कोरोना संक्रमित बढेपछि हवाई उडान अन्योलमा, टिकट बुकिङ गरेका यात्रुको के हुन्छ?

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ साउन २५ गते १६:३१ | Aug 9, 2020
कोरोना संक्रमित बढेपछि हवाई उडान अन्योलमा,  टिकट बुकिङ गरेका यात्रुको के हुन्छ?


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले उडान सञ्चालन गर्न दिने मिति तोके पनि हवाई सेवा क्षेत्रमा फेरि अन्योल बढेको छ। लामो लकडाउनपछि सरकारले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको थियो।

त्यहीअनुसार तयारीमा रहेका कम्पनीहरू लगातार बढेको कोरोना संक्रमितको संख्या र बिभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्नु परेको अवस्थाले अन्योलमा परेका हो। यद्यपि सरकारले पूर्वनिर्धारित मितिबारे नयाँ निर्णय गरिसकेको छैन।

सरकारको निर्णय अनुसार साउन १५ देखि होटल खुला गरेर यतिखेर स्वास्थ्य सुरक्षा अभ्यासमा खटिए पनि व्यवसायीहरुले हवाई उडान सुरू नभएसम्म 'पर्ख र हेर' को अवस्थामा रहेको जनाएका छन्। 'स्वास्थ्य सुरक्षाका उपाय  अवलम्बन गर्दै होटल चलाउन हामी तयार छौं,' होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने, 'त्यसैले अहिले देशभरिका होटलहरुमा कर्मचारीलाई तालिम दिने, सरसफाई र मर्मतसम्भार गर्ने काम भइरहेको छ। तर फेरि संक्रमण बढेको अवस्थाले चिन्ता बढाएको छ।' 

कोरोना संक्रमणको अवस्था महिनौं लम्बिने स्थितिमा मानिसहरूको आवागमन र यातायात प्रभावित रहँदा व्यवसाय चलाउन नसकिने देखिएको उनले बताए। आन्तरिक उडान गर्दै आएका बुद्ध, यति, श्री, सीता र सिम्रिक लगायत निजी वायुसेवा कम्पनीले सरकारको निर्णय भए लगत्तै टिकट बुकिङ सुरु गरिसकेका छन्।

स्वास्थ्य सुरक्षा अवलम्बन तयारी पूरा गरिसकेका कम्पनीले भदौ १ बाट सुरु गर्ने भनिएका उडानका लागि विशेष भाडादर पनि सार्वजनिक गरिसकेका छन्।

स्वास्थ्य सुरक्षा निर्देशिका अनुसार उडान सुचारु गराउनुपर्ने बताउँदै वायुसेवा संचालक संघ (आओन)का एक सदस्यले भने, 'वायुसेवा कम्पनी, यात्रु र उड्डयन क्षेत्रका कर्मचारीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सेफ्टी प्रोटोकल तयार पारिसकेका छौं। कम्पनीहरुले आन्तरिकतर्फका विभिन्न गन्तब्य उडानका लागि कर्मचारीलाई तालिम दिई तयार गरिसकेका छन्।' सरकारको पछिल्लो निर्णय अनुसार नियमित उडानको टुंगो लाग्ने उनले बताए।

सरकारले निर्णय फिर्ता लिएको अवस्था आएर उडान स्थगित भएको अवस्थामा बुकिङ गरिएका टिकट रिफण्ड हुने वायुसेवा कम्पनीले जनाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै आंशिक रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गराउने निर्णयमा हालसम्म फेरबदल नभएको जनाएको छ।  

'आन्तरिक र अन्तर्राष्ट्रिय नियमित उडानमार्फत यात्रुलाई आउजाउको लागि सहज यातायातको सुविधा दिने उद्देश्यले आंशिक रुपमा उडान खोल्न आवश्यक देखिन्छ। यसमा हाम्रो मात्र रायले हुँदैन, स्वास्थ्य र गृह मन्त्रालयको राय पनि मिल्नु आवश्यक छ। स्वास्थ्य सुरक्षा नै ठूलो कुरो हो। भोलिको क्याबिनेट निर्णयको प्रतीक्षामा छौँ,'  मन्त्रालयका एक उच्च अधिकारीले भने।

हाल बढ्दै गएको कोभिड-१९ संक्रमणलाई मध्यनजर गर्दै सरकारले एक साताको अवस्था हेरेर उडानको निधो गर्न सक्ने उनले बताए। 
'परिस्थिति नै यस्तो आइदिएको छ। यो एक साता हेरेर उडानको टुंगो लगाइने छलफल पनि भइरहेको छ,' उनले भने। नागरिक उड्डयन प्राधिकरणले  उडान सुरु भएको पहिलो सातामा आन्तरिकतर्फ ३३ प्रतिशत उडान गरिने जनाएको छ। अन्तर्राष्ट्रियतर्फ दैनिक दुईवटा नियमित उडान गर्न दिने तयारी छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरेर सिजनमा ४ सय ५० र अफसिजनमा ३ सय  ५० उडान-अवतरण हुँदै आएको छ। लकडाउन अगाडिसम्म मुलुकमा ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र आन्तरिकतर्फ आधा दर्जन फिक्स विङ र १० वटा रोटरविङ कम्पनीले नियमित उडान अवतरण गर्दै आएका थिए।