कोरोना संक्रमित बढेसँगै उकालो लाग्दै गरेका रेष्टुरेण्टलाई धक्का, टेक-अवेमा सीमित बन्यो

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ साउन २८ गते ०९:३२ | Aug 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो समय कोरोना संक्रमण फेरि बढ्दै गएपछि रेष्टुरेण्ट व्यवसायमा धक्का लागेको छ। फोन र अनलाइन अर्डर लिएर होम डेलिभरी गर्दै आएका होटल रेस्टुरेन्टले खुला गरेर चलाउन नपाउने अवस्था आएको छ। मन्त्रिपरिषदको निर्णयबाट होटल तथा रेष्टुरेन्टहरु अझै केही समय 'टेक अवे'मा मात्र सीमित हुनुपर्ने भएको छ।   

सरकारले लकडाउन खुकुलो पारेसँगै डेढ महिनादेखि सर्वसाधारणलाई स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै टेक अवे, होम डेलिभरीसँगै रेष्टुरेण्ट परिसरमै ग्राहकलाई सेवा दिँदै आएका थिए। खुकुलो भएपछि पनि रेष्टुरेण्टमा पछिल्लो समय ग्राहक आगमनमै कमी आएको अवस्था रहेको संचालक बताउँछन्।

मन्त्रिपरिषदको निर्णयपछि व्यवसायीहरु पुनः टेक अवे र डेलिभरी सेवामा सीमित हुन बाध्य भएका छन्।

'पछिल्लो समय बाहिर निस्कने सर्वसाधारणको संख्या कम हुँदै गएको छ। सरकारले कोरोना संक्रमण बढ्दै गरेका कारण ठाउँ ठाउँमा लकडाउनसँगै सटडाउन पनि सुरु गरिसकेको छ। यो बीचमा रेष्टुरेण्टतर्फ सामान्यतया हुँदै आएको व्यवसायको ६० प्रतिशत पिकअप लिइसकेको थियो। फेरि संक्रमण बढ्न सुरु भएपछि पछिल्लो समय व्यवसाय ओरालो लाग्न सुरु भएको छ,' रेष्टुरेण्ट व्यवसायीको छाता संगठन रेबानका अध्यक्ष अरनिको राजभण्डारीले भने।

राष्ट्र बैंकले पर्यटन क्षेत्रका लागि सम्बोधन गरिएको मौद्रिक नीति रेष्टुरेन्ट व्यवसायमा उल्लेख्य कार्यन्वयनमा नआएको भन्दै उनले पहिलाको तुलनामा अहिले झन् हतोत्साहित भएको बताए।

'अवस्था झन् झन् अन्योल हुँदै गएको छ। घर बहाल, बैंकको ऋण, कर्मचारी पारिश्रामिक लगायत तीनतर्फी समस्या समाधान कसरी गर्ने? रेष्टुरेण्ट व्यवसायी अलमलमा छौं,' उनले भने।

रेष्टुरेण्ट एण्ड बार एशोसिएसनले केही समयअघि अनलाइन फुड डेलिभरी प्रयोजनका लागि संचालनमा ल्याएको एप 'अर्डर साथी डट कम' मार्फतमात्र सेवाग्राहीलाई सेवा दिने अवस्था आएको उनले बताए। जस्तै विषम परिस्थितिमा पनि रेष्टुरेण्ट क्षेत्र चलायमान बनाउनका लागि रेबानले विकल्प अध्ययन सुरु गरिसकेको उनले बताए।

उनका अनुसार हाल अर्डर साथी डट कममार्फत ४० वटाभन्दा बढी रेष्टुरेण्टले आफ्नो सेवा दिँदै आएका छन् भने डेलिभरी प्रयोजनका लागि संघले नेप एक्सप्रेस सँग सहकार्य गर्दै आएको छ।

संक्रमण बढेसँगै त्रिशारा रेष्टुरेण्टमा यतिखेर ग्राहक आगमन संख्या कम हुँदै गएको संचालक शोभनवीर मालाकारले बताए। 'लकडाउन खुकुलो भएसँगै स्वास्थ्य सुरक्षा अपनाएर सेवा सुरु गर्दा रेष्टुरेण्टमा ग्राहक संख्या ३० प्रतिशत थियो, बिस्तारै व्यवसायले गति लिँदै थियो,' उनले भने, 'अब काठमाडौंमा कोभिड संक्रमण बढ्दै गएपछि सर्वसाधारणमा त्रास छ। बाहिर निसक्नेको संख्या घटेसँगै रेष्टुरेण्टमा आएर खानेको  संख्या स्वाभाविकरूपमा घटेको छ।' 

लकडाउन सुरु भएसँगै संचालनमा ल्याएको अनलाइन फुड डेलिभरी सेवा बाहेक कुनै विकल्प नरहेको उनले बताए।'रेष्टुरेण्टमा आउने ग्राहकको संख्या अब पाँच प्रतिशत पनि छैन। अहिलेसम्म त हामीले बेलुका ८ बजे सम्म रेष्टुरेण्ट खुला गरेका छौं। तर यो बीचमा जस्तै ग्राहकको चहलपहल छैन। अनलाइन सेवा बाहेकको विकल्प छैन,' उनले भने।

करिब तीन सय जना कर्मचारी रहेको त्रिशाराले लकडाउन खुकुलो भएसँगै ५५ कर्मचारी राखेर रेष्टुरेन्ट संचालनमा ल्याएको थियो।

दरबारमार्गस्थित एलिस रेष्टुरेण्टको हालत पनि उस्तै छ। ग्राहकको आगमन संख्या घटेको असिस्टेन्ट मेनेजर रेजिन आलेले बताए। लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम र स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सेवा दिँदै आएको रेष्टुरेण्टमा ग्राहकको संख्या घट्दा व्यवसायमा असर परेको छ। 

'लकडाउन खुकुलो भएसँगै सामान्यतया दैनिक २० वटा टेबल बुकिङ हुँदै आएको थियो। तर काठमाडौंमा संक्रमण बढेसँगै दैनिक अधिकतम पाँचवटा टेबललाई मात्र सेवा दिइँदै आइएको छ। सुरुमा पिकअप लिइरहेको व्यवसाय र कारोबार क्रमिक रूपमा घट्दै गएको छ। संक्रमण बढिरहने हो भने ग्राहक आउने क्रम शून्य नहोला भन्न सकिन्न,' आलेले भने।

सरकारले सटडाउन घोषणा गरेसँगै ठमेलस्थित काठमाडौं किचन रेष्टुरेण्टले तत्कालका लागि सेवा बन्द गरेको जनाएको छ। यसअघि रेष्टुरेण्ट आइपुग्नेका लागि परिसरमै खानपिन र टेक अवे सुविधा थियो। अब रेष्टुरेण्ट बन्द गर्नुको विकल्प नदेखिएको संचालक गोविन्द श्रेष्ठले बताए।

'लकडाउन खुकुलो भएसँगै ग्राहक आउजाउ बढेको थियो। व्यवसायले पनि पिकअप लिइरहेको थियो। तर संक्रमण बढ्दै गएका कारण अब न ग्राह आउँछन्, न त अर्डर। त्यसैले रेष्टुरेण्ट बन्द गरेर बसेका छौं,' श्रेष्ठले बिजमाण्डूसँग भने।

झम्सिखेलस्थित गोर्खाज ग्रिलमा अधिकतम दुईवटा टेबललाई मात्र सेवा दिइँदै आइएको रेष्टुरेण्टकी कर्मचारी पवित्रा चौलागाईँले बताइन। आएर खानेकुरा अर्डर गर्ने ग्राहक घटेको छ।

रेष्टुरेण्टमै बसेर सेवा लिने ग्राहक आगमन कम भएपनि हाल टेक अवे र डेलिभरी सुविधा यथावत राखिएको उनले जानकारी दिइन्।

कोभिड-१९का कारण यतिखेर काठमाडौंमा पर्यटक स्तरका चार दर्जन भन्दा बढी रेष्टुरेण्टहरू बन्द भइसकेका छन्। सञ्चालनको तरखर गरिरहेकाहरूले पनि संक्रमणको त्रासलाई ध्यानमा राख्दै योजना पछाडि सारेका छन्।