लकडाउन हट्दा डिजेलभन्दा पेट्रोलको खपत वृद्धि, गत वर्षभन्दा घट्यो आयात, ग्यासको खपत भने बढ्यो

सरला सुवेदी/बिजमाण्डू
२०७७ साउन ११ गते १३:३८ | Jul 26, 2020
लकडाउन हट्दा डिजेलभन्दा पेट्रोलको खपत वृद्धि, गत वर्षभन्दा घट्यो आयात, ग्यासको खपत भने बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउन हटे पनि सार्वजनिक यातायातका सबै सवारी सडकमा आइनसकेकाले  उपत्यकामा पेट्रोलको खपत बढेको छ। सार्वजनिक यातायात कम चल्नु र तुलनात्मकरूपमा निजी सवारी प्रयोगकर्ता बढेपछि पेट्रोलको बिक्रीमा चाप परेको हो।

लकडाउन खुकुलो पारिएयता थानकोट डिपोबाट गत बिहीबार पेट्रोल पम्पहरूले ४१७ केएल पेट्रोल र ३२५ केएल डिजेल उठाएको नेपाल आयल निगमले जनाएको छ। साउन लागेपछि मात्रै करिब ११ हजार केएल पेट्रोल र १८ हजार केएल डिजेल खपत भइसकेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। यसमध्ये हवाई इन्धन ५ सय ६८ केएल खपत भएको छ।

लकडाउन अघिको अवस्थाभन्दा यतिबेला काठमाडौंमा पेट्रोलको खपत ७० प्रतिशत खपत हुन थालेको छ। सामान्य अवस्थामा थानकोटबाट दैनिक पेट्रोलियम पदार्थ बिक्रेताहरूले ९०० केएलसम्म पेट्रोल-डिजेल लैजाने गरेका थिए। 'जोरबिजोर लगाएर सरकारले गाडी चलाउन दिएपछि पेट्रोलियम पदार्थको बिक्री हुन थाले पनि परिमाण बढेको थिएन,' प्रवक्ता उपाध्यायले भने, 'जोरबिजोर हटेपछि काठमाडौंमा पेट्रोलको बिक्री बढेको छ।'

सार्वजनिक यातायात सञ्चालनमा आउन भएको ढिलाइको प्रभाव डिजलको बिक्रीमा परेको छ। सरकारले अझै पनि सार्वजनिक यातायातलाई एउटा जिल्लाबाट अर्कोमा चलाउन दिइसकेको छैन। काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी चलाउन दिइए पनि बाहिर अरू जिल्ला आउजाउ गर्न पाइँदैन। गर्नै परे आवश्यकता बताएर जिल्ला प्रशासनको अनुमति अनिवार्य चाहिन्छ। यसको प्रभाव इन्धनको बिक्रीमा परेको छ।

लकडाउनको अवधिमा व्यवसायिक हवाई उडान बन्द रहे। उद्धार उडान भइरहे पनि निगमको अनुमानअनुसारको सवाइ इन्धन खपत भएन। सरकारले अझै हवाई उडान सञ्चालन गर्न दिएको छैन। आगामी भदौ १ बाट हवाई उडान चल्न थालेपछि भने इन्धन बिक्री बढ्ने निगमले जनाएको छ।

कोरोना संक्रमितको संख्या लगातार बढ्दा वीरगंज र राजविराजमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले छोटो दुरीका पनि सवारी चल्न पाएका छैनन्। 'लकडाउनमा पूरै घटेको बिक्री अब देशभर सार्वजनिक यातायात सहज भएपछिमात्रै कभर हुन्छ,' प्रवक्ता उपाध्यायले भने, 'अरू वर्ष पनि साउनमा तुलनात्मकरूपमा बिक्री घट्थ्यो।'

लकडाउनको अवधिमा दैनिक करिब ४०० केएल बराबरको डिजेल र पेट्रोल खपत हुँदै आएको तथ्यांक रहेको उनले बताए। 'अतिआवश्यक बाहेकका गाडी चल्न नपाउँदा बिक्री हुन नसकेर हामीसँग स्टक बढ्दै थियो,' उनले भने।  

निर्माण व्यवसायमा तथा कृषिमा डिजेल प्रयोग हुन्छ। लकडाउनमा ती क्षेत्र पनि प्रभावित हुनुको असर निगमको डिजल बिक्रीमा परेको थियो। लकडाउन खुकुलो भएयता उपत्यकामा सार्वजनिक यातायतका तुलनामा निजी सवारीको प्रयोग बढ्दा पेट्रोलको खपत बढेको देखिएको छ। गत बुधबारदेखि सार्वजनिक यातायातका सवारी साधन चल्न थालेको भए पनि लकडाउन अघि जस्तो संख्यामा बस, मिनी बस र माइक्रोबसहरू निस्कन थालिसकेका छैनन्।

कोरोना संक्रमणबाट जोगिन सामाजिक दुरीसहित सुरक्षित तरिकाले यात्रा गर्नुपर्ने भएकाले सार्वजनिक यातायात प्रयोगकर्ता बढेका छैनन्। त्यसैको असर सार्वजनिक यातायातमा परेको हो। सर्वसाधारणले सहज तरिकाले सार्वजनिक यातायात प्रयोग गर्न थालेमात्रै सडकमा छोटो दुरीका सवारीको संख्या बढ्छ। त्यसपछि मात्रै डिजलको बिक्री बढ्ने अनुमान निगमको छ।

घट्यो पेट्रोल-डिजल आयात

आर्थिक वर्ष २०७५/७६ मा आयल निगमले ५ लाख ६६ हजार ८ सय २७ केएल पेट्रोल र १७ लाख १४ हजार ९ सय ५ केएल डिजल आयात गरेको थियो। त्यसमा पेट्रोल ५ लाख ६२ हजार ८ सय ६६ केएल र डिजल १७ लाख २ हजार १ सय ५७ केएलको खपत भएको थियो।

आव २०७६/७७ मा लकडाउनले निगमको आयात र बिक्री प्रभावित भएको छ। ०७६/७७ मा पेट्रोल ५ लाख ७ हजार ५ सय ६६ केएल र डिजलको १४ लाख ५४ हजार २ सय ९२ केएल आयात भएको छ। बिक्री भने पेट्रोल ५ लाख ३ हजार ८ सय ५१ केएल र १४ लाख ३८ हजार ८ सय ७१ केएल बिक्री भएको तथ्यांक छ।

गत चैतदेखि असारसम्मको खपतको परिमाण हेर्दा असारमा पेट्रोलको आयातभन्दा बिक्री बढी बढेको छ। उक्त महिना ३५ हजार ८ सय ९२  केएल पेट्रोल आयात र ३६ हजार ७ सय २२ केएल बिक्री भएको प्रवक्ता उपाध्यायले बताए।

खाना पकाउने ग्यासको खपत आयातको अनुपात अनुसार नै छ। पोहोरका तुलनामा यो वर्ष ग्यासको आयात र बिक्री दुवै बढेको छ। आव २०७५/७६ मा ४ लाख २९ हजार ६ सय ९ टन ग्यास आयात भएको थियो। आव २०७६/७७ मा आयात परिमाण बढेर ४ लाख ४४ हजार ३ सय ७४ मेट्रिक टन ग्यास भित्रिएको छ।

लगातारको वर्षा र बाढीपहिरोले नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गमा आवागमन अवरुद्ध हुँदा निगमको २ सय केएल पेट्रोल र डिजेल बोकेक ट्यांकर बाटैमा छन्। लकडाउन खुलेको भए पनि खपत ह्वात्तै नबढेकाले तत्काल बजारमा पेट्रोलियम पदार्थको माग धान्न समस्या नपर्ने अवस्था छ।