीको समूहले युनिभर्सिटी अफ इजिप्टमा गरेको एक अध्ययनअनुसार परम्परागत ‘फ्ल्याट बटम आइसोलेटेड फुटिङ’ को भन्दा ‘फोल्डेड आइसोलेटेड फुटिङ’ को भार बहन क्षमता धेरै हुन्छ र यसको लागत फ्ल्याट बटम आइसोलेटेड फुटिङको तुलनामा १८ प्रतिशतसम्म कम हुने देखिएको छ । यस्तो डिजाइनको प्रयोगबाट जग निर्माणको लागत कम गर्न सकिन्छ ।

पार्टिशन पर्खाल
पार्टिशनका लागि बनाइने पर्खालले घर निर्माण लागतको महत्त्वपूर्ण हिस्सा ओगटेको हुन्छ । नेपालजस्तो उच्च भूकम्पीय जोखिम भएको देशमा पार्टिशन पर्खालको तौल जति कम गर्न सक्यो त्यति नै भूकम्पीय धक्का कम लाग्छ । कम तौल भएपछि बिम, पिल्लर र जगमा लाग्ने भार पनि कम हुन्छ, र यसले निर्माण लागत न्यून गर्दछ ।

पार्टिशन पर्खालका लागि प्रचलनमा आएका हलुका तौलका (लाइट–वेट) निर्माण सामग्रीमा एएसी ब्लक र ड्राई वाल रहेका छन् ।

बाहिरी पर्खाल
बाहिरी पर्खालको उपयुक्त डिजाइनले पनि कम लागतको घर निर्माण गर्नमा सहयोग पुर्याउँछ । सामान्यतया बाहिरी पर्खाल इँटाको ब

‘र्याट ट्रयाप बोन्ड’ पर्खाल
नाउने प्रचलन छ । पारम्पारिक ‘इङ्लिश बोन्ड’ र ‘फ्लेमिस बोन्ड’ नगरीकन ‘र्याट ट्रयाप बोन्ड’ प्रविधिबाट बनाइएका पर्खालहरू कम खर्चमा बन्ने र बढी उपयोगी हुन्छन् ।

‘र्याट ट्र्याप बोन्ड’ मा कम सिमेन्ट मसलाको खपत हुन्छ र हेर्दा राम्रोसमेत देखिने भएकाले प्लास्टर गर्नुपर्ने जरूरत पनि हुँदैन । यसरी बनाइएको पर्खालले तपक्रम कायम राख्न पनि मद्दत गर्दछ । बीचमा खाली ठाउँ हुने भएकाले गर्मीको समयमा बाहिरभन्दा कोठाभित्रको तापक्रम ५ डिग्रीसम्मले कम भएको पइएको छ ।

प्रि–कास्ट पर्खाल प्यानल
छोटो समयमा काम सकिने र सामान खेर नजाने भएकाले पि–कास्ट पर्खाल प्रयोगले पनि निर्माण लागत कम गर्न सकिन्छ । तर धेरै टाढाबाट ओसार्न पर्ने अवस्थामा भने ह्यान्डलिङका लागि आवश्यक पर्ने भारी उपकरणले गर्दा सानो घरको लागत झन् बढ्न पनि सक्छ । यसतर्फ विचार पुर्याउन आवश्यक छ ।

रूफिङ
छानोलाइ बलियो र सुरक्षित बनाउन छतको स्ल्याबमा प्रयोग हुने सबै कंक्रिट आवश्यक पर्दैन । यस्तो अनावश्यक कंक्रिटलाई उपयुक्त प्रविधिबाट कम गर्न सकियो भने डिजाइनमा सम्झौता नगरीकनै कम लागतमा स्ल्याब निर्माण गर्न सकिन्छ । तल चित्रमा देखिएजस्तै माटोको भाँडो या अरू प्रविधिबाट स्ल्याबको कंक्रिट कम गर्न सकिन्छ ।

यसरी निर्माण गरिएको स्ल्याबको तौल पारम्पारिक स्ल्याबभन्दा कम हुन्छ र डन्डीको मात्रा पनि कम गर्न सकिन्छ । यस्तो प्रविधिलाई ‘फिलर स्ल्याब रूफिङ सिस्टम’ भनिन्छ ।

यस्तो प्रविधि आर्किटेक्ट लरी बेकरले भारतको केरलामा निकै प्रयोग गरेका छन् । तलबाट देखिने सिलिङका भ्वाइडलाई आर्किटेक्चरल फिचरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यदि मन परेन भने फल्स सिलिङले छोप्न पनि सकिन्छ ।

प्लास्टरिङ
घरको लागतमा महत्त्वपूर्ण काम प्लास्टरिङ पनि हो । भित्र–बाहिर सबै ठाउँमा प्लास्टर गर्दा निकै खर्च हुन्छ र झन् त्यसमाथि प्लास्टरलाई नियमित रूपमा रङरोगन गरी राख्नुपर्छ । राम्रोसँग बनाइएको इँटाको रङ कहिले पनि नखुइलिने हुँदा बाहिर प्लास्टर नगर्दा पनि हुन्छ, जसबाट निर्माण लागत कम गर्न सकिन्छ ।

माथि उल्लिखित निर्माण पद्धति तथा उच्चतम डिजाइनका साथै आधुनिक निर्माण प्रविधि र स्थानीय सामग्रीको प्रयोगबाट संरचनाको गुणस्तर र सुरक्षामा कुनै पनि सम्झौता नगरी कम लागतमा घर बनाउन सकिन्छ ।