सरकारका प्रवक्ता भन्छन्- ‘कुलमानलाई फेरि एमडी बनाउन कानुनले दिँदैन, तर हामी सकारात्मक छौं’

बिजमाण्डू
२०७७ असोज २ गते १९:०२ | Sep 18, 2020

Tata
GBIME
Nepal Life

रुपन्देही। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक (एमडी) नियुक्तिमा सरकारले उपयुक्त निर्णय गर्ने बताएका छन्। देशको हित र कार्यक्षमताका आधारमा नयाँ एमडी नियुक्त गरिने उनको भनाई थियो।

बुटवलमा शुक्रवार प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले निवर्तमान एमडी कुलमान घिसिङलाई पुनर्नियुक्त गर्न भने कानुनी अड्चन रहेको बताए।

‘कुलमान घिसिङको कामप्रति सरकार सकारात्मक छ। पुनर्नियुक्ति गर्न भने कानुनी अड्चन छ,’ मन्त्री ज्ञवालीले भने, ‘काठमाडौं र देशलाई लोडसेडिङमुक्त बनाउन कुलमानको मुख्य भूमिका थियो। तर, उहाँको मात्रै एक्लो प्रयासले मात्र भएको होइन। यसमा सरकारको लगानी र टिमको पनि उत्तिकै योगदान छ।’

‘भारतसँग छिट्टै वार्ता हुन्छ’

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री ज्ञवालीले भारतसँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताए। नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी उनले दिए।

खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्सा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने, ‘निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ। उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ।’

सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताए।

नेता ज्ञवालीका अनुसार सो विषयमा सच्याउनुपर्ने भएमा आवश्यक बुँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुनेछ। उनले पार्टी स्थायी कमिटीमा एमसिसीका कुन कुन बुँदा सच्याउने भन्ने कुरा नउठेकोसमेत स्पष्ट पारे।

उनले पार्टीभित्र अझै पनि अन्तरविरोध रहेको र त्यसको समाधान आगामी चैतमा हुने महाधिवेशनबाट समाधान हुने विश्वास व्यक्त गरे।

मन्त्री ज्ञवालीले स्वास्थ्य सङ्कटमा परेका जनतालाइ राहत पुर्‍याउने सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै सरकारले स्वास्थ्यका उपकरण थप्ने, संरचना निर्माण गरेर स्वास्थ्य क्षेत्रमा सुविधा बृद्धि गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

मन्त्री ज्ञवालीले आफूले केही दिन पहिले एशिया क्षेत्रका अर्थमन्त्रीको जुम बैठकमा सहभागिता जनाउँदा एशियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो सङ्केत नगरेको जनाउँदै स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजिएको बताए।