कुबेर समूहको प्रवेशपछि आक्रामक बन्दै सौर्य एयर, छ महिनाभित्र चारवटा एटिआर-७२ जहाज ल्याउँदै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ असोज २ गते १८:४५ | Sep 18, 2020
कुबेर समूहको प्रवेशपछि आक्रामक बन्दै सौर्य एयर, छ महिनाभित्र चारवटा एटिआर-७२ जहाज ल्याउँदै

काठमाडौं। लकडाउनकै बीच ५० सिटे क्यानेडियन बम्बार्डियर सीआरजे-२०० जहाज थपेको सौर्य एयरलाइन्सले ६ महिनाभित्रै थप चारवटा जहाज ल्याउने भएको छ। 

Tata
GBIME
Nepal Life

आन्तरिक उडान क्षमता विस्तार  गर्न सौर्यले भारतमा बन्द भइसकेको वायुसेवा कम्पनी जेट एयरवेजसँग दुईवटा एटिआर खरिदका लागि सम्झौता गरिसकेको जानकारी दिएको छ। यस्तै, थप दुईवटा एटिआर युरोपबाट ल्याउने योजना रहेको कम्पनीले जनाएको छ। 

यी चारवटै एटिआर-७२ जहाज अबको ६ महिनाभित्र खरिद गरी संचालनमा नै ल्याउने योजना रहेको सौर्यका अध्यक्ष दीपक पोखरेलले दाबी गरे।उनले भनेकै समयमा चारैवटा जहाज आइपुगे भने २०७८ वैशाखअघि नै सौर्यसँग कुल सातवटा जहाज हुनेछन् । यो संख्यामा जहाज हुँदा सौर्यले कुनै पनि आन्तरिक वायुसेवा कम्पनीलाई कडा टक्कर दिन सक्नेछ। 

यसबाहेक पनि कुबेर समूहको प्रवेशको रणनीतिअनुरूप थप पाँचवटा जहाज ल्याउने योजना सौर्यको छ। डेढ वर्षअघि भारतको कुबेर समूह साझेदार बनेर भित्रिएपछि नै कम्पनीले आक्रामक बजार विस्तारको योजना बनाएको हो। सौर्यमा कुबेर समूहको प्रवेशको उद्देश्य नै १० वटा नयाँ जहाज किनेर आन्तरिक हवाई व्यवसायमा आफ्नो हिस्सा बढाउन आक्रामक रूपमा अघि बढ्ने रहेको कम्पनीले हालै जारी गरेको विज्ञप्तिमा समेत उल्लेख गरेको छ ।

सौर्यले दुईवटा सिआरजे-२०० जहाजबाट सेवा सुरु गरेको थियो । तर संचालनमा आएको ६ वर्षसम्म पनि यसले नयाँ जहाज थप्न सकेको थिएन। हालै सोही मोडेलको अर्को जहाज पनि ल्याएको सौर्यले यससँगै असोज १५ बाट सेवा पुनः सुरु गर्ने जनाएको छ।

कोभिड-१९ कै बीचमा सेवा सुरु गर्न लागिएकाले यात्रुको सेवा तथा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सतर्कता र तोकिएका मापदण्डहरु पूर्ण रूपमा पालना गरेर उडान संचालन गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

लकडाउनयता बन्द रहेको आन्तरिक उडान असोजको दोस्रो साताबाट पाँचवटा गन्तव्यबाट संचालन गर्न लागेको कम्पनीले अध्यक्ष पोखरेललाई उद्धृत गर्दै विज्ञप्तिमा लेखेको छ। कम्पनीले असोज १५ देखि विराटनगर, नेपालगञ्ज, भद्रपुर, भैरहवा, धनगढी लगायत पाँच गन्तब्यमा उडान पुनः सुरु गर्न लागेको हो। यद्यपि, सौर्यसँग भएका तीनवटै जहाज भने तत्कालै सेवा दिनका लागि तयार हुने छैनन्।

पोखरेलले भन्छन्, 'सुरुमा ल्याइएका दुवै जहाज अहिले मर्मत सम्भारको प्रक्रियामा छन्। एउटा जहाज मर्मतको अन्तिम चरणमा छ, अर्कोलाई भने बढीमा तीन महिना लाग्ने देखिएको छ । हालै थपिएको जहाज तत्काल उडान थाल्ने अवस्थामा छ ।' यसअनुसार, सौर्यले शुरुमा दुईवटा जहाजबाट असोज १५ देखि उडान थाल्नेछ।

कुबेरसँगको सहकार्यपछि अहिले सौर्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने, कर्मचारीहरुको पारिश्रामिक लगायत सम्पूर्ण बक्यौता खर्च दायित्वहरु राफसाफ गर्दै जहाज थप्ने लगायत क्षमता विस्तारको काम सुरु गरेको पोखरेलले बताए। 

उनको भनाइमा विश्वस्त हुने हो भने अब सौर्य पुराना समस्या सुल्झाएर कम्पनीको रिभाइभल र आक्रामक बजार विस्तारको क्रमिक चरणमा प्रवेश गरेको छ ।

यसरी डगमगाएको थियो सौर्य 
अग्नी एयर ढलेसँगै आन्तरिक उड्डयनमा सिर्जना भएको 'भ्याकुम' मा आफ्नो बजार बनाउने सोचले सुरु भएका एयरलाइन्सहरुमा सौर्य पनि थियो। तर संचालनमा आएको एक-दुई वर्षमै सुरु भएको संचालकहरु बीचको खटपटले सौर्यले न जहाज थप्न सकेको थियो, न त बजार पकड बढाउन नै।

अपेक्षित बिजनेस गर्न नसक्दा सौर्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) लाई तिर्नुपर्ने बक्यौता मात्र होइन, कर्मचारी-कामदारको तलब तथा पारिश्रमिक, जहाज मर्मत सम्भार लगायतका सम्पूर्ण खर्चहरुको दायित्व खप्टिँदै गएको थियो।

नेपालमै पहिलोपटक जेट इन्जिन जहाजमार्फत आन्तरिक उडान सुरु गरेको दाबीका बाबजुद सौर्यको आर्थिक स्वास्थ्य बिग्रँदै गयो। खर्च र दायित्वको भार बढ्दै गएपछि कम्पनीका लगानीकर्ताहरुले नाफा कस्तो हुन्छ भन्ने देख्न पाएनन्। जसले गर्दा संचालकहरु बीच बढेको किचलोले कम्पनी छोटो समयमै कमजोर देखियो।

त्यसै पनि जेट इन्जिन जहाजको संचालन खर्च थेग्नै मुस्किल भइरहेको बेला सौर्यले आन्तरिकतर्फ पनि लामो दुरी उडान क्षमताको जहाज छोटो दुरीमा उडाउनुपर्दा थप नोक्सानी थियो। 

अर्कोतर्फ, संचालनमा आएको दुई वर्ष नपुग्दै दुईवटा जहाजमध्ये एउटामा समस्या आउन थाल्यो। त्यसपछि एउटै जहाजले पाँचवटा गन्तव्यमा उडान गर्नुपर्दा अन्य वायुसेवा कम्पनीसँगको प्रतिस्पर्धी क्षमता पनि साँघुरियो। उता टिआईएको बक्यौता ६० दिनभन्दा लामो समय रहेकाले उडानमा पनि रोक लागेको थियो।

यो अवस्थामा कम्पनी लामो समय टिक्न मुस्किल हुने देखेपछि संचालकहरुले नयाँ लगानीकर्ता खोज्न शुरु गरे। त्यसैबीच दुई वर्षअघि (२०७५ साउनमा) अचानक सौर्य एयरलाइन्स बिक्री भएको घोषणा भयो। चीनमा व्यवसाय गरिरहेका गैरआवासीय नेपाली घनश्याम अधिकारी लगायतको समूहले कम्पनीको सम्पूर्ण दायित्व सकार्ने गरी ६७ करोड रुपैयाँमा सौर्य एयर किनेको अध्यक्ष दीपक पोखरेलले बताएका थिए।

सोपछि अधिकारीको समूहले नै सौर्यको सम्पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी लियो र उडानयोग्य अवस्थामा रहेको एउटा जहाजबाट नियमित उडान पनि सुरु भयो। 

तर अधिकारी समूहले एयरलाइन्स जिम्मा लिएको तीन महिना पनि नपुग्दै फेरि लफडा सुरु भयो । उनीहरुले टिआइएलाई तिर्नुपर्ने रकम चार करोड पुग्यो। समयमा बक्यौता तिर्न नसकेपछि सौर्यको उडानमा फेरि रोक लाग्यो। 

जानकारहरुका अनुसार, अधिकारी समूहले पोखरेल समूहबाट एयरलाइन्स ६७ करोडमा किन्ने सहमति गरेर संचालन गर्न थालेको भए पनि त्यसबमोजिम रकम दिने र दायित्वहरु सकार्ने काम गरेनन् । बरु सात महिनामा उल्टै ३० करोड रुपैयाँ डुबाइदिए।

सोपछि पोखरेल समूहले पुनः अधिकारीलगायतलाई हटाएर नयाँ लगानीकर्ता भित्र्याउने कसरत थाले। र, फेला पारे भारतीय व्यवसायी विकास मालु। भारतका साथै दुबईमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका मालुको भारतीय कम्पनी कुबेर समूह सौर्य एयरलाइन्सको नयाँ साझेदार बनेर भित्रिन लागेको घोषणा भयो २०७५ फागुन ८ मा।

कुबेरले सौर्यको ७५ प्रतिशत सेयर पाउने गरी ६२ करोड रुपैयाँ हाल्यो । अध्यक्षमा दीपक पोखरेल नै रहे। त्यसपछि डेढ वर्षयता सौर्यले सम्पूर्ण बक्यौता चुक्ता गर्नुका साथै कम्पनीको पुनरुत्थानमा व्यापक योजनाका साथ काम गरिरहेको जिकिर गरेको छ।