मार्जिन लेन्डिङ कार्यविधि संसोधन, अब ब्रोकरबाट पनि ७० प्रतिशतसम्म मार्जिन कर्जा पाइने

बिजमाण्डू
२०७७ साउन २९ गते १७:०४ | Aug 13, 2020
मार्जिन लेन्डिङ कार्यविधि संसोधन, अब ब्रोकरबाट पनि ७० प्रतिशतसम्म मार्जिन कर्जा पाइने


Tata
GBIME
Nepal Life

काठमाडौैं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०७४ मा संशोधन गरेको छ। बोर्डले मार्जिन कारोबार गर्दा ब्रोकरबाट लिन पाउने कर्जाको सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्‍याएको छ। यसबाट लगानीकर्ताले ३० प्रतिशत मात्र मार्जिन रकम राख्दा पुग्ने भएको बोर्ड स्रोतले जानकारी दिएको छ।

यसअघि ब्रोकरभन्दा बैंकबाट मार्जिन कारोबार गर्न लगानीकर्ताहरुलाई सहुलियत थियो। बैंकले मार्जिन कारोबारको ७० प्रतिशतसम्म कर्जा दिँदै आएका थिए भने ब्रोकरबाट ५० प्रतिशत मात्र थियो यो सुविधा। यही कारण बैंकबाट मात्र मार्जिन कारोबार गर्न लगानीकर्ताहरु आकर्षित भएको भन्दै धितोपत्र दलालहरुले मार्जिन रकम, मार्जिन कल लगायतका विभिन्न सर्तमा संशाेधन गर्न बोर्डसमक्ष माग गर्दै आएका थिए।

ब्रोकरले संशोधन गर्न माग गरेका दुई विषय मार्जिन रकम र मार्जिन कलमा मात्र बोर्डले संशोधन गरेको बताएको छ। 

यसअघि लगानीकर्ता र ब्रोकर दुवैले ५०–५० प्रतिशत मार्जिन राख्ने व्यवस्था थियो। यस्तै बैंकमार्फत मार्जिन कारोबार गर्दा ६५ प्रतिशत बैंकले र ३५ प्रतिशत लगानीकर्ताले राख्ने व्यवस्था थियो। बैंकमा लगानीकर्ताले कम रकम राखेर कर्जा लिन पाउने भएकाले ब्रोकरको मार्जिन लेण्डिङमा लगानीकर्ता आकर्षित भएका थिएनन्।  यसैले लगानीकर्तालाई ब्रोकरबाट पनि मार्जिन कारोबारका लागि आकर्षित गर्न उक्त व्यवस्थामा संशोधन गर्न ब्रोकरहरुको माग गरेका हुन्।

धितोपत्र बोर्डले दोस्रो बजारमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताहरुलाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायको दायरा विस्तार गर्ने उद्देश्यले २० कात्तिक २०७४ मा मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०७४ जारी गरेको थियो। सोहीबमोजिम नेपाल स्टक एक्सचेञ्जले १९ वैशाख २०७५ मा यससम्बन्धी कार्यविधि २०७५ तर्जुमा गरेको हो ।

यद्यपि, नेप्सेले २१ वटा ब्रोकर कम्पनीहरुलाई माजिर्न कारोबार गर्न अनुमति दिएको दुई वर्ष हुँदा समेत यो कार्यन्वयनमा आउन सकेको छैन।  लगानीकर्ता आकर्षित नभएपछि कार्यविधिमा भएका केही व्यवस्थालाई संसोधन गर्न नेप्सले उपसमिति समेत गठन गरेको थियो। नेप्सेको सुपरिवेक्षण शाखा प्रमुख सुरेश जोशीको संयोजकत्वमा गत १४ असोजमा उक्त समिति गठन भएको थियो। उपसमितिमा सेयर ब्रोकरका तर्फबाट दुई सदस्य छन्।

बोर्डले मार्जिन लोनको सीमासँगै मार्जिन कलको व्यवस्थामा पनि संशोधन गरेको छ। पहिले लगानीकर्ताहरुले ५० प्रतिशत मार्जिन राखेको धितोपत्रको  लगानी मूल्य १० प्रतिशत घटेर ४० प्रतिशतमा आए मार्जिन कल गर्ने व्यवस्था थियो। बोर्डले त्यसलाई संशोधन गरेर अहिले २० प्रतिशत बनाएको छ।

मार्जिन लोनको सीमा बढेसँगै मार्जिन कलको सीमा घटेको हो। अब, लगानीकर्ताहरुको ३० प्रतिशत रहेको मार्जिनमा सेयर बजारमा लगानी गरेको कम्पनीको मूल्य १० प्रतिशत घटेर मार्जिन रकम २० प्रतिशतमा आएपछि ब्रोकरहरुले मार्जिनकल गर्न सक्नेछन्।

नेप्सेले दोस्रो बजार सूचीकृत ३२ कम्पनीलाई मात्र मार्जिन कारोबार गर्ने सुविधा दिएको छ। ब्रोकरहरुले धेरै कम्पनी अटाउने मापदण्ड बनाउन पनि माग गरेका छन्। अकोतर्फ, मार्जिन कारोबारअन्तर्गत लिएको ऋण एउटा कम्पनीमा १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था हटाउनुपर्ने ब्रोकरहरुको भनाइ छ।

उक्त व्यवस्था संशोधन नगरेसम्म लगानीकर्ता आकर्षित नहुने ब्रोकर भरत रानाभाट बताउँछन्। संशोधित व्यवस्थाले सबै लगानीकर्तालाई १० प्रतिशतभन्दा माथि लगानी गर्न नदिने निर्देशिका आए उचित हुने उनको भनाई छ।  तर बोर्ड यस विषयमा अहिले मौन बसेको छ।

अर्कोतर्फ, मार्जिन कारोबारमा ब्रोकरको ब्याजदर बैंकले लिनेभन्दा बढी भएकाले पनि आकर्षित नभएको लगानीकर्ताहरुले बताउँदै आएका छन्।लगानीकर्ताहरुले ब्रोकरबाट मार्जिन लोन सुविधा लिन नचाहनुको एउटा कारण यो पनि भएको  ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मी बताउँछन्।

'बैंकभन्दा ब्रोकरबाट कम समयमा कर्जा लिएर चाहेको बेलामा सेयर खरिद गर्न सकिने भएकाले ब्रोकरले लिने ब्याज बैंकको भन्दा महंगो भएको हो। यसलाई लगानीकर्ताले पनि स्वीकार्नु पर्छ,' उनले भने । सेयर बजारका दीर्घकालीन लगानीकर्ताका लागि मार्जिन लोन प्रभावकारी नभए पनि छोटो समयको कारोबार गर्नेहरुलाई यो उपयोगी हुने रेग्मीको भनाइ छ।

बजार बढेको बेला सेयर खरीद गरेर नाफा बुक गरिहाल्छु भन्ने अल्पकालीन लगानीकर्ताहरुका लागि ब्रोकरको मार्जिन लोन उपयुक्त हुन्छ।किनकि, ब्रोकरबाट मार्जिन लिँदा चाहेको बेला सेयर खरिद गर्न सकिन्छ। तर, बैंकबाट सेयर कर्जा  लिन केही समय लाग्ने हुँदा बजार बढेको बेला सेयरको मूल्य चाँडै थपघट भइसकेको हुन सक्छ।

धितोपत्र खरिदका लागि लगानीकर्तालाई कार्यविधिअनुसार हाल नेपालमा सञ्चालित ५० धितोपत्र दलाल व्यवसायीकै लागि यो सुविधा उपलब्ध गराउने उद्देश्य हो। तर, नेप्सेले २१ वटा ब्रोकरहरुलाई मार्जिन लोनको अनुमति दिएको छ।

मार्जिन कारोबार सञ्चालनका लागि ब्रोकरको खुद सम्पत्ति कम्तीमा ५ करोड हुनुपर्ने व्यवस्था छ। ब्रोकरले मार्जिन कारोबार उपलब्ध गराउँदा कम्तीमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा न्यूनतम वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको शेयरमा मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ।