यूरोपका सबैभन्दा धनाढ्यलाई पछि पार्दै मुकेश अम्बानी बने विश्वका चौथो धनी,  इ-कमर्समा केन्द्रित

बिजमाण्डू
२०७७ साउन २५ गते १०:११ | Aug 9, 2020

Tata
GBIME
Nepal Life

यूरोपका सबैभन्दा धनाढ्यलाई पाखा लगाउँदै भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वकै चौथो धनी बनेका छन्। ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार मुकेशको कुल सम्पत्ति ८०.६ अर्ब डलर पुगेको छ।

सन् २०२० मा मात्रै उनको सम्पत्तिमा २२अर्ब डलरको वृद्धि भएको छ।

उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि छाड्दै चौथो स्थान हात पारेका हुन्। लुई भुटो ब्राण्डका मालिक अर्नाल्ट यो वर्षकै सबैभन्दा धेरै गुमाउने धनाढ्य पनि हुन्। उनको कुल सम्पत्तिमा सन् २०२० मा मात्रै २५.१ डलरको कमी आएको छ। अहिले उनको सम्पत्ति ८०.२ अर्ब डलर छ।

हाइ इन्ड फेसन ब्राण्डको बिक्रीलाई कोभिड महामारीले प्रभावित बनाएसँगै अर्नाल्डको कम्पनी हाल समस्यामा परेको छ।

मुकेशले केही समयअघि मात्र धेरै धनाढ्यहरुलाई पछि पार्दै सूचीमा अग्रता हासिल गर्दै आएका थिए। उनले एलन मस्क, बारेन बफेट, सर्गेई ब्रिन तथा ल्यारी पेजलाई जितेर अघि आएका थिए।

सूचीमा अमेजनका मालिक जेफ बेजोसको धनाढ्यको पहिलो नम्बरमा छन्। उनको कुल सम्पत्ति १८७ अर्ब डलर छ। सन् २०२० मा उनको सम्पत्तिमा ७२.१ अरब डलरले वृद्धि भएको छ।

 दोस्रो नम्बरमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स छन्। उनको सम्पत्ति १२१ अर्ब डलर छ। यो वर्ष उनको सम्पत्तिमा ७.५ अर्ब डलरले वृद्धि भएको छ।

तेस्रो नम्बरमा फेसबुकका मार्क जुकरबर्ग छन्। उनको कुल सम्पत्ति १०२ अर्ब डलर छ। यो वर्षमात्रै उनको सम्पत्तिमा २३ अर्ब डलरले वृद्धि भएको छ।

मार्क जुकरबर्ग पहिलो पटक १०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन्।

चौथो मुकेश अम्बानी भएका छन् भने पाँचौ नम्बरमा बर्नार्ड अर्नाल्टको परिवार रहेको छ।

 कोरोना महामारीका कारण तेलको माग घटे पनि मुकेशको रिलायन्स समूहलाई प्रभावित बनाएको थियो। तर कम्पनीको सेयरमा भने दोब्बर उछाल आइसकेको छ। समूहको दूरसंचार कम्पनी जियोमा अर्बौ डलरको लगानी आएपछि रिलायन्स समूहलाई धेरै नै फाइदा भएको हो।

केही समयअघि जियोमा गुगल तथा फेसबुकले धेरै नै ठूलो लगानी गरको छ। अम्बानीले बिस्तारै आफ्नो ध्यान इ-कमर्सतिर लगाएका छन् । उनले भारतमा बढिरहको डिजिटल कारोबारको बजार कब्जा गर्ने हिसाबले काम गरिरहेका छन्।

विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भएकाले पनि डिजिटल प्रविधिमा मुकेशले आफ्नो कम्पनीको तीव्र बिस्तार चाहेका हुन्।