विभिन्न कम्पनीका सात हजार सिलिण्डर राख्ने फर्ममा शिलबन्दी, कम्पनी संचालकलाई विभागमा बोलाइयो

बिजमाण्डू
२०७७ असोज २ गते १६:४२ | Sep 18, 2020
विभिन्न कम्पनीका सात हजार सिलिण्डर राख्ने फर्ममा शिलबन्दी, कम्पनी संचालकलाई विभागमा बोलाइयो

Tata
GBIME
Nepal Life

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संतुगलमा रहेको श्रेष्ठ ग्यास पसलबाट विभिन्न उद्योगका सात हजार भन्दा बढी खाली सिलिण्डर फेला पारेको छ।

विभागमा आएको उजुरीको आधारमा छापा मार्दा सो परिमाणको सिलिण्डर फेला परेको हो। यो पसलका संचालक अष्टनारायण श्रेष्ठ हुन्। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभिन्न कम्पनीका सिलिण्डर फेला परेको बताउँदै त्यो ग्यास डिस्टिब्यूटर्सको गोदाम सील गरिएको जानकारी दिए।

‘हामीलाई आएको उजुरीका आधारमा त्यहाँ विभिन्न कम्पनीका सात हजार खाली सिलिण्डर फेला पार्‍यौं। एउटा डिलर वा डिस्टीब्यूटर्सले दुई वटासम्म उद्योगका सिलिण्डर बेच्न पाउने प्रावधान छ,’ उनले बिजमाण्डूसँग भने, ‘त्यो कानुनी प्रावधान हेरेर कारवाही अगाडि बढ्छ। त्यो कम्पनीका संचालकलाई कागजात लिएर विभागमा आइतबार आउन निर्देशन दिएका छौं।’ उनका अनुसार आयल निगमको ग्यास बिक्री सम्वन्धी विनियमावली हेरेर कारवाही हुनेछ।

कसरी पर्‍यो उजुरी?

लकडाउन र निषेधाज्ञका कारण ग्यासको खपत कम भयो। होटल र रेष्टुरेन्टमा प्रयोग हुने झण्डै ३० प्रतिशत बजार घटेपछि ग्यास उद्योगीबीच प्रतिस्पर्धा सुरु भयो। राम्रा कम्पनीले समेत बजार लिन अर्को कम्पनीको सिलिण्डर उठाउन थाले।

उद्योगीबीच सिलिण्डर खोसाखोस सुरु भयो। बजारबाट उठाएको सिलिण्डर व्यवस्थापनका लागि केही समूहलाई उद्योगीलेनै समाते। सिलिण्डर खोसाखोस भएपछि भाउ समेत १३ सय रुपैयाँमा झर्‍यो। उद्योगीलाई २ हजार रुपैयाँ पर्ने खाली सिलिण्डरको भाउ १३ सय रुपैयाँमा झरेपछि उद्योगीले बल्ल अस्वस्थ प्रतिस्पर्धा रोक्ने निष्कर्षमा पुगे।

केही दिन अघि नेपाल एलपी ग्यास उद्योग संघका प्रतिनिधिमण्डलले विभागका महानिर्देशक सुवेदीलाई भेटेर एउटा डिलरले एउटा उद्योगको मात्रै ग्यास बेच्न पाउने निर्णय कार्यान्वयन गराउन माग गरेका थिए। 

त्यो मागपछि उद्योगीले सिलिण्डर राख्ने व्यवसायीको विरुद्धमा भटाभट उजुरी दिन थाले। त्यही उजुरीका आधारमा छापा मारिएको हो। गत साता संघको बैठक बसेर खाली सिलिण्डरको भाउ २१ सय रुपैयाँ तोकिसकेका छन्।