कलंकी मालपोतबाट हुने घरजग्गा किनबेच अब स्थानीय तहबाटै, चारवटै पालिकामा भू-सेवा केन्द्र सुरु

बिजमाण्डू
२०७७ साउन २२ गते १६:५० | Aug 6, 2020
कलंकी मालपोतबाट हुने घरजग्गा किनबेच अब स्थानीय तहबाटै, चारवटै पालिकामा भू-सेवा केन्द्र सुरु


काठमाडौं। कलंकी मालपोत कार्यालयबाट हुने घरजग्गा किनबेच अब स्थानीय तहबाटै हुने भएको छ। कलंकी मालपोत कार्यालयको क्षेत्रभित्र पर्ने दक्षिणकाली, नागर्जुन, कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाले भू-सेवा केन्द्र सुरु गरेसँगै अब आ-आफ्नै स्थानीय तहबाट जग्गा किनबेचको प्रक्रिया सुरु गर्न सकिने भएको हो।

Tata
GBIME
Nepal Life

मालपोत कार्यालय कलंकीले साउन १८ गते दक्षिणकाली, १९ गते नागार्जुन, २१ गते कीर्तिपुर र २२ गते चन्द्रागिरी नगरपालिकालाई भू-सेवा केन्द्र हस्तान्तरण गरेको मालपोत कार्यालय कलंकीका प्रमुख मालपोत अधिकृत टेकराज अर्यालले जानकारी दिए।

यस्तै, काभ्रेका १३ वटा स्थानीय तहले पनि भदौ १ गते देखि भू-सेवा केन्द्र सुरु गर्ने मालपोत कार्यालय काभ्रेका कम्प्युटर अपरेटर राम भक्त हुमागाईले जानकारी दिए ।

अब जग्गा किनबेच गर्न सम्बन्धित स्थानीय तहमा गएर किन्ने र बेच्ने मानिसले भू-सेवा केन्द्रमार्फत लिखत तयार पार्नुपर्ने छ। फोटो खिच्ने, सिफारिस पत्र, औठा छाप लगाउने सबै काम स्थानीय तहका भूसेवा केन्द्रबाटै हुनेछन्।

स्थानीय तहले लिखत तयार पारेपछि सेवाग्राहीलाई एउटा कोड नम्बर दिनेछन्। उक्त कोड नम्बर लिएर सेवाग्राही मालपोत कार्यालयमा गएपछि मालपोत अधिकृतले किन्ने र बेच्ने व्यक्तिको पहिचान गरेर लिखत प्रमाणिकरण गरिदिने छन्। त्यसपछि सेवाग्राहीले राजस्व तिरेर लालपूर्जा लिन सक्नेछन्।

मालपोत ऐन २०३४ अनुसार लिखतमा हस्ताक्षर गर्ने अधिकार मालपोत अधिकृतलाई मात्रै छ। स्थानीय तहले जग्गा प्रशासन शाखा स्थापना गरेपछि राजस्व तिर्ने र लालपूर्जा लिने काम पनि स्थानीय तहबाटै हुने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

मालपोत ऐन संसोधन भएपछि भने लिखतमा हस्ताक्षर गर्ने अधिकार स्थानीय तहको अधिकृतलाई नै हुने भएकाले मालपोत कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने पौडेल बताउँछन्। 

सरकारले चालु आर्थिक वर्षमा ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने योजना बनाएको छ। उक्त योजनालाई साकार पार्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले साउन ६ गतेदेखि स्थानीय तहका कर्मचारीलाई जग्गा प्रशासनसम्बन्धी तालिम दिन सुरु गरेको थियो। तालिम दिन सुरु गरेको १२ दिनमै स्थानीय तहमा भूसेवा केन्द्र हस्तान्तरण गरिएको हो।

विभागले उपत्यकासहित बाहिरका काभ्रेपलाञ्चोक, स्याङ्जा लगायतका जिल्लामा पनि स्थानीय तहका कर्मचारीलाई तालिम दिइसकेको छ।

विभागमा सूचना प्रविधिमा कर्मचारीको संख्या थोरै भएकाले साउन २३ गते देखि उपत्यकामा उपलब्ध मालपोत कार्यालयका कर्मचारीलाई तालिम दिने र उनिहरुलेनै सम्बन्धित स्थानीय तहका कर्मचारीलाई तालिम दिने विभागका कम्प्युटर अधिकृत बलराम काफ्लेले जानकारी दिए।

उपत्यकाबाट तालिम लिने कर्मचारीलाई प्रदेशमा गएर तालिम दिन लगाउने विभागको योजना छ।  प्रदेशमा पहिला तालिम लिने कर्मचारीले प्रदेशका अरु मालपोत कर्मचारीलाई तालिम दिने तयारी गरिएको छ। स्थानीय तहका कर्मचारीलाई भने सम्बन्धित मालपोत कार्यालयका कर्मचारीलेनै तालिम दिने काफ्लेले बताए।