तरकारीको भाउ धेरै बढेपछि वाणिज्य विभागले अनुगमन थाल्यो, कालीमाटीका २ पसल कारवाहीमा

बिजमाण्डू
२०७७ साउन १९ गते १५:०० | Aug 3, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । वाणिज्य विभागले कालीमाटी तथा कुलेश्वर क्षेत्रमा अनुगमन तीव्र बनाएको छ।  तरकारीमा अस्वभाविक रूपमा मूल्य बढाइएको गुनासो आएपछि विभागले कालीमाटीस्थित तरकारी बजारमा अनुगमन थालेको हो।

विभागले कालीमाटी तरकारी तथा फलफूल बजारभित्र मूल्यसूची नराखी तरकारी बिक्री गर्ने दुई तरकारी पसललाई जनही पाँच/पाँच हजार रूपैयाँ जरिवानासमेत गराएको जानकारी दिएको छ ।

मनोमानी मूल्यमा तरकारी बिक्री गरेको पाइएपछि ती पसललाई कारबाही गरिएको विभागले जनाएको छ। यस्तै व्यावसायिक आचरण पालना नगरेको भन्दै अन्य दुई पसललाई समेत विभागले सचेत गराएको छ।

यसैगरी चिनीको अभाव हुन थालेको सूचनापछि विभागले कुलेश्वरस्थित खाद्य गोदाममा पनि अनुगमन थालेको जनाएको छ। यसै क्रममा विभागले दुई वटा खाद्य गोदाम सिल समेत गरेको छ।

अनुगमनका क्रममा कालीमाटीको एएसएस मार्केटिङ र अर्को एक खाद्य भण्डारमा चिनीको  शंकास्पद स्टक भेटिएपछि विभागले सिल गरेको जनाएको छ।