शान्ति सेना मिसनका लागि नेवानिको जहाजलाई प्राथमिकता, दक्षिण सुडानमा थप दुई चार्टर उडानको तयारी

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ साउन २७ गते १४:४३ | Aug 11, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। शान्ति सेना मिसनका लागि  नेपाली सेनाले नेपाल वायुसेवा निगमको जहाजलाई प्राथमिकतामा राखेको छ। 

यस अघि निगमकै जहाजमार्फत दक्षिण सुडान मिसनका लागि दुई सय ३८ जना सैनिक परिचालन गरिसेको नेपाली सेनाले थप दुईवटा उडान तयारी सुरु गरिसकेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

मिसनका लागि सात सय जना सैनिक परिचालन गर्न लागेको सेनाले यस अघि गत साउन १४ गते दुई सय ३८ जना सैनिक पठाइसेकको छ। बाँकी सैनिकलाई आउँदो भदौ ३ र २१ गते निगमको जहाजमार्फत लैजाने तयारी गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

नेपाल वायुसेवा निगम र नेपाली सेनाको समन्वयमा यतिखेर ओभरफ्लाइ  अनुमतिका लागि प्रक्रिया अगाडि बढाएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

सुडानका लागि हुन लागेको चार्टर उडान  काठमाडौं-दिल्ली-जुवा अवतरण हुने उनले जानकारी दिइन। उनका अनुसार वाइडबडी मार्फत गर्न लागिएको यो चार्टर उडान समयावधि सात घण्टा ४० मिनेटको रहने छ।          

संयुक्त राष्ट्र संघको प्रावधान अनुसार लेटर अफ असिस्ट अन्तर्गत रही सेनाले निगमको जहाजमार्फत आफ्ना सैनिक पठाउन लागेको नेपाली सेनाका प्रवक्ता पौडेल बताए। 'युएन मिसनमा सैनिक लान ल्याउनका लागि युएनले  दुईवटा तरिका अवलम्बन गर्दै आएको छ। लेटर अफ असिस्ट र युएन कन्ट्राक्टेड साइटमार्फत सैनिक लाने ल्याउने तरिका छ,' उनले भने, 'लेटर अफ असिस्ट अन्तर्गत युएनसँगको समन्वयमा आफैले जहाज व्यवस्थापन गरेर सैनिक पुर्‍याउने ल्याउने प्रावधान छ। हामीले निगमलाई पहिलो प्राथमिकतामा राखेका हौं।'

उनका अनुसार दक्षिण सुडान मिसनका लागि भदौ २१ गतेसम्मको चार्टर उडानमार्फत नेपाली सेनाबाट जम्मा सात सय सैनिक पठाइँदै छ।     
यस अघि असार ३१ गते सेनाले पहिलोपटक निगमको जहाजमार्फत माली र सेन्ट्रल अफ्रिका रिपब्लिकमा  मिसनका लागि दुई सय १३ सैनिक पठाइएको थियो। 

गत साउन २१ गते गरिएको मिसन चार्टर उडानमा भने सेनाको संख्या कम भएका कारण  हिमालय एयरलाइन्सको जहाजमार्फत इराक(युनामी) पठाएको थियो।