सहमतिमा चयन भएको इप्पान नेतृत्व विरुद्धको मुद्धामा ६ गते छलफल हुने, दुबै पक्षलाई बोलाइयो

बिजमाण्डू
२०७७ असोज १ गते १४:२० | Sep 17, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को नयाँ कार्यसमिति विरुद्धको मुद्धामा असोज ६ गते छलफल हुने भएको छ।

उच्च अदालत पाटनले सहमतिमा चयन भएको नेतृव र निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्छ भन्दै अदालत जाने दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

कोरोना महामारीका कारण इप्पानको निर्पाचन तालिका धेरै पटक परिवर्तन गरिएको थियो। अन्तिम पटक असार १५ गते तोकिएको निर्वाचनको अघिल्लो दिन लकडाउनमा २५ जना भन्दा बढी भेला हुन लागेको भन्दै निर्वाचन रोक्न ललितपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेपछि जिल्ला प्रशासनले निर्वाचन नगर्न आदेश दिएको थियो।

त्यसपछि ऊर्जा क्षेत्रका अग्रजहरुले सहमतिबाटै नेतृत्व चयन गर्ने भन्दै गत साउन ३२ गते कृष्ण आचार्यको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन गरेका थिए।

नेतृत्वको लागि आचार्यसँगै सुर्यप्रसाद अधिकारीको पनि दावेदारी रहँदै आएको थियो। दुवै पक्षले प्यानल सहित उमेद्वारी दर्ता गराइसकेका थिए। असार १५ गते तय गरिएको निर्वाचन असार १४ गते जिल्ला प्रशासन कार्यालय ललितपुरले रोकिदिएको थियो।

साउन ३२ गते चयन गरिएको सर्वसम्मत नेतृत्वप्रति असहमति जनाउँदै इप्पान सदस्य मिथुन चक्रवर्ती पौडेलले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।

अदालतले भदौ ३१ गते निवेदकले माग गरेको उत्प्रेषण परमादेशको आदेश जारी हुनु नपर्ने कारण भए लेखि पठाउन सहमतिमा चयन भएको नेतृत्वको नाममा आदेश दिएको छ।