सीमा सिलबन्दी हुँदा पनि सुन तस्करी जारी, साढे २३ लाख बराबरको सुनसहित तस्कर पक्राउ

बिजमाण्डू
२०७७ साउन २५ गते १५:४३ | Aug 9, 2020

Tata
GBIME
Nepal Life

विराटनगर। कोरोना कहरका कारण नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सिमाना सिल गरिए पनि सुन तस्करी भने कायमै रहेको छ ।

नेपालबाट भारततर्फ लैजान लागिएको साढे २३ लाख रुपैयाँ बराबरको सुन सशस्त्र प्रहरीले शनिबार पक्राउ गरेपछि सुन तस्करी यथावत् रहेको पत्ता लागेको हो ।

व्यवसायीहरूका अनुसार नेपालमा भन्दा भारतमा सुन प्रति तोला १५ सय रुपैयाँले बढी छ । सशस्त्र प्रहरी कार्यालय मोरङका सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार विराटनगरको दरैया वस्तीनेर रहेको अन्तर्राष्ट्रिय सिमानाबाट साइकलमा एक व्यक्ति भारततर्फ गइरहेका बेला सशस्त्रको गस्तीले उनलाई पक्राउ गरेको थियो । 

विराटनगर वडा नम्बर १७ बस्ने श्यामल सेन गुप्ता नाम व्यक्तिको शरीर खानतलासी गर्दा २ सय ६७ ग्राम २ सय २० मिलिग्राम सुन फेला परेको हो । पक्राउ परेका गुप्ता भरिया मात्र हुनसक्ने सशस्त्रले अनुमान गरेको छ ।

उनीबाट ५ हजार रुपैयाँ र एक थान मोबाइल सेट पनि बरामद गरिएको छ ।  सशस्त्र प्रहरी उपरीक्षक पौडेलका अनुसार पक्राउ परेको सुनसहित गुप्तालाई विराटनगर भन्सारमा बुझाइएको छ ।