मेलम्चीको पानी बाँड्ने ‘स्काडा’को ठेक्का ९५ करोडमा फ्रेन्च कम्पनीलाई, पूरा हुन २१ महिना लाग्ने

बिजमाण्डू
२०७७ साउन २९ गते १५:५५ | Aug 13, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। मेलम्चीको पानी वितरणका लागि अत्याधुनिक कम्प्युटराइज प्रणाली सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा) सिस्टम निर्माणको जिम्मा भिसिजिपी डब्लुएमआई-कालिका जेभीले पाएको छ । 

यसमध्ये भिसिजिपी डब्लुएमआई (वाटर म्यानेजमेन्ट इन्टरनेशनल) खानेपानी वितरण तथा नेटवर्क व्यवस्थापन लगायतमा अत्याधुनिक प्रणाली निर्माणका  लागि कहलिएको फ्रेन्च कम्पनी हो । भिसिजिपीले नेपालको कालिका कन्स्ट्रक्सनलाई स्थानीय साझेदारका रूपमा लिएर संयुक्त लगानी कम्पनी (जेभी) स्थापना गरी स्काडाका लागि टेन्डर हालेको थियो ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले निकालेको ठेक्कामा आवेदन दिएका तीन कम्पनीमध्ये तोकिएका सर्तहरु पूरा गर्दै सबैभन्दा आकर्षक वित्तीय प्रस्ताव पेश गरेको भिसिजिपी डब्लुएमआई -कालिका जेभी छनोट भएको हो। यसले कुल ९५ करोड १८ लाख ३१ हजार २ सय रुपैयाँ (भ्याट बाहेक) मा स्काडाका लागि तोकिएका सम्पूर्ण काम सक्नेगरी वित्तीय प्रस्ताव हालेको पीआईडीले बताएको छ ।

स्काडाका लागि चीन र भारतका गरी अन्य दुई कम्पनीले नेपाली कम्पनीसँगको जेभीमा प्रस्ताव हालेकाे पीआईडीले जानकारी दिएको छ । ‍

भिसिजिपीले खानेपानीको नेटवर्क व्यवस्थापन,आधुनिक प्रणाली निर्माण, स्काडा जडान, वेष्ट वाटर ट्रिटमेन्ट सिस्टम, पानी चुहावट नियन्त्रण लगायतको काम गर्छ। यसको स्थानीय साझेदार कालिका कन्स्ट्रक्सन नेपालको 'क' वर्गको निर्माण कम्पनी हो। 

बोलपत्र पेश गर्ने कम्पनीहरुसँग प्राविधिक र वित्तीय गरी छुट्टाछुट्टै शिलबन्द प्रस्ताव मागिएको थियो । त्यसमध्ये प्राविधिक प्रस्तावमा पास हुनेले मात्र वित्तीय प्रस्तावको स्पर्धामा भाग लिन पाउने तोकिएको थियो । बोलपत्रमा भाग लिएका तीनमध्ये दुईवटा मात्र प्राविधिक पाटोमा पास भएका थिए । भारतीय कम्पनीले भने यो पास नगरेको पीआईडीका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिए ।

भारतीय कम्पनी योकोगावा र नेपालको एक्जिन कन्स्ट्रक्सनको जेभी प्राविधिक प्रस्तावमै फेल भएर बिडिङबाट बाहिरिएको थियो । बोलपत्रमा भाग लिएको अर्को चिनियाँ कम्पनी सिआन र नेपाको कन्काई कन्सट्रक्सनको जेभी थियो । यसले भन्दा भिसिजिपी डब्लुएमआई-कालिका जेभीले कम रकमको वित्तीय प्रस्ताव हालेकाले ठेक्का पाएको प्रजापतिले बताए ।

स्काडा प्रणाली स्थापनाको जिम्मा पाएको यी दुई कम्पनीको जेभीसँग दुई सातामा सम्झौता हुने पीआईडीका उपनिर्देशक उज्वल प्रजापतिले जानकारी दिए। पीआईडीले ठेक्कामा सहभागी अरु दुई कम्पनीको कुनै उजुरी/गुनासो भए निवेदन दर्ता गर्न भन्दै बिहीबार सात दिने सूचना पनि निकालेको छ । 

अर्को बिहीबारसम्ममा कुनै उजुरी नपरे त्यसपछि सम्झौता गरिने प्रजापतिले जानकारी दिए । सम्झौताको एक महिनामा कम्पनीले मोलाइजेसनको काम शुरु गर्नुपर्ने प्रावधान रहेको बताइएको छ।

पीआईडीले यसअघि नै स्काडाका लागि तीनपटक ठेक्काको सूचना निकालिसकेको थियो। तर त्यसमा कुनै कम्पनी प्राविधिक रुपमा पास हुन सकेका थिएनन् ।

आयोजनाले तेस्रोपटक ठेक्का निकाल्दा पनि एउटा कम्पनी मात्र प्राविधिक पास भयो । तर उसले आर्थिक प्रस्ताव परामर्शदाताले तोकेको भन्दा धेरै गुणा (१२२ प्रतिशत) बढीको भएकले ठेक्का पुनः रद्द भएको थियो। अहिले चौथो पटकको सूचनापछि स्काडाका लागि ठेक्का लगाउन कम्पनी पास भएको हो।

करिब तीन महिनाअघि निकालिएको स्काडाको दोस्रो टेन्डरका बेला उक्त प्रणाली जडानका लागि करीब ८४ करोड रुपैयाँ लाग्ने अनुमान विज्ञ परामर्शदाताको थियो। स्काडाका लागि तेस्रो पटक सूचना निकाल्नुअघि पीआईडीले त्यसमा स‌ंशाेधन गर्दै एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । त्यसैलाई आधार मानेर अहिले निकालिएको सूचनामा भिसिजिपी डब्लुएमआई-कालिका जेभीले अनुमानभन्दा करिब ५ करोड रुपैयाँ कमको वित्तीय प्रस्ताव हालेर ठेक्का  पाएको हो । 

आयोजना प्रमुख भोजविक्रम थापाका अनुसार प्रणाली डिजाइन, निर्माण र संचालन कम्पनी आफैंले गर्नेगरी ठेक्का सम्झौता गर्न लागिएको हो। कम्पनीलाई  डिजाइनका लागि ९ महिना, कार्यान्वयनमा ल्याउन २१ महिना र त्यसपछि ३३ महिना उसैले संचालन गर्ने गरी दिन लागिएको छ।

निर्माण तथा प्रणाली जडान सकेर ३३ महिना संचालन गरेपछि मात्रै नेपाली पक्षलाई उक्त कम्पनीले हस्तान्तरण गर्नुपर्नेछ। त्यस अवधिमा नेपाली प्राविधिकहरु पनि सामेल गराइनेछ। करिब तीन वर्षको त्यो अवधिमा नेपाली प्राविधिकहरुले स्काडा संचालनबारे तालिम लिने र  सक्षम हुने अपेक्षा आयोजनाको छ। 
 

मेलम्चीको पानी वितरणका लागि नभै नहुने स्काडा के हो ?
स्काडा खानेपानी वितरणका लागि विश्वका विभिन्न मुलुकमा अपनाइएको पछिल्लो र अत्याधुनिक कम्प्युटराइज स्वचालित प्रणाली हो। यसमा एउटा कोठामै बसेर कम्प्युटरमार्फत पानीका स्रोत (रिजर्भ ट्यांकी) हरुका साथै पानीकाे मात्रा तथा सम्पूर्ण वितरण प्रणालीको अवस्था हेर्न र नियन्त्रण पनि गर्न सकिन्छ। यसरी कम्प्युटरबाटै पूरै वितरण प्रणाली नियन्त्रणका लागि स्काडाअन्तर्गत सेन्सर पनि जडान गरिएको हुन्छ ।

यी विशेषता र सुविधाका कारण स्काडा जडान गरेपछि पानी वितरण प्रणालीमा हुने ठूलो परिमाणको चुहावट नियन्त्रण हुनेछ । विद्यमान प्रणालीबाट वितरित दैनिक १२ करोड लिटर पानीमध्ये करिब ४० प्रतिशत चुहावट रहेको वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आफैंले बताउँदै आएको छ । 

अहिले राजधानीमा पानी वितरणका लागि प्रयोग हुँदै आएको यही परम्परागत प्रणाली हटाएर अत्याधुनिक क्लोज सिस्टममा आधारित स्काडा प्रणाली स्थापना गर्न लागिएको हो। यो प्रणालीबिना मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ल्याउन लागिएको पानी वितरण असम्भव जस्तै रहेको आयोजना प्रमुख थापाको भनाइ छ ।

स्काडाले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा कति पानी आयो, उपत्यका रहेका रिजर्भ पोखरीहरुमा कति पानी छ, कुन पाइपलाइनबाट कति वितरण भइरहेको छ, कुन क्षेत्रमा पानी वितरण भएको छैन, कहाँ कहाँ लिकेज छ लगायतका सम्पूर्ण विवरण हेर्न तथा नियन्त्रण गर्न सकिन्छ।

यसबाट कतै समस्या आए तत्कालै हेर्न सकिने हुँदा मर्मत गर्न टोली त्यतातिर पठाउन सकिन्छ, जसले लिकेज नियन्त्रणमा सहयोग गर्नेछ।

स्काडा नराखी मेलम्चीको पानी वितरण गरिने हो भने पानी लिकेजका कारण काठमाडौं अस्तव्यस्त हुन्छ, सडकहरु ध्वस्त हुन्छन् भने पानी वितरण समेत समान बनाउन सकिंदैन। अहिले मान्छे फिल्डसम्मै पुगेर गर्दै आएका धेरै काम कम्प्युटरबाटै गर्न सकिने यो प्रणाली जडान गरेपछि अहिलेजस्तो पानी वितरणका लागि ११-१२ सय कर्मचारी पनि नचाहिने बताइएको छ।