कोरोना नियन्त्रणमा चौधरी फाउण्डेसनको सहयोग, स्वास्थ्य मन्त्रालयलाई ८ वटा भेण्टिलेटर दियो

बिजमाण्डू
२०७७ साउन २७ गते १६:०३ | Aug 11, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ ।

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  ८ वटा भेन्टिलेटर हस्तान्तरण गरे। 

कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा सघन उपचार कक्ष र भेण्टिलेटरहरुको अभाव भैरहेको छ । चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बाग्मति र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउने बताइएको छ ।  

भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढिरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग गरेको बताए।

‘चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पुर्याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भने, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा  यो सहयोग अतुलनीय छ ।’ 

फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का गम्भीर विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए। उनले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गरे।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको जनाएको छ ।