राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमले लिए शपथ, ‘ प्रतिष्ठा गिराउने कुनै पनि क्रियाकलाप गर्ने छैन’

बिजमाण्डू
२०७७ असोज १ गते १५:२९ | Sep 17, 2020

Tata
GBIME
Nepal Life

 

काठमाडौं। राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रिय सभाको प्रतिष्ठा गिराउने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पद तथा गोपनियताको सपथ ग्रहणपछि गौतमले आफू यसको गरिमा बढाउनका लागि राष्ट्रिय सभामा आएको बताए।

‘म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधान बमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु। मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र यसको प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन,’ उनले भने।

गौतमले राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने बताए।

उनले नेकपाले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको उल्लेख गर्दै त्यसका लागि आफूले गर्न सक्ने भूमिका निर्वाह गर्ने पनि बताए।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ ग्रहण गरेपछि मन्तव्य राख्दै गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्ने नेपाल कम्युनिस्ट पार्टी, प्रधानमन्त्री र राष्ट्रपतिलाई आभार व्यक्त गरे।

उनले राष्ट्रिय सभाको अध्यक्षलाई कुनै बेला आफूले पार्टी सदस्यता प्रदान गरेको व्यक्ति राष्ट्रिय सभाको अध्यक्ष भएकोमा आफ्नो छाती ठूलो भएको बताए।

 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यको शपथ आजै लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेको जानकारी प्राप्त भएको संसद सचिवालयले जनाएको छ ।

गौतमलाई साँझ ४ बजे शपथ ग्रहण गराउने तयारी भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ ग्रहण गराउने छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति सिफारिस गरेको थियो।

गत फागुनदेखि रिक्त पदमा गौतम मनोनित भएका हुन्। राष्ट्रपतिले मनोनित गर्ने एक सदस्य पद तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त थियो।