बालाजु बाइपासमा एकातिर घर गुमाउनेको अनसन, अर्कोतिर सडक निर्माणको माग गर्दै प्रदर्शन

बिजमाण्डू
२०७७ साउन २७ गते १६:११ | Aug 11, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। बालाजु बाइसधारा क्षेत्र र बाइपास जोड्ने मुख्य सडक निर्माण नहुँदा सात वर्ष देखि यहाँका स्थानीयले सास्ती भोग्दै आइरहेका छन्।

सडक विस्तारका क्रममा करिब २ सय मिटर सडक कालोपत्रे हुन बाँकी रहँदा वर्षायाममा बाइसधारा क्षेत्र हिलाम्मे हुने गर्छ। अरु बेला धुलोधुवाँले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।  सडक निर्माण नहुँदा यो बाटो हुँदै संचालन हुने सवारी साधन समेत माछापोखरी डाइभर्ट गर्नु परेको छ।

वर्षौंदेखि सडक अलपत्र हुँदा स्थानीयले सडक निर्माणका लागि स्थानीय तहदेखि अन्य सरोकारवाला निकायहरुसँग आग्रह गर्दै आएका थिए। बाइपास क्षेत्रमा नै घर भएका शहरी विकास राज्य मन्त्रीलाई समेत पटकपटक सडक निर्माणका लागि दबाब दिइएको थियो। तर, हालसम्म उक्त सडक खण्ड निर्माण हुन सकेको छैन।

करिब एक हप्ता अघि नै सडक विस्तारको क्रममा बालाजु-बाइपास क्षेत्रमा रहेका दुई घर भत्काइएपछि फेरि बालाजुमा सडकको विषयबारे चर्चा बढेको छ।

अदालतले सडक विस्तार हाललाई रोक्न भन्दै ‘स्टे अर्डर’ दिएकोमा प्रहरी प्रशासनको रहोबारमा बिना कुनै आधार र सूचना घर भत्काएको भन्दै स्थानीयले विरोध गरिरहेका छन्। सडक विस्तारबाट विस्थापित भएकाहरु केहीदिनयता रिले अनसन बस्दै आएका हुन्।

सडक निर्माण गर्ने र विस्थापनविरुद्ध संघर्ष गरिरहेका दुई पक्ष अहिले देखिएको छ।

यसैक्रममा मंगलवार भने बाइसधारा-बाइपास सडक निर्माणको पक्षमा रहेका स्थानीयले विरोध प्रदर्शन गरे। बाटो जसरी पनि बन्नुपर्छ भन्ने पक्षमा रहेकाहरुले विस्थापनविरुद्ध अनसनस्थल नजिक नै सडक बन्नुपर्ने भन्दै नारा लगाएका थिए।

सरकारलाई सडक निर्माण गर्न दबाबस्वरुप बाइपासबाट सुरु भएको प्रदर्शन बाइसधारा हुँदै राज्यमन्त्री रामवीर मानन्धरको घरमा गएर टुंगिएको थियो। मानन्धर जसरी पनि सडक निर्माणको पक्षमा रहेको स्थानीयको भनाइ छ। यता अनसन बस्दै आएकाहरुले भने रामवीरले शक्ति प्रदर्शन गरेर आफूहरुलाई हटाउन खोजेको आरोप लगाएका छन्।  

सडक विस्तारका क्रममा बाइधारा–बाइपास जोड्ने सडकको बायाँपट्टीका घरहरु सबै भत्काए पनि सर्वोच्चमा परेको मुद्दाका कारण दुईटा घर पूर्ण रुपमा भत्काइएको थिएन। त्यसकारण करिब २०० मिटर सडक निर्माण हुन सकेको थिएन।