मेलम्ची खानेपानी आयोजनाको गेट पुन: निर्माण सुरु, पानीको दबाव थेग्ने बनाउन अब भित्रबाट राखिँदै

बिजमाण्डू
२०७७ साउन २८ गते १६:४१ | Aug 12, 2020
मेलम्ची खानेपानी आयोजनाको गेट पुन: निर्माण सुरु, पानीको दबाव थेग्ने बनाउन अब भित्रबाट राखिँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। परिक्षणका क्रममा गेट फुस्किएको मेलम्ची खानेपानी आयोजनाको पुन: निर्माण सुरु भएको छ। दुर्घटनापछि बनेको छानविन समितिले सुझाए अनुसार यसको निर्माण फेरि थालिएको हो।

दुर्घटना भएको करिब एक महिनापछि पुन: निर्माण थालिएको छ। अम्बाथान अडिटमा दुर्घटना भएको गेट निकालेर भित्रबाट राख्ने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए।

उनका अनुसार, साइटमा रहेका निर्माण कम्पनीका कामदारहरुले गेट निकालेर राखेका छन्। आजै कम्पनीका प्राविधिकसहित सातजना साइटमा गएका छन्। गेट निर्माणको काम पुनः गर्न आयोजनाले भारतबाट प्राविधिकसहितको टोली ल्याएको हो। उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि साइट पठाइएको खत्रीले जानकारी दिए।

आज साइट हेरेपछि भोलिबाट काम थाल्ने बताइएको छ। दुई महिनामा सक्ने गरी 'रिकभरी वर्क प्लान' बनाएर काम सुरु गर्न लागिएको खत्रीले बताए।

यस कामका लागि डिजाइन एण्ड विल्ड प्रक्रियाबाट ठेक्का लगाइएको छ। जसमा निर्माण कम्पनी आफैंले डिजाइन गरेर निर्माणसम्मको काम गर्छ। यसमा स्वीकृति भने परामर्शदाता कम्पनीसँग लिइनेछ । निर्माणको जिम्मा भारतीय कम्पनी प्रिसिजन इन्फ्रा टेकले पाएको छ।

परिक्षणको आठौं दिनमा अम्वाथानस्थित पहिलो अडिट टनेलको गेट फुस्किएको थियो। गेट फुस्किएर दुर्घटना भएपछि मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो। उक्त समितिले भित्रबाट राख्नुपर्ने गेट बाहिरपट्टीबाट राखिएकाले पानीको प्रेसर थाम्न नसकेर दुर्घटना भएको निष्कर्ष निकालेको छ। गेटमा पानी कतिको प्रेसर पर्छ सोहीअनुसार डिजाइन गरिएको हुन्छ।

'टनेलमा भित्रबाट नट-बोल्ट खोल्न मिल्ने गरी गेट राख्ने डिजाइन भएकोमा सजिलोका लागि बाहिरबाट राखिएको छ। यसो गर्दा त्यसले प्रेसर थाम्न नसकेर दुर्घटना भएको देखिन्छ,' छानविन समितिको प्रतिवेदनमा भनिएको छ।

गेट बन्द गरेपछि बाहिर निस्कन र मर्मत सम्भार तथा परिक्षणका लागि सहज हुने भएपछि परामर्शदाता कम्पनीको स्वीकृतिमा बाहिरबाटै गेट राखिएको आयोजना एक अधिकारीले बताए। अब पुरानै डिजाइनअनुसार भित्रबाटै गेट राख्न लागिएको छ।

उक्त गेटको बाहिरपट्टी स्ट्रिलको फ्रेम, कंक्रिट प्लग (ढलान गरिएको संरचना) हुँदै सुरुङमार्गमा रहेको चट्टानसम्म प्रेसर ट्रान्सफर हुने गरी डिजाइन गरिएको छ।  'हामीले भित्रबाटै राख्ने गरी काम अघि बढाउन लागेका छौं,' आयोजना उपप्रमुख कमलराज श्रेष्ठले भने, 'यहाँ वरपरका मानिसहरुलाई विश्वस्त पार्न पनि भित्रबाट राख्न लागिएको हो। भित्रबाट राख्दा दीर्घकालका लागि पनि राम्रो हुन्छ।'

आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्र प्रसाद पन्तका अनुसार गेटहरु जडान सकेपछि त्यसको परिक्षण हुनेछ। गेटको परिक्षण सकेपछि मात्रै पुनः सुरुङमार्ग परिक्षण सुरु गरिनेछ। योजना अनुसार काम भए अबको दुई महिनामा पुनः परिक्षण थालिने उनको भनाइ छ।

मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर लामो सुरुङमा तीनवटा अडिट टनेलमा र सुन्दरीजलमा एक गरी कुल चारवटा ठूला गेटहरु रहेका छन्। ती सबै निकालेर भित्रबाट राख्नुपर्नेछ।अन्य यस्तै खालका करिब ३२ वटा गेटहरु पनि जडान भएका छन्। तिनीहरुको भने पुनः जडान गर्न आवश्यक नरहेको उनको भनाइ छ।

अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा रहेका गेटहरु निकालेर भित्रबाट खोल्न मिल्ने गरि जडान गरिनेछ। बाँकी गेटहरुमा ट्रयास र्याक, पाइप, आउट फ्लस लगायत राखिएको छ। 'हामीले एकै साथ काम गर्न भनेका छौं । चारवटै ठाउँमा एकैपटक काम गरियो भने समयमा सकिन्छ। एउटा एउटा गरेर गर्दा समय लाग्न सक्छ' उनले भने।

यी चारवटा गेटहरु सानो गाडी लिएर जान मिल्ने बल्क हेड गेट हुन्। हेडवर्क्समा धेरैवटा गेटहरु रहन्छन्। अहिले स्थायी हेडवर्क्स तयार नभइसकेकाले त्यसमा गेटहरु जडान गरिएको छैन ।

यससँगै आयोजनाले दशैंमा मेलम्चीको पानी वितरण गर्ने योजना पूरा नहुने भएको छ। किनकि, गेट जडानका लागि नै दशैंसम्म लाग्ने छ। सुरुङमार्गको परिक्षणका लागि अर्को दुइ महिना लाग्छ। परिक्षणका क्रममा कुनै त्रुटी भेटिए त्यसको मर्मत सम्भारका लागि थप समय लाग्न सक्छ। 

यो सबैलाई हेरेरै पुस मसान्तसम्म स्थायी हेडवर्क्स तयार पार्ने लक्ष्य आयोजनाको छ। जसको ७० प्रतिशत काम सकिएको छ। अब स्थायी संरचनाबाट नै पानी ल्याइने आयोजनाका अधिकारीहरुले बताए ।

यसअघि अस्थायी संरचना (कफर ड्याम) बाट परिक्षण थालिएको थियो।  आयोजनाले सबै संरचनाको प्राविधिक अध्ययन गर्न लागेको छ । त्यसको नतिजा कस्तो आउँछ त्यसमा पनि अस्थायी संरचनाबाट समेत पानी काठमाडौं कहिलेबाट  ल्याउन सकिन्छ भन्ने कुरा भर पर्ने आयोजनाका इन्जिनियरहरुको भनाइ छ। उनीहरुको भनाइका आधारमा मेलम्‍चीको पानी कुनै पनि प्रक्रियाबाट काठमाडौं झर्न अझै वर्षदिन भन्दा बढी लाग्ने देखिन्छ ।