नेपालका उद्योगसँग चिनीको मौज्दात सकियो, विराटनगर नाकाबाट आयातको तयारी


विराटनगर। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सुविधामा चिनी आयात गर्न अनुमति दिन लागेको घोषणा गरेको तीन साता बितिसकेको छ।

तर अहिलेसम्म दुवै कम्पनीले चिनी आयातको अनुमति पाएका छैनन्। सरकारको ढिलासुस्ती देखेपछि निजी क्षेत्रका व्यवसायी विराटनगर नाकाबाट चिनी आयात गर्न कस्सिएका छन्। विराटनगरका जीवन रिजाल र देवकीनन्दन अग्रवालले आफ्नो कम्पनीले भारतको उत्तर प्रदेशबाट विराटनगर नाका हुँदै चिनीको आयात गर्न लागेको जानकारी दिएका हुन्।

Sipradee
Sanima Bank
TVS

आयातकर्ता रिजालका अनुसार भारतका कारखानामा हाल निर्यातको चिनीको मूल्य भारु २६ रुपैयाँ ५० पैसा छ। नेपालमा सरकारले चिनीको भन्सार मूल्यांकन भारु ३० रुपैयाँ र भन्सार महसुल ४० प्रतिशत तोकेको छ। भारु ३० कै मूल्यमा महसुलमा जरिवाना तिरेर तथा ४० प्रतिशत महसुल बुझाएर चिनी आयात गर्दा प्रति किलो ८० रुपैयाँमा गोदामसम्म आइपुग्छ। नेपालका उद्योगहरूले एक सातादेखि चिनीको मूल्य प्रति किलो ८१ रुपैयाँ ५० पैसा बनाइसकेका छन्। विराटनगरको बजारमा चिनीको खुद्रा मूल्य ८४ रुपैयाँ भइसकेको छ।

साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न पाऊँ भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएका छन्। मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले दुवै कम्पनीले हालसम्म आयातको स्वीकृति नपाएको र निवेदन प्रक्रियामै भएको जानकारी दिए।

रिजालको समूहले गत आर्थिक वर्षको मध्यदेखि नेपालगञ्ज नाकाबाट पनि चिनीको आयात गरिरहेको छ। चिनी उद्योगहरू भारतको उत्तर प्रदेशमा धेरै छन्। उत्तर प्रदेशका ती उद्योगबाट नेपालगञ्ज नाका हुँदै चिनी काठमाडौं ल्याउन नजिक पर्ने हुँदा आयात भएको बुझिएको छ। गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट २५ हजार टन चिनी आयात गरिएको छ।

तीन वर्षअघि पाकिस्तानबाट नेपालमा चिनीको आयात ठूलो परिमाणमा भएको थियो। पाकिस्तानको सस्तो चिनीले नेपालका उद्योग र उखु कृषक मारमा परेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले चिनीको भन्सार मूल्यांकन भारु ३० रुपैयाँ र भन्सार महसुल ४० प्रतिशत बनाएका थिए। तर गत वर्ष नेपालमा चिनीको उत्पादन कम भयो। यसका कारण चिनीको अभाव हुन थालेपछि महँगो भन्सार मूल्य र महसुल तिरेर आयात गर्दा पनि नाफा हुनसक्ने व्यवसायीले देखेका छन्।

नेपालमा चिनीकोे उत्पादनको सिजन मङ्सिरदेखि चैतसम्म हो। सिजन सुरु हुनुभन्दा ४ महिनाअगाडि नै उद्योगहरूमा चिनीको मौज्दात सकिएको छ। नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार नेपालका कुनै पनि चिनी उद्योगमा अब नयाँ विक्रीका लागि चिनी छैन। उद्योगहरूमा अलिअलि भएको चिनी बुक भइसकेको छ।

‘नेपालमा गत वर्षको सिजनमा १ लाख ९० हजार टनमात्र चिनीको उत्पादन गरिएको छ,’ अध्यक्ष शशिकान्तले भने, ‘दुई वर्षअगाडि पाकिस्तानको सस्तो चिनी नेपालमा भित्रिएका कारण नेपालका उद्योगको उत्पादन समयमा बिक्री भएन । यसका कारण किसानलाई भुक्तानी  दिन ढिलो भयो। ढिलो भुक्तानी पाएपछि एक तिहाइभन्दा बढी किसानले उखुखेतीलाई निरन्तरता दिएनन्। उखु मासेर धान–गहुँ नै लगाए। त्यसैले गत वर्ष चिनीको उत्पादन घट्यो। यही स्थिति यस वर्ष पनि छ।’

उनले नेपालमा चिनीको वार्षिक खपत २ लाख ५० हजार टन भएको उल्लेख गरे । जसअनुसार यस वर्ष ५० हजार टन चिनीको अभाव छ।
अध्यक्ष अग्रवालले सरकारले निजी क्षेत्रलाई ५० हजार टनभन्दा बढी चिनी आयात गर्न दिनु नहुने आग्रह गरे।‘धेरै आयात भयो भने आगामी सिजनलाई असर पर्छ,’ उनले भने, ‘आयातित सस्तो चिनीले नेपालको उत्पादनको बिक्री हुँदैन। त्यसैले सरकारले आयातमा लगाम लगाउनु आवश्यक छ।’

सुनसरीको इस्टर्न सुगर मिलका सञ्चालक विशाल अग्रवालले आफ्नो उद्योग अब किन्ने र बिक्रीका लागि चिनी नभएको जानकारी दिए।
‘उद्योगको गोदाममा लगभग २ सय टन चिनी होला,’ उद्योगी विशालको भनाइ छ, ‘त्यो चिनी ब्रिटानिया, गुडलाइफ, क्वालिटी बिस्कुट लगायतका उद्योगको बुकिङको हो।’ चिनीको अभाव हुन थालेपछि नेपालका बिस्कुट, कन्फेक्सनरी र जुस उद्योगहरू बन्दको अवस्थामा पुगेको दाबी उद्योगपतिहरूले गरेका छन्।

‘साउनको मध्यदेखि नै उद्योगहरूलाई गाह्रो हुनेछ,’ नेपाल बिस्कुट उत्पादक संघका महासचिव विक्रम कर्माचार्यले बिजमाण्डूसँग भने, ‘आयातित चिनीको मूल्य कममा पनि प्रति किलो ८५ रुपैयाँ पर्ने देखिएको छ। यति महँगो मूल्यमा चिनी खरिद गरेर नेपालका बिस्कुट, कन्फेक्सनरी र जुस उद्योगहरू चल्न सक्तैनन्।’

महासचिव कर्माचार्यले सरकारले कच्चा पदार्थमा चिनी प्रयोग गर्ने जुस, बिस्कुट र कन्फेक्सनरी उद्योगले २० प्रतिशत भन्सार महसुल तिरेर आयात गर्न पाउनुपर्ने बताए।‘हामीले ५ प्रतिशतमा आयात गर्न पाऊँ भनेका छैनौं,’ उनको भनाइ थियो, ‘सरकारलाई राजस्व पनि आउने, हाम्रा उद्योग पनि चल्ने । चिनी मुख्य कच्चा पदार्थ भएकाले हामीले सुविधामा आयात गर्न पाउनु पर्छ। संघले सरकारलाई लिखित जानकारीसहित अनुरोध गरिसकेको छ।’

महासचिव कर्माचार्यले पोखरामा रहेको उनको कर्माचार्य बेक्स एन्ड फुड प्रालिलाई दैनिक ४ टन चिनी चाहिने जानकारी दिए। गुडलाइफ ब्रान्डमा बिस्कुट, जुस र कन्फेक्सनरीका उत्पादक महेश जाजूले आफ्ना ३ वटै उद्योगलाई गरेर दैनिक २५ टन चिनी चाहिने बताए।
‘साउन लागेपछि उद्योगहरूले चिनीको बुक लिन छाडेका छन्,’ उद्योगी जाजूले भने, ‘पैठारीको चिनी प्रयोग गर्ने हो भने हामीले सबै उत्पादनको मूल्य बढाउनु पर्ने हुन्छ। त्यसैले सरकारले उद्योगहरूलाई २० प्रतिशत महसुलमा आयात गर्ने सुविधा दिनुपर्छ।

क्वालिटी ब्रान्डमा बिस्कुट, स्न्याक्स र कन्फेक्सनरीका उत्पादक नबलकिशोर काबराले आफ्ना सबै उद्योगलाई दैनिक २० टन चिनी चाहिने उल्लेख गरे। ‘तर आपूर्तिकर्ताहरूले हात उठाइसकेका छन्,’ उद्योगी काबराको भनाइ थियो, ‘चिनीको अभावमा साउनको अन्तिम हप्तादेखि उद्योग बन्द गर्नुपर्ने अवस्था छ । त्यसैले सरकारले यस्तो अवस्था आउन नदिन अहिले नै सुविधामा आयात गर्न दिन निर्णय गर्नुपर्छ।’ 


Share this Story

   

Narayan Adhikari[ 2020-07-23 04:04:37 ]
ab sasto hune vo


Bhupendra Prasad Giri[ 2020-07-23 08:56:04 ]
Tito chini.....namagaye huncha....sugar badcha


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell