एफएनसीसीआईको पदाधिकारी बैठक आज, साधारणसभाको मोडालिटी तय गर्दै मिति पनि तोक्ने

बिजमाण्डू
२०७७ असोज २ गते ११:१२ | Sep 18, 2020
एफएनसीसीआईको पदाधिकारी बैठक आज, साधारणसभाको मोडालिटी तय गर्दै मिति पनि तोक्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति तय गर्न शुक्रबार ४ बजे पदाधिकारी बैठक बस्दैछ। महासंघको सचिवालय टेकुमा हुन लागेको बैठकले साधारणसभाको मिति र मोडालिटीलाई टुंगो लगाउनेछ।

महासंघका एक पदाधिकारीका अनुसार पदाधिकारी बैठकले मोडालिटी टुंगो लगाएर साधारणसभाको सम्भावित मिति तोक्नेछ। साधारणसभा र चुनावको मोडालिटी स्वीकृतिका लागि सरकारसँग अनुरोध गर्नेछ। सरकारको स्वीकृतिसँगै कार्यसमिति बैठकबाट साधारणसभाको मिति तय हुनेछ।

ती पदाधिकारीका अनुसार दसैंतिहार र छठपछि मात्रै साधारणसभा हुनेछ। ६ महिनादेखि उद्योग व्यवसाय बन्द भएको र दसैंको व्यापारमा लाग्नुपर्ने भएकाले चाडपर्वपछि साधारणसभा गर्ने निर्णय हुने ती पदाधिकारीले बताए।

महासंघको ५४ औं वार्षिक साधारणसभाका लागि तीन वटा विकल्प दिइएको छ। साधारणसभा र निर्वाचनको मोडालिटी तय गर्न गठित समितिले तीन विकल्पमा छलफल भएर टुंगो लाग्नेछ। प्रतिवेदनमा वार्षिक साधारण सभाको उद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल जुममार्फत गर्न सुझाव दिइएको छ। पहिलो विकल्पमा जिल्ला-नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएटको प्रत्यक्ष काठमाडौंमा निर्वाचन गर्ने सुझाव दिइएको छ।

दोस्रो जिल्ला-नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा गर्ने विकल्प दिइएको छ भने तेस्रो कम्प्युटराइज्ड भोटिङमार्फत गर्न सुझाव दिइएको छ। समितिले कोरोना संक्रमणको अवस्था हेरेर निर्वाचनको तीन वटा मोडालिटी दिएको हो।

समितिले स्वास्थ्य सम्बन्धी विज्ञ र उच्चस्तरीय संकट व्यवस्थापन केन्द्रसँगको सल्लाहमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको थियो।