कोरोना संक्रमण फैलिएपछि ‘वर्क फ्रम होम’ गर्न बैंकर्स संघको सुझाव, बैंकिङ समय घटाउन पनि भन्यो

बिजमाण्डू
२०७७ साउन २६ गते १४:०२ | Aug 10, 2020
कोरोना संक्रमण फैलिएपछि ‘वर्क फ्रम होम’ गर्न बैंकर्स संघको सुझाव, बैंकिङ समय घटाउन पनि भन्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमितहरुको संख्या निरन्तर बढ्न थालेपछि बैंकर्स संघले थोरैभन्दा थोरै कर्मचारीबाट सेवा उपलब्ध गराउन सदस्य बैंकहरुलाई सुझाव दिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थहरुलाई आधा कर्मचारीबाट सेवा सञ्चालन गर्न भनेपछि बैंकर्स संघले सदस्य बैंकरसँग सुझाव माग गरेको थियो। भाइबर ग्रुपबाट मागिएको सुझावमा बैंकरहरुले खासै प्रतिक्रिया दिएका छैनन्।

अपेक्षित संख्यामा प्रतिक्रिया नआएपछि बैंकर्स संघ आफैले सजगता कसरी अपनाउन सकिन्छ भनेर केही सुझावहरु सदस्य बैंकरलाई सिफारिस गरेको हो। 

संघले सकेसम्म 'वर्क फ्रम होम' को ब्यवस्था मिलाउन भनेको छ। उसले बैंकिङ सेवा समय कटौती गर्न पनि भनेको छ। उसले बैंकिङ समय बिहान १० बजेदेखि ३ बजेसम्म गर्न भनेको हो।

'हामीले सकेसम्म वर्क फ्रम होमको ब्यवस्था गर्दा राम्रो हुन्छ भनेका छौं,' संघका अध्यक्ष भुवन दहालले बिजमाण्डूसँग भने, 'बैंकिङ सेवा दिन समय पनि कटौती गरौं भनेका छौं। तर भिडभाड हुने अवस्था आएमा समय बढाएर सेवा दिन सकिन्छ पनि भनेका छौं।'

राष्ट्र बैंकले पनि सकिन्छ भने वर्क फ्रम होमको ब्यवस्था मिलाउन छुट दिएको छ। उसले आधा कर्मचारीबाट आलोपालो काम गराउन भनेको छ।

संघले नजिक-नजिक शाखा भए आज एउटा र भोलि अर्को खोलेर सेवा दिन सकिने सुझाव पनि दिएको छ। जस्तो तीनकुने र शान्तिनगरमा शाखा रहेछ भने आज तीनकुनेको खोलेर भोलि शान्तिनगरको खोल्न सकिने सुझाव संघले दिएको हो।

यदि आलोपालो गर्दा शाखामा भीड लाग्ने भए सबै शाखा खोलेर सेवा दिन पनि सुझाव दिएको छ। 'हाम्रो उद्देश्य भनेको भिडभाड नहोस् भन्ने हो,' दहालले भने, 'जे गर्दा भिडभाड कम हुन्छ त्यही गर्दा राम्रो हुन्छ।'

संघले केही महत्वपूर्ण विभागहरु छुट्टाछुट्टै राखेर सञ्चालन गर्न पनि भनेको छ। जस्तो सुचना प्रविधि, ट्रेजरी, ब्यापार जस्ता महत्वपूर्ण विभागहरु एकै ठाउँबाट नभइ कम्तिमा दुई ठाउँबाट सञ्चालन गर्न भनेको हो। 

संघले कर्मचारीलाई बाहिर खाजा वा खाना खान बन्द गराउन पनि सुझाव दिएको छ। कर्मचारीले घरैबाट खाजा वा खाना ल्याउने वा कार्यालयमै पकाएर खाने ब्यवस्था मिलाउन भनिएको हो। उसले बाहिर खाने वा क्यान्टिनको खाजा प्रयोग नगर्न पनि भनेको छ।

ग्राहकसँग आवश्यक भौतिक दूरी कायम गरी काम गर्न पनि भनिएको छ। 

पछिल्लो समय संक्रमण फैलिने क्रम निकै बढेको छ। एभरेष्ट बैंकका काठमाडौंस्थित दुई कर्मचारीलाई संक्रमण देखिएपछि मुख्य कार्यालय सिल गरिएको छ। अन्य केही बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाहरुमा सबै कर्मचारीको कोरोना परीक्षण भइरहेको छ। यसरी परीक्षण गर्दा केही बैंकका कर्मचारीमा संक्रमण फेला परेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले अहिले ब्याक स्टाफ काम घरैबाट गराइरहेको छ भने काउन्टर खोल्न र अति नै आवश्यक पर्ने कर्मचारी मात्र कार्यालयमा बोलाएको छ।

सदस्य बैंकरले संघको सुझाव आएपछि आवश्यक निर्णय गर्ने बताएका छन्। 

'संक्रमण फैलिन थालेको छ। यसले गर्दा हामी पनि अल्टरनेट दिन शाखा खोल्ने कि भनेर छलफलमा छौं,' प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, 'बैंकर्स संघले कस्तो निर्णय गर्छ त्यसै अनुसार अगाडि बढ्नु पर्ला।'

संघले प्रदेश वा स्थानीय तहमा रहेका शाखाहरु त्यहाँको सरकारको निर्णय अनुसार सञ्चालन गर्न भनिएको छ। साथै कर्मचारीहरु बीच पनि भौतिक दूरी कायम गरी काम गर्न भनिएको छ।