एनआईसी एशिया बैंक र सिजी मोटोकर्पबीच सम्झौता, गाडी किन्न बैंकले कर्जामा सघाउने  

बिजमाण्डू
२०७७ साउन २३ गते १०:०६ | Aug 7, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंक र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्प प्रालिबीच बैंकलाई वित्तीय साझेदारीका लागि समझदारी भएको छ ।

समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कम्पनीका महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरेका छन्।

उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्प प्रालिले  बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्प प्रालिका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ।

सुजुकी ब्राण्डका सवारी किन्दा बैंकको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधाहरू सहितको कर्जा उपलब्ध गराउने जनाइएको छ।

यो सुविधा रातो प्लेटका निजी तथा व्यावसायिक प्रयोजनको लागि सवारी किन्न चाहनेहरुका लागि भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

बैंकले चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको पनि जानकारी दिएको छ।

सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ।

बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र सिजी मोटोकर्प प्रालिबीच भएको विज्ञप्तिमा छ।

यो सुविधा सिजी मोटोकर्प प्रालिका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट लिन सकिने समझदारीपत्रमा उल्लेख छ। यससँगै सवारी धितो राखेमा ८ वर्षसम्म र सवारी तथा रियल इस्टेट दुवै धितो राखेमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।