कोरोनाबाट विश्वका शक्तिशाली मुलुकको अर्थतन्त्र चौपट, तर संक्रमण सुरु भएको चीनको भने बलियो

बिजमाण्डू
२०७७ भदौ १८ गते ०८:०४ | Sep 3, 2020
कोरोनाबाट विश्वका शक्तिशाली मुलुकको अर्थतन्त्र चौपट, तर संक्रमण सुरु भएको चीनको भने बलियो

Tata
GBIME
Nepal Life

चीनबाटै सुरु भएको कोरोना भाइरसका कारण विश्वका शक्तिशाली मुलुकको अर्थव्यवस्था तहसनहस भएको छ। अमेरिका र युरोप जस्ता मुलुकको समेत अर्थतन्त्र चौपट छ।

तर जहाँबाट कोरोना भाइरस सुरु भएको हो, त्यहाँको अर्थतन्त्रमा भने त्यति ठूलो असर देखिएको छैन्। महामारीको बाबजुद चीनको अर्थतन्त्र सकारात्मक दिशामै अगाडि बढेको छ। अप्रिलदेखि जुन महिनासम्म चीनको आर्थिक वृद्धिदर ३.२ प्रतिशत छ। जुलाईको मध्यतिर जारी भएको यो तथ्यांकले समेत अर्थतन्त्र खराब नरहेको देखाउँछ।

चीनको औद्योगिक वृद्धि ४.४ प्रतिशत छ। अनलाइनको बिक्री दर १४.३ प्रतिशत बढेको छ। निकासी शून्य दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। यो सकारात्मक तथ्यांकले चीनले यो सफलता कसरी हात पार्‍यो ? अरु सबै देश कोरोनाका अगाडि असफल भइरहेका बेला चीनको अर्थतन्त्र कसरी राम्रो भयो ? सबैभन्दा पहिला कोरोना देखिएको चीनमा सुधारको काम पनि तत्कालै सुरु गरेको थियो।

मार्चदेखि नै अर्थतन्त्र सुधार्न 'एग्रेसिभ'

चीनले मार्चको अन्तिमतिरबाट अर्थतन्त्रको सुधारको काम थालेको थियो। कोरोना नियन्त्रणमा आएपछि लकडाउन हटाइएको थियो। उद्योग र पसल खुला गरियो।

विश्व नै कोरोना भाइरससँग जुधिरहेका बेला चीन सरकारले अप्रिल ८ देखि वुहानमा आंशिक लकडाउन समेत हटाएको थियो। वुहानलाई छाडेर हुवे प्रान्तमा मार्च २४ देखिनै यात्रा प्रतिबन्ध हटाइएको थियो। जति बेला चीनले लकडाउन हटाइरहेको थियो, त्यति बेला विश्वका १ सय ८६ देशमा कोरोना फैलिसकेको थियो। वुहानमा भएको लकडाउनका कारण जनवरीदेखि मार्चसम्म चीनको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले गिरावट आएको थियो।

यो सन् १९६० पछिको सबैभन्दा खराब अवस्था थियो। चीनमा लकडाउन भएपनि नाटकीय रूपमा सुधार आएको छ। चीनको तथ्यांक विभागका अनुसार देशको अर्थव्यवस्था फेरि राम्रो भएको छ। अप्रिलदेखि जुनसम्मको अवस्था हेरेर चीनका अर्थशास्त्रीहरुले अर्थतन्त्रमा सुधार निरन्तर हुने बताएका छन्। जेपी मोर्गन एसेट म्यानेजमेन्टका मार्सेला चाउले अर्थतन्त्रमा निरन्तर सुधार हुने अनुमान गरे।

एचएसबीसी बैंकले समेत चीनको अर्थव्यवस्थामा अर्को त्रैमासमा पनि आर्थिक वृद्धिदर ५.४ प्रतिशतले बढ्ने दाबी गरेको छ। त्यसपछिको त्रैमासमा ६.२ प्रतिशत रहने बैंकले जनाएको छ। यो आधारमा पनि केही समयभित्रै  चीनको आर्थिक वृद्धिदर कोरोना अगाडिको अवस्थामा आउनेछ।

कसरी पाइरहेको छ सफलता ? अर्थविद्हरुका अनुसार चीनले अर्थतन्त्र तीव्र गतिमा सुधार गर्न सक्छ। एकातर्फ चीन सरकारले अर्थतन्त्र सुधारका लागि धेरै ठूला योजनाहरु अगाडि बढाएको छ भने अर्कोतर्फ प्रतिबन्ध हटाएपछि कोरोना संक्रमण पनि ज्यादै न्यून छ। कुनै संक्रमण देखिनेबित्तिकै चीनले तत्कालै नियन्त्रणमा समेत लिइरहेको छ।

चीनको परीक्षण क्षमता पनि ठूलो छ। वुहानमा केही दिनमै सबै जनाको परीक्षण समेत गराएको थियो। चीनमा आर्थिक गतिविधि निर्वाध चलेका छन्। रेष्टुरेन्टदेखि जीमसम्म भीडभाड छ। सबै विमानस्थलमा यात्रु भरिभराउ छन्। अर्थतन्त्र सुधारका लागि राज्यले अर्बौ रुपैयाँ खर्च गरिरहेको छ।

आत्मनिर्भर बन्ने रणनीति

चीनले नयाँ आर्थिक रणनीति समेत अपनाउन थालेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले 'ड्युल सर्कुलेसन' आर्थिक मोडल सुरुवात गरेका छन्।

चीनले निकासीका लागि स्वदेशी उत्पादनलाई निरन्तरता दिने र अर्थतन्त्रको अवस्थालाई परिवर्तन ल्याउन स्वदेशमै खपत बढाउन जोड दिइने रणनीति ल्याएको छ। विदेशसँगै स्वदेशी बजारमा पनि खपत बढाएर अर्थतन्त्रलाई बलियो बनाउने रणनीति चीनले लिएको छ। यद्यपि अहिले पनि चीन कम लागतमा सामान उत्पादन गर्ने भएकाले विश्वकै राम्रा कम्पनीको केन्द्रमा छ।

चीनबाट उत्पादन भएका सामान अमेरिका र युरोपमा निकासी हुन्छ। विश्व बजारमा एकछत्र चीन विराजमान छ। तर पछिल्लो समयमा चीन र अमेरिका बीचको व्यापार युद्धले समेत केही फरक भने आएको छ। अमेरिका लगायतका केही युरोपेली मुलुकले संरक्षणवादलाई कार्यान्वयनमा ल्याउन खोजेकाले समेत चीनले स्वदेशमै खपत बढाउने योजनालाई अघि सारेको हो।

कोरोनाका कारण विश्व नै संकटमा परेको बेला चीनले लिएको आर्थिक रणनीतिले आत्मनिर्भर अर्थतन्त्रलाई समेत बढावा दिएको छ। रोयटर्सका अनुसार दक्षिण पश्चिम चीनमा बाढीका कारण औद्योगिक उत्पादनमा असर गरेको छ। त्यसले अगस्टमा चिनियाँ औद्योगिक गतिविधिमा केही कमी आउनेछ। तर चीनको सेवा क्षेत्रले अर्थतन्त्रलाई रिकभर गर्ने अनुमान समेत गरिएको छ।

चीनको म्यानुफ्याक्चरिङ पर्चेजिङ इन्डेक्सले सोमबार नै अगस्टमा ५१ विन्दुमा रहने अनुमान गरेको छ। जुलाईमा यो तथ्यांक ५१.१ प्रतिशत थियो। तर चीनको तथ्यांकलाई कतिपय अर्थविद्हरुले भने सत्यता नरहेको बताउदै आएका छन्। तर विश्व बैंकका कतिपय अर्थशास्त्रीहरुले भने चीनको मात्रै अर्थतन्त्र यो वर्ष बढ्ने अनुमान गरिरहेका छन्।

अमेरिकाको नजिक पुग्यो चीनको अर्थतन्त्र 

हालै अगस्ट २४ मा अमेरिकाको पत्रिका वाल स्ट्रीट जर्नलले विश्व नै कोरोना संक्रमण नियन्त्रणमा लागिरहेको बेला चीनको अर्थव्यवस्था भने सामान्यतर्फ अगाडि बढेको जनाएको छ।

पत्रिकाले पहिलो नम्बरमा रहेको अमेरिका र चीनबीचको ग्याप कम हुँदै गएको उल्लेख गरेको छ। अमेरिकाको अर्थव्यवस्था सन् २०२० मा घटेर ८ प्रतिशतमा आउने अनुमान छ। महामारीका कारण अमेरिका, जर्मनी, इटाली, फ्रान्स, बेलायत र स्पेनको आर्थिक वृद्धिदर ऋणात्मक छ।