मालपोत कार्यालयमा होटलजत्तिकै भीआईपी बेड रुम र मिटिङ हल, कार्यक्रम गर्न होटल धाउन नपर्ने

बिजमाण्डू
२०७७ साउन २२ गते १४:१३ | Aug 6, 2020
मालपोत कार्यालयमा होटलजत्तिकै भीआईपी बेड रुम र मिटिङ हल, कार्यक्रम गर्न होटल धाउन नपर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। मालपोत कार्यालयमा होटल सरहको बेड रुम छ भन्दा सायदै विश्वास लाग्ला। तर यो वास्तविकता हो।

प्रदेश नम्बर १ अन्तर्गत नमुना मालपोत कार्यालयको रुपमा परिचित पाँचथर मालपोत कार्यालयमा सरकारी उच्च पदस्थ कर्मचारीहरुको बास व्यबस्थापनका लागि त्यहाँका स्थानीय ठूला होटलका कोठाभन्दा राम्रो भीआईपी शयन कक्ष (बेड रुम) र मिटिङ हल निर्माण गरिएको छ।

दुई रोपनी क्षेत्रफलमा फैलिएको कार्यालय परिसरमा तीनतले कार्यालय भवन छ। पहिलो र दोस्रो तलामा मालपोत कार्यालय भएपनि तेस्रो तला खाली थियो। त्यसैलाई फिदिम नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेपछि सुविधा सम्पन्न होटल जस्तै गरी सिंगारिएको छ। 

मालपोत कार्यालय पाँचथरका प्रमुख मालपोत अधिकृत बाबुराम पोखरेल उच्च पदस्थ सरकारी कर्मचारी वा विभागीय मन्त्रीहरु आउँदा बस्न मिल्नेगरी मिटिङ हल र शयन कक्ष निर्माण गरिएको बताउँछन्।

‘भीआईपीहरु आउँदा उनीहरुसँगै पीएसओहरु पनि आउँछन्। उनीहरुका लागि पनि तीनवटा बेडको व्यवस्थापन गरेका छौं‌,' पोखरेलले भने, ‘मन्त्रीज्यूहरु आउँदा उहाँहरुको भेटघाट गर्ने कार्यक्रम पनि हुन्छ। त्यसका लागि प्रोजेक्टरबाट प्रस्तुति दिन सकिने गरी मिटिङ हल पनि बनाएका छौं।'

कसरी आयो कन्सेप्ट?
एकपटक विभागीय मन्त्री पाँचथर आउँदा होटलमा कार्यकर्ताको अनावश्यक भीड भएको र चर्को बिल आएपछि त्यतिबेलै मालपोत कार्यालयमै स्तरीय शयन कक्ष बनाउने सोच आएको पोखरेल बताउँछन्। 

नगरपालिकामा प्रस्ताव लगेपछि उसको सहयोगमा एसी जडान गर्नुका साथै चारवटा बेड र अट्याच्ड बाथरुम बनाइएको छ। सोफा, कुर्सी, टेबल र कार्पेटहरु पनि राखिएको छ।

भीआईपीहरु आउने जाने भइरह्यो भने सधैंभरी कार्यालयको सरसफाई राम्रो हुने र कर्मचारी सेवा प्रवाहमा पनि चनाखो भइरहने पोखरेलको विश्वास छ। नमुना कार्यालय बनाइएको पाँचथरलाई छिट्टै पेपरलेस कार्यालय बनाउने उनको योजना छ।

'पाथीभरा दर्शनका लागि जाँदा हाम्रो कार्यालय बाटोमा पर्छ। भूमि व्यवस्थापनबाहेक अन्य कार्यालयबाट पनि भीआईपी पाहुनाहरु यो कार्यालयको कक्षमा बास बस्न सक्नेछन्।'- उनले भने।  त्यसका लागि प्रमुख जिल्ला अधिकारी र फिदिम नगरपालिकाबाट अनुमति भने लिनुपर्ने छ।

कोरोनाको प्रभाव कम भएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलमार्फत उक्त भीआईपी कक्ष उद्घाटन गर्ने योजना छ।