खोसाखोसका बावजुद नयाँ ऋणको माग पनि आउन थाल्यो, चाडपर्व नजिकिएपछि औद्योगिक माग आयो

बिजमाण्डू
२०७७ साउन २६ गते ०९:०३ | Aug 10, 2020
खोसाखोसका बावजुद नयाँ ऋणको माग पनि आउन थाल्यो, चाडपर्व नजिकिएपछि औद्योगिक माग आयो

Tata
GBIME
Nepal Life

 

काठमाडौं। लकडाउन खुकुलो भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा ऋणको माग बिस्तारै देखिन थालेको छ। लकडाउन गरिएयता निरन्तर घटेको ऋणको माग पछिल्लो समय केही बढ्न थालेको हो।

बैंकरका अनुसार, अत्यावश्यकबाहेकका वस्तु तथा सेवाका लागि समेत ऋणको माग हुन थालेको छ। बैंकहरुले ऋणको ब्याज घटाएर खुद्रा ऋणका स्किम ल्याएपछि सर्वसाधारण उपभोक्ताबाट पनि ऋणको माग हुन थालेको छ।

तर, ब्याज घट्दा विगतमा जुन खालको ऋणको माग थियो त्यो अनुपातमा भने अहिले छैन। 

'ऋणको माग बिस्तारै आउन थालेको छ। फ्याक्ट्रीहरु ४०/५० प्रतिशतको क्षमतामा चल्न शुरु गरेका छन्। यी राम्रा संकेतहरु हुन्,' कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बिजमाण्डूसँग भने।

अहिले आधार दर कम हुने कतिपय बैंकहरुले एक वर्षे मुद्दती निक्षेपकोभन्दा कम ब्याजमा ऋण दिइरहेका छन्। यस्तो ऋण विगतमा ठूला कर्पोरेटहरुले पाउँदै आएकोमा यसपाली सर्वसाधारणले समेत पाइरहेका छन्।

बैंकरका अनुसार, अहिले वीरगंज, विराटनगर र भैरहवा करिडोरबाट ऋणको माग भइरहेको छ। उपभोक्ताले सेयर धितोका साथै सामान्य रूपमा घर तथा गाडी ऋणका लागि इन्क्वाइरी गरिरहेका छन्। ऋण भने छिटपुट गइरहेको छ।

'आयात केही बिस्तार हुन थालेकाले अहिले प्रतीतपत्र (एलसी) खुल्ने क्रम बढेको छ,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'एलसीलाई ट्रस्ट रिसिट ऋणमा परिवर्तन गरिरहेका छौं। यसको अर्थ अहिले केही माग हुन  थालेको छ।'

पूर्ण लकडाउनका बेला बैंकको ऋण घटिरहेको थियो। अहिले नयाँ ऋण बिस्तारभन्दा खोसाखोस भने अति नै बढिरहेको छ। एउटा बैंकबाट अर्को बैंकमा ऋण सार्दा ०.१५ प्रतिशतभन्दा बढी शुल्क उठाउन नपाइने ब्यवस्थाका कारण ऋण खोसाखोस बढेको हो।

केही बैंकले अर्को बैंकबाट ऋण ल्याउनका लागि 'स्वापिङ स्किम' समेत ल्याएका छन्। खासगरी निजी क्षेत्रको नबिल र सरकारी नेपाल बैंकले यस्तो स्किम ल्याएका हुन्।

ऋण खोसाखोसको बावजुद उद्योगहरुले चाडपर्व लक्षित वस्तु उत्पादनका लागि ऋणको माग गरेका छन्। यस्ता उद्योगहरुले आधार दरमै ऋण पाइरहेका छन्।

'पैसा थुप्रिएको छ। आइडल फण्डलाई परिचालन गर्नका लागि पनि आधार दरमा ऋण दिनु पर्ने बाध्यता आएको छ,' शाहले भने, 'तर माग बढ्न थालेपछि ब्याज दरमा पनि सुधार आउनेछ।'

लकडाउनका बेला अत्यावश्यक खाद्यान्न, स्वास्थ्य सामग्रीका लागि मात्र एलसी खुलिरहेको थियो। अहिले सिमेन्ट, डन्डी, अन्य औद्योगिक कच्चा पदार्थको पनि एलसी खुल्न थालेको छ। गाडीको माग नभएकाले त्यो ऋण भने बिस्तार हुन सकेको छैन।

गाडीको माग बढाउन बिक्रेता र बैंकर मिलेर विभिन्न स्किम ल्याउन थालेका छन्। यसले गाडी कर्जाको माग नबढाए पनि इन्क्वाइरी भने बढ्न थालेको छ। बैंकरका अनुसार, ब्याज दरमा ऋणीले प्रत्याभूति खोजेकाले भदौ लागेपछि गाडी ऋणको पनि माग आउने छ।