भारतमा प्याजको मूल्यबृद्धि बन्यो राजनीतिक मुद्दा, निर्यात प्रतिबन्धले भाउ नघट्ने दावी

बिजमाण्डू
२०७७ असोज १ गते १४:४७ | Sep 17, 2020

Tata
GBIME
Nepal Life

प्याजको इतिहास स्पष्ट त छैन तर के मानिन्छ भने यसलाई सबैभन्दा पहिले मध्य एशियामा नै उब्जाइएको थियो।

इतिहासकारहरुको भनाई अनुसार खेतीको सुरुवातभन्दा पहिले हाम्रा पूर्वजहरु जंगली प्याज खान्थे। प्याजको खेती पाँचहजार वर्षअघि सुरु भएको अनुमान गरिन्छ र यो हजारौं वर्षदेखि विश्वभरको भोजनको एक अंग पनि हो।

प्याजको उल्लेख बाइबल र कुरानका साथै चरक संहितामा पनि पाइन्छ। चरक संहितामा प्याजलाई औषधिका रुपमा ब्याख्या गरिएको छ। प्राचिन मिश्रमा मानिसले शाश्वतताको प्रतिक मानेर प्याजको पूजा  समेत गर्दथे।

भोक मात्र नभई प्यास पनि मेटाउने प्याजलाई तरकारीमा बिभिन्न रुपमा प्रयोग गरिँदै आएको छ।

सलाददेखि सब्जी र अनेक पकवानमा आवश्यक पर्ने प्याजको मूल्य जब बढ्न थाल्छ राजनीतिक सरगर्मी पनि बड्न थाल्छ।

भारतमा प्याजको भाउ बढ्दैछ र यसको असर चौतर्फी देखिँदैछ।

मंगलबार दिल्लीमा प्याजको खुद्रा मूल्य ५० रुपैयाँ किलो थियो। दिल्लीको आजादपुर सब्जी मन्डीका एक ब्यापारीले भने- 'सेप्टेम्बर अक्टोबरमा हरेक वर्ष प्याजको भाउ  बढ्छ किनभने कैयन स्थानमा पानीका कारण प्याजको बाली खराब भएको हुन्छ जसबाट आपूर्ति प्रभावित हुने गर्छ।'

गत वर्ष सेप्टेम्बरमा दिल्लीमा प्याज ६५ देखि ८० भारु प्रतिकिलोसम्म बिकेको थियो।   त्यसबेला पनि मूल्य बृद्धिमा समान कारण भनिएको थियो। तर त्यसभन्दा अघि लगातार ५ वर्षसम्म प्याजको भाउ नियन्त्रणमा नै थियो।

सन् २०१५ देखि २०१८ सम्म प्याजको मूल्य १० रुपैयाँ प्रतिकिलोदेखि २० रुपैयाँ प्रतिकिलो बीच नै रह्यो।

त्यसअघि सन् २०१३ मा दिल्लीमा प्याजको भाउ बढेर ८० रुपैयाँ प्रतिकिलोसम्म पुग्यो। त्यसवर्षपनि प्याजको भाउमा भएको बृद्धिको कारकका रुपमा पानीले बाली बिग्रेको कारण नै देखाइयो।

भारतको सबैभन्दा ठूलो प्याजको मन्डी रहेको नासिकमा सबैभन्दा धेरै प्याजको उत्पादन पनि हुने गर्छ। त्यहाँ पनि बिगत एक हप्तादेखि लगातार प्याजको भाउ बढिरहेको छ।

नासिक स्थित थोक ब्यापारी आदित्य कावराले भने –'दक्षिण भारत खासगरी कर्नाटकबाट आउने प्याजको आपूर्ति प्रभावित भएको छ। कर्नाटकमा प्याज बाली खराब भएकोले यस्तो भएको हो।'

भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्नकालागि प्याजको निर्यातमा रोक लगाएको छ। यसबाट प्याजको भाउ घट्नेमा सरकार आशावादी छ।

तर ब्यापारी आदित्यको भनाई मान्ने हो भने यो प्रतिबन्धले मूल्य नियन्त्रण गर्न काम दिने छैन। उनी भन्छन् -'पानीका कारण सेप्टेम्बर आउने बित्तिकै प्याजको भाउ बढिसक्छ। आगामी केही हप्ता प्याजको दाम अझ बढ्न थाल्छ किनभने थोकमा समेत प्याजको स्टक सकिन्छर स्टकमा २५ ३० प्रतिशतमात्र सामान हुन्छ तर प्याज खाने बन्द गर्ने उपभोक्ता हुँदैनन्। माग बढि नै रहने भएकाले आपूर्ति कम हुँदा मूल्य बढ्नु स्वाभाविक नै हो।'

आदित्यको कम्पनीले भारतका कैयन शहरहरुमा प्याज आपूर्ति गर्दै आएको छ। दिल्ली कोलकाता समेत अन्य कैयन् ठूला शहरमा उनले प्याज पठाउने गरेका छन्। डिजेलको मूल्य बढेकाले पनि उनको प्याजको मूल्य बढेको छ। उनी भन्छन्-'ढुवानी खर्च किलोको डेढ रुपैयाँबाट बढेर पौने २ रुपैयाँ भैसक्यो।'

भारतमा बढ्दो प्याजको भाउले राजनीतिक मुद्दाकै काम गर्छ। बिहारमा चुनाव आइरहेकाले सरकार त्यहाँ प्याजको महंगाई मुद्दा नबनोस् भन्ने चाहिरहेको छ। किनभने प्याजको मूल्यले राजनीतिलाई प्रभावित गर्ने गरेको इतिहासबाट पनि भारत डराउने गर्छ।

त्यसैकारण उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सर्वसाधारणलाई उचित मूल्यमा तरकारी उपलब्ध गराउन निर्देशन नै दिइसकेका छन्। उनले प्याज आलु र टमाटरमा कालोबजारी गर्नेलाई कडा कारवाही गर्न पनि भनेका छन्।

सन् १९८० मा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई दोस्रोपटक सत्तासिन गराउन प्याजले नै महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसबेला इन्दिरा गान्धीले प्याजको बढ्दो मूल्यलाई तत्कालीन सरकारको असफलताको प्रमाणका रुपमा सर्वसाधारण समक्ष प्रस्तुत गरिन्। त्यसै वर्ष जनता दलसँगको गठबन्धन टुटेपछि भएको चुनावमा इन्दिरा गान्धीले बिजय हासिल गरेकी थिइन्।

यस्तै सन् १९९८ मा दिल्लीमा भएको बिधानसभा चुनावमा पनि प्याजको बढ्दो मूल्य ठूलै मुद्दा बनेको थियो। त्यसबेला काँग्रेसकी शिला दिक्षितले बिजेपीकी सुष्मा स्वराजलाई हराएकी थिइन्।

सन् २०१३ मा जब प्याजको मूल्य आकाशियो त्यसबेला बिजेपीले प्रदर्शन नै गर्यो। त्यसअघि पनि सन् २०१० मा प्याजको भाउ बढ्दा बिजेपीले बिरोध गर्दै दिल्लीमा निकै ठूलो प्रदर्शन गरेको थियो।

भारतमा प्याजको कुल उत्पादन करिब २ करोड ५० लाख मेट्रिक टनदेखि २ करोड २५ लाख मेट्रिक टनको बीचमा रहेको छ। भारतमा हरेक बर्ष कम्तीमा डेढ करोड मेट्रिक टन प्याजको बिक्री हुन्छ। यसबाहेक करिब १० देखि २० हजार मेट्रिक टन प्याज स्टोरेजकै क्रममा बिग्रेर जान्छ। औसतमा ३५ हजार मेट्रिक टन प्याज निर्यात हुने गर्छ।

एनएचआरडीको एक तथ्यांक अनुसार सन् २०१८ मा प्याजको अनुमानित उत्पादन २ करोड २२ लाख मेट्रिक टन थियो। तर त्यस वर्ष २ करोड ५० लाख मेट्रिक टन उत्पादन भयो। यसैगरी सन् २०१९ मा भारतमा २ करोड २८ लाख मेट्रिक टन प्याज उत्पादन भयो।

यस वर्ष प्याजको उत्पादनमा ७ प्रतिशतको बृद्धिको अनुमान गरिएको थियो। सरकारले यसवर्ष प्याजको उत्पादन २ करोड ४४ लाख मेट्रिक टन हुने अनुमान लगाएको थियो।

कृषि मन्त्रालयले जनवरीमा सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२० मा १२.९३ लाख हेक्टर जमीनमा प्याजको खेती हुनेछ जुन बिगतको १२.२० लाख हेक्टरभन्दा पनि बढी हो।

हाल भारतमा प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ। सरकारका अनुसार प्याजको भाउ नियन्त्रणमा यसले काम गर्छ।

तर कृषि विशेषज्ञ देवेन्द्र शर्मा यसलाई गलत मान्छन्। उनका अनुसार यसबाट किसानलाई अझ बढी नोक्सान हुन्छ। प्याजको मूल्य बृद्धिमा खराब बाली भएका कारण नभई ब्यापारीहरुको कालोबजारीलाई उनी मुख्य दोष दिन्छन्।

उनी भन्छन् -'यस वर्ष मार्च अप्रिलमा किसानहरुले प्याज फाल्नुपरेको थियो। जब मार्केट क्रयास भयो त्यसबेला किसानको प्याज किलोको ८ ९ रुपैयाँमा पनि बिकेन। अब बजार ठिक भएपछि सरकारले निर्यातमा प्रतिबन्ध लगायो। प्याजको भाउ उत्पादन नभएर होइन ब्यापारीको कालोबजारीका कारण भएको हो।'

'हालै भारतमा आवश्यक बस्तु अधिनियमनमा संशोधन पारित भएको छ जसमा स्टकको सीमा हटाइएको छ। अब सरकारले कोसँग कति स्टक छ भन्ने पनि थाहा पाउने छैन। सरकारले कालोबजारीलाई बैध गरिदिएको छ र यसको नतिजा प्याजमा देखिन्छ'- उनले भने।

प्याज ब्यापारीका अनुसार कर्नाटकमा प्याज बाली खराब भएका कारण प्याजको भाउ बढ्यो । तर कर्नाटकमा प्याजको भाउ कति छ भन्ने कसले सोधेको छ? उनी दावी गर्छन्- 'यो सब ब्यापारीको चाल हो जसबाट उनीहरु किसानहरुको परिस्थितीको फाइदा उठाइरहेका छन्। किसानहरु पहिले पनि मारमा थिए अब पनि मारमा हुनेछन्।'

भारतमा औसत हरेक घरमा मासिक साढे ४ देखि ५ किलो प्याज खपत हुन्छ। यदि प्याजमा किलोको १० वा २० रुपैयाँ बढ्यो भने पनि मासिक खर्चमा त्यसै अनुसार बृद्धि हुन्छ।

भारतमा निर्यातमा रोक लगाइएका कारण बंगलादेशमा एकै दिनमा प्याजको दाम दोब्बर भयो। त्यहाँ भारत बिरुद्ध प्रदर्शनहरु पनि भए। नेपालमा पनि भारतमा निर्यात प्रतिबन्धको असर देखिइरहेको छ। एक सातामै यसको भाउमा किलोको ५० रुपैयाँभन्दा बढी बृद्धि भएको पाइएपछि वाणिज्य विभागले अनुगमन तथा कारवाही पनि तीब्र पारेको छ।

भारतमा प्याजको निर्यातमाथिको प्रतिबन्ध ब्यापारीहरुको पक्षमा भएपनि किसानहरुको हितमा पटक्कै नभएको कृषिविज्ञहरुको भनाई छ। यसबाट प्याजले सर्वसाधारण आँखामा भने आँसु ल्याउने निश्चित छ।