अमेरिका र चीनबीचको तनावका दृष्य: प्रतिबन्धका श्रृंखला यसरी चुलिँदै, ‘जस्तालाई त्यस्तै’ नीति

विधुर ढकाल/बिजमाण्डू
२०७७ साउन २७ गते १४:३६ | Aug 11, 2020

Tata
GBIME
Nepal Life

चीन र अमेरिकाबीच एकपछि अर्को गर्दै तनावपूर्ण अवस्था सिर्जना हुँदै गएको छ। कोभिड-१९ फैलिएसँगै एकअर्काबीचको यो तनाव शीत युद्धको चरणमा प्रवेश गर्दैछ।

कोभिड-१९ लाई अमेरिकाले चाइना भाइरस भन्दै आक्षेप लगाउँदै आयो। अहिले कोभिड-१९ सँगैसँगै अमेरिकाबीच आर्थिक-कुटनीतिक टकराव पनि चलिरहेको छ। अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ कन्सुलेट बन्द गरेपछि चीनले पनि छेन्दुमा रहेको कन्सुलेट बन्द गरायो।

अहिले अमेरिकाले चिनियाँ टेक कम्पनी वाइट डान्सको टिकटक र टेन्सेन्टको वीच्याटलाई अमेरिकामा प्रतिवन्ध लगाउने सम्बन्धी निर्देशन ट्रम्पले जारी गरेका छन्। ट्रम्पले टिकटकलाई अमेरिकी लगानीकर्तालाई बिक्री गर्न सेप्टेम्बर सम्मको समयसीमा तोकेका छन्। त्यसका लागि माइक्रोसफ्ट र ट्वीटरले छलफल अगाडि बढाएका छन्।

साउथ चाइना सीदेखि टिकटक, हङकङ हुँदै व्यापारका विषय, ताइवान लगायतका अधिकांश विषयमा अहिले अमेरिका र चीनबीच एक किसिमको 'शीत युद्ध' नै चल्दै आएको छ। अमेरिकी राष्ट्रपतीय चुनावको तीन महिना मात्र बाँकी रहँदा दुई देशबीच थप विवाद चर्किँदै गएको छ। जसको उदाहरण हो कन्सुलेट बन्द गर्नु।

'जस्तालाई त्यस्तै' को नीति दुवै देशले अख्तियारी गरिरहेका छन्।

यही सिलसिलामा ट्रम्पले ताइवानमा आफ्ना मन्त्री पठाएका छन्। जनवादी गणतन्त्र चीनलाई मुख्यभूमिको मान्यता दिँदै औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना गरेको अमेरिकाले त्यसयता ताइवानलाई स्वार्थको रुपमा प्रयोग गर्दै आएको छ। चीनको विशेष क्षेत्रको रुपमा रहँदै आएको ताइवानमा अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्री अलेक्स अजर पुगेका छन्।

ताइवानमा यो सन् १९७९ मा पछि भएको अमेरिकी उच्च भ्रमण हो। ताइवानमा अमेरिकी दूतावास छैन। त्यहाँ अध्ययन केन्द्रको रुपमा कुटनीतिक काम गर्दै आएको छ अमेरिकाले। ताइपेइ पुगेका अमेरिकी मन्त्री अजरले सोमवार भनेका छन्- 'यो भ्रमणले अमेरिका र ताइवानबीच गहिरो मित्रता र सुरक्षा, आर्थिक, स्वास्थ्य सेवा तथा प्राजातन्त्रिक खुला पारदर्शी मान्यताका क्षेत्रको साझेदारीलाई झल्काउँछ।' अजरको ताइवान भ्रमण दुई देशबीचको सम्बन्धमा 'ताज खिल'को रुपमा पोलिटिकोले विश्लेषण गरेको छ।

अमेरिकाको ताइवान नीतिप्रति बेइजिङले विरोध गर्दै आएको छ। यद्यपि, वासिङटनले यसलाई आफ्नो रणनीतिको रुपमा हेर्दै आएको छ।

दुई वर्षदेखि अमेरिका र चीनबीच चल्दै आएको 'कर युद्ध' समाधान भइसकेको छैन। चिनियाँ दुरसञ्चार जायन्ट हुवावेलाई प्रतिबन्ध लगाउनेदेखि चिनियाँ लगानीका संस्थामा अमेरिकाले प्रहार गर्दै आएको छ। पछिल्लो उदाहारण टिकटक र वीच्याट हुन्।

अमेरिकाले चीनको उत्तर पश्चिम सिनजियान क्षेत्रका मुस्लिम समुदायमाथि दमन गरेको तथा हङकङमा मानवअधिकार उल्लंघन गरेको अभियोग लगाउँदै चिनियाँ अधिकारी तथा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएको छ।

वासिङटनले हङकङलाई व्यापारमा दिँदै आएको सहुलियत कटौती गर्ने घोषण गरेको छ। यसलाई चीनले आन्तरिक राजनीतिमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाउँदै आएको छ।

अजरको यो भ्रमणलाई चीनको विदेश मन्त्रालयले एक चीन नीतिविरुद्ध भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानलेले सोमवारको नियमित पत्रकार सम्मेलनमा अमेरिकी कदमको भर्त्सना गरेका छन।

'चीनले निरन्तर रुपमा अमेरिका र ताइवानबीचको औपचारिक संवादको विरोध गर्दै आएको छ,' उनले भनेका छन्, 'म के स्पष्ट गराउन चाहन्छु भने चीन र अमेरिका सम्बन्धमा ताइवान महत्त्वपूर्ण र उच्च संवेदनशील प्रश्न हो। र, एक चीन नीति हाम्रो सम्बन्धको राजनीतिक आधार हो। अहिले अमेरिकाले आफ्नै प्रतिबद्धता उल्लंघन गरेको छ।'

चीनले अमेरिकालाई एक चीन नीतिको सम्मान गर्न तथा तीन वटा सहमतिहरु उल्लंघन गरेको आरोप छ। ती तीन सहमितमा 'ताइवानसँग औपचारिक संवाद नराख्ने, ताइवानसँगको सम्बन्धको प्रकृतिलाई नबदल्ने तथा ताइवान क्षेत्रमा शान्ति र स्थायित्वमा असर गर्ने कुनै पनि कदम नचाल्ने भन्ने छ। 

कुटनीतिक टकरावकाबीच अमेरिकाले ७ अगस्टमा चिनियाँ केन्द्र सरकार र हङकङ प्रशासनका ११ अधिकारीहरुलाई प्रतिबन्ध लगाएको छ। त्यसको प्रतिउत्तरमा चीनले पनि अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।

'अमेरिकाले हङकङको मामलामा चीनको आन्तरिक राजनीतिमा अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको न्युनतम मान्यतालाई समेत उल्लंघन गर्दै चालेको कदमको भत्सर्ना गर्छ,' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्।

अमेरकी कदमको प्रत्युत्तरमा चीनले अमेरिकी पाँच सिनेटरहरु दुई प्रतिनिधिहरु, नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी, नेशलन डेमोक्रेसी इन्स्टिच्यूट, इन्टरनेशनल रिपव्लिकन इन्स्टिच्यूटका अध्यक्षहरु, ह्युमन राइट वाचका कार्यकारी निर्देशक र फ्रिडम हाउसका अध्यक्षलाई पनि प्रतिबन्ध लगाएको छ।

'हङकङ चीनको अभिन्न अंग हो। यस सम्बन्धी मामिला चीनको आन्तरिक मामिला हो। हाम्रो आन्तरिक मामिलामा बाह्य हस्तक्षेप स्वीकार्य छैन,' अमेरिकी अधिकारीमाथिको प्रतिबन्ध घोषण गर्दै प्रवक्ता चाओले भनेका छन्, 'हामी अमेरिकालाई आफ्नो गल्ती सुधार गर्न आग्रह गर्छौं।'