नेपाल-बंगलादेश व्यापार वार्ताको तयारी पूरा, कार्गो ट्रान्जिटसहित तीन विषयमा सम्झौता हुने 

बिजमाण्डू
२०७७ साउन २९ गते १२:३८ | Aug 13, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल-बंगलादेश व्यापार वार्ताको एजेन्डा तयार भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भर्चुअल वार्ताको तयारी पुरा गरेको जनाएको छ। 

बंगलादेशसँग हुने सचिव स्तरीय व्यापार वार्ताको एजेन्डा तयार भएको वाणिज्य सचिव बैकुण्ठ अर्यालले जानकारी दिए। एक दिन मात्रै हुने व्यापार वार्तामा प्रिफेन्सियल ट्रेड एग्रिमेन्ट (पीटीए) मुख्य एजेन्डा हुने सचिव अर्यालले बताए।

उनका अनुसार कृषि र यातायातको विषयमा केन्द्रित भई छलफल हुनेछ। पीटीएमा मुख्य २० वटा कृषि वस्तुहरुको निर्यातको विषयमा छलफल हुने सहसचिव नवराज ढकालले बताए। ढकालका अनुसार तीन विषयमा विस्तृत सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर हुनेछ। जसमा कार्गो ट्रान्जिट, रोहनपुर-सिहंवाद बाटो प्रयोग र दुई देशको कृषि मन्त्रालयबीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ। नेपाली पक्षले एजेन्डाको विषयमा बंगलादेशी पक्षलाई जानकारी दिइसकेको छ।

नेपालले छलफलमा कृषिजन्य वस्तु र औद्योगिक सामाग्रीहरु निर्वाध रुपमा बंगलादेशी बजारमा निर्यात गराउन चाहेको छ। जसमा तरकारी, धागो, फलफुल, जुत्ताचप्पल, कुँचो, दुग्धजन्य सामाग्रीहरु समावेश छन्। बंगलादेशमा विशेषगरी असार/साउन महिनामा गोलभेडाको माग उच्च हुने र सो समयमा नेपालमा सिजन हुने भएकोले गोलभेडा निर्यातको सम्भावनालाई मुख्य रुपमा हेरिएको छ। यद्यपी गोलभेडा उत्पादनको अवस्थाबारे भने मन्त्रालयले अध्ययन गर्दैछ।

यस्तै साग, बन्दा, मुला गाजर, दाल, काउली, भटमास, केराउ, चना लगायत तरकारी समावेश छन्। दुधबाट बन्ने परिकार निर्यातलाई पनि छलफलमा समावेश गरेको छ।

बंगलादेशले हाल एक्रेलिक धागो मात्रै निकासीको सुविधा दिएको छ। यो प्रकृतिको धागो बंगलादेशी उद्योगमा निकै कम मात्रामा माग हुने गर्छ। यसबाट नेपाली उद्योगीले कुनै फाइदा लिन सकेका छैनन। भिस्कस यार्न,  पोलिष्टर भिस्कस, डाइड यार्न (रंगिन धागो) को माग उच्च छ। यो प्रकृतिको धागो बंगलादेशले निर्यातको सुविधा दिएको छैन।

यी कृषि वस्तुको क्वारेन्टाइन परिक्षण सम्मबन्धी खाद्य प्रविधि तथा गुण नियान्त्रक विभाग र बंगलदेशी सोही प्रकृतिको विभागबीच सम्झौता भैसकेको छ। यो सम्झौतापछि नेपालको विभागले जारी गरेको वस्तुको गुणस्तर र बंगलादेशले जारी गरेको वस्तुको गुणस्तर एकले अर्को देशको स्वत मान्नु पर्नेछ। 

यी २० वस्तु भन्साररहित (ड्यूटी फ्री) मा बंगलादेशी बजारमा जान पाउनुपर्ने नेपाली पक्षको माग छ। हाल यी वस्तुको निर्यातमा नेपाली व्यवसायीहरुले २५ प्रतिशतसम्म भन्सार महसुल तिर्दै आएका छन्। यस्तै बंगलादेशी पक्षले नेपालमा आफ्ना उत्पादनको सहज व्यापार चाहेको छ। विशेषगरी नेपालले बंगलादेशी जुस निर्यातमा लागेको प्रतिबन्ध हटाउन चाहेको छ।

गत वर्ष बंगलादेशबाट नेपालले ५ अर्ब २९ करोडको आयात गरेको छ भने ९५ करोड ४७ लाखको मात्रै निर्यात गरेको छ। 

कार्गो ट्रान्जिटको विषयमा पनि छलफल

बंगलादेश र नेपालको स्थलमार्ग सिधै पहुँच नभएकोले केही स्थानमा भारतीय भूमिको समेत प्रयोग गर्नुपर्नेछ। यसको लागि त्रिदेशीय पारवहनको विषयमा समेत छलफल भैरहेको छ। व्यापार वार्तामा हाल भैरहेको मार्गको स्तर उन्नति र नयाँ मार्गको प्रयोगको विषयमा पनि छलफल हुनेछ। हाल नेपाली व्यवसायीहरुले भारतको फुलबारी मार्ग हुँदैं व्यापार व्यवसाय गरिरहेका छन्।

जुन व्यवसायीको लागि घुमाउरो बाटो बन्ने गरेको छ। बैठकमा नेपाली पक्षले बंगलाबन्द, रोहनपुर-सिंहवादको बाटो प्रयोग गर्ने विषयमा छलफल हुनेछ। यस्तै नेपाल र बंगलादेशबीचमा ट्रान्जिट कार्गो खुला गर्ने विषयमा पनि छलफल हुनेछ। यो विषयमा हालसम्म दुई देशबीच कार्गो ट्रान्जिट खुला हुन सकेको छैन। बंगलादेशको रंगपुरबाट विराटनगर/भद्रपुर सिधा हवाई उडानको विषयमा पनि छलफल हुनेछ। 

व्यापार वार्ताका लागि मन्त्रिपरिषदले एजेन्डा र ११ सदस्यीय वार्ता टोली गठनको अनुमति दिइसकेको छ। वार्ता टोलीमा सचिव अर्याल, सहसचिव नवराज ढकाल सहित ११ जनाले सहभागिता जनाउने छन्।