ओली-प्रचण्डबीच चार घण्टा छलफल : विवाद समाधान उन्मुख, शुक्रबार फेरि भेट्ने

बिजमाण्डू
२०७७ साउन २९ गते १६:४३ | Aug 13, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा एक सातापछि भएको छलफल केहीबेर अघि सकिएको हो।

'छलफल पार्टीभित्र देखिएका विवाद समाधान उन्मुख कोणबाट सुरु भएको छ। भोलि(शुक्रबार) फेरि छलफल हुने कुरा छ,' प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने।

दुई अध्यक्ष ११ बजेपछि वार्तामा बसेका थिए। झण्डै चार घण्टा छलफल भयो। उनीहरुबीच साउन २० गतेयता छलफल हुन सकेको थिएन। यसअघिका केही भेटमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका नेता सुवास नेम्वाङ पनि सहभागी थिए।

२१ गतेका लागि छलफलको मिति तोकिए पनि प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल ,प्रवक्ता नारायणकाजी श्रेष्ठको छुट्टै पत्रकार सम्मेलनपछि भेटको वातावरण बिग्रिएको ओली पक्षीय नेताहरु बताउँछन्।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि स्थायी कमिटी बैठक पनि रोकिएको छ। असार १० गतेदेखि सुरु भएको बैठक साउन १३ गतेपछि बस्न सकेको छैन।

१३ गते ओलीले स्थगित गरेको बैठक प्रचण्डले सञ्चालन गरेपछि विवाद बढेको थियो। स्थायी कमिटी बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। ओली राजीनामा नदिने अडानमा छन्।

पार्टी विभाजन हुन लागेको भन्दै दोस्रो र तेस्रो तहका नेताहरुले खबरदारी गरिरहेका छन्। केही दिन अघि ६१ जना सांसदले पार्टी विभाजनमा नलाग्न नेतृत्वलाई आग्रह गरेका थिए।