लिलामीमा चढ्न लागेको गेलुन खोलामा अर्को विपत्ति: स्थानीयले प्रसारणलाइनको पोल ढालिदिए

बिजमाण्डू
२०७७ साउन २३ गते ११:०२ | Aug 7, 2020


काठमाडौं। लकडाउनअघि नै लिलामीमा चढ्न लागेको गेलुन खोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई अर्को विपत् आइलागेको छ। 

Tata
GBIME
Nepal Life

स्थानीय बासिन्दाले प्रसारणलाइनको पोलहरु ढालिदिएका छन्। परियोजना प्रमुख रामकुमार राइले प्रसारणलाइनमा बिजुली जोडिने बेलामा पोल ढलाइएको बताए।

सात वर्षपछि निर्माण सम्पन्न भएको उक्त परियोजनाको क्षमता ३.२ मेगावाट छ। परियोजनामा स्थानीयले ठूलो क्षति पुर्‍याएको परियोजनाले दाबी गरेको छ। स्थानीयले अनुचित माग राखेकाले पूरा गर्न नसकिएको राईले बताए। 

लकडाउनअघि ऋण तिर्न नसकेको भन्दै बैंकले कम्पनीलाई लिलामीमा चढाउने चेतावनी दिएको थियो। सञ्चालकहरुले डेढ वर्षदेखि बैंकको ब्याज तिर्न नसकेपछि बैंकले ३५ दिन सार्वजनिक सूचना जारी गरेर पैसा तिर्ने अन्तिम समय दिएको थियो।

लगत्तै लकडाउन भएपछि पैसा उठाउने प्रक्रिया अवरुद्ध भएको एनएमबि बैंकका प्रमुख कार्यकारी सुनिल केसीले जानकारी दिए।

परियोजनाका लागि सात वर्षअघि ऋण लगानी भएको थियो। सुरुमा ३४ करोड लगानी गरिए पनि पछि थप्दै ५१ करोड पुगेको छ। परियोजनामा एनएमबि बैंकको नेतृत्वमा अन्य दुई वित्तीय संस्थाले ऋण लगानी गरेका छन्। परियोजनामा ग्लोबल आइएमइ बैंक (साबिकको सिद्धार्थ डेभलपमेन्ट बैंक) र लुम्बिनी विकास बैंक (साबिकको भिवोर सोसाइटी डेभलपमेन्ट बैंक) ले ऋण दिएका छन्।

कम्पनीले एक वर्षअघि नै ९० प्रतिशत काम सकिएको जनाएको थियो। यो वर्ष परियोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिइसक्नुपर्ने थियो। यसैबीच स्थानीयले पोल ढालिदिएको कम्पनी पक्षको दाबी छ।

बैंकका अनुसार, अझै पनि परियोजनाको काम सकिएको छैन। परियोजना र स्थानीयबीच पनि विवाद छ। परियोजनाले ६/७ वटा पोल गाड्न बाँकी छ। यसमा स्थानीयले अवरोध गरिरहेका छन्। 

कम्पनीले सर्वसाधारणलाई सेयर बिक्रीका लागि प्रक्रिया पनि अगाडि बढाएको थियो। उसले धितोपत्र बोर्डमा प्रभावित र सर्वसाधारणलाई सेयर जारी गर्ने स्वीकृति माग गरेको थियो।

कम्पनीको सञ्चालकमा चुर्णप्रसाद श्रेष्ठ, इन्द्रप्रसाद शर्मा न्यौपाने, अशोकप्रसाद जोन्छे, सञ्जयकुमार शाह, दलबहादुर विष्ट, दावा फिन्जो लामा भोटे र रवीन्द्रकुमार श्रेष्ठ छन्।