सिरहामा कालोबजारी गर्ने तीन व्यापारी पक्राउ गरी पसल सिल, ७,५०० किलो प्याज बरामद

रासस
२०७७ असोज १ गते १५:१७ | Sep 17, 2020

Tata
GBIME
Nepal Life

लहान। भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ।

अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सिल गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ।

सिरहाको गोलबजार, मिर्चैया र लहान बजारका पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, उद्योग व्यापार संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको अनुगमन टोलीले बिक्री वितरणका लागि राखिएको साढे सात हजार किलो प्याजसहित पसल सञ्चालकहरुलाई पक्राउ गरेको हो।

टोलीले प्याजमा कालोबजारी गरेको आरोपमा गोलबजार नगरपालिका–४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका-५ का उमेशप्रसाद साह, मिर्चैया नगरपालिका-५ को जय माता दी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान-३ को  गंगा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।