माटो ब्राण्डको डोर टु डोर डेलिभरीसँगै चेन स्टोरको तयारी, व्यवसायिक कृषिमा अवसर खोज्दै लतिका

भावना शर्मा/बिजमाण्डू
२०७७ साउन १ गते ०९:४० | Jul 16, 2020
माटो ब्राण्डको डोर टु डोर डेलिभरीसँगै चेन स्टोरको तयारी, व्यवसायिक कृषिमा अवसर खोज्दै लतिका

Tata
GBIME
Nepal Life

काठमाडौं। डेढ वर्षअघि झापामा ५ सय बिगाहा जमिन किनेर गोल्यान समूहले महत्वाकांक्षी कृषि परियोजना सुरु गर्‍यो। नेपालमा कृषिको अथाह सम्भावना पहिल्याउँदै समूहले कृषि उद्यममा पहिलोपटक हात हालेको थियो।

नेपाललाई तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ समूहले अर्गानिक तरकारी र फलफूल खेती थालेको लामो समय भएको छैन। माटो ब्राण्डमा अर्गानिक तरकारी र फलफूल उत्पादनमा लागेको समूहले छोटो समयमै कृषि उद्यमलाई निर्यात गर्ने सम्ममको अवस्थामा आइपुग्यो।

गोल्यान समूहले किसानकै भूमिकामा सुरु गरेको यो उद्यम निर्यातको अवस्थामा पुग्दानपुग्दै कोरोना महामारीले समस्या निम्त्यायो।  'माटो'ले १० टन खरबुजा र मेवा यूएई पठाएको मात्र थियो  लकडाउन भयो। त्यतिबेलानै माटो ब्राण्डकै ६० केजी मह पनि कतार निर्यात भएको थियो।

लकडाउन नभएको भए गोल्यानको माटो ब्राण्डका नेपालमा उत्पादित अर्गानिक फलफूल र तरकारीका साथै मह लगायतका उत्पादनहरुको निर्यातले निरन्तरता पाउँथ्यो। मध्यपूर्वमा तरकारी र फलफूलको बजार खोजिरहेको समूह निर्यात गरेका फलफूलबाट पाएको रेस्पोन्सबाट उत्साहित हुँदै  थप निर्यातको तयारीमा जुटेको थियो। केही समयका लागि काम ठप्प जस्तै रह्यो।

कोरोना महामारीबाट विश्वभर भइरहेको मृत्यु र विश्व अर्थतन्त्र धरासायी भइरहेको खबरबाहेक अरु थिएनन्। माटो ब्राण्डमार्फत कृषि क्षेत्रमा अपार संभावना खोतल्न सुरु गरेकी लतिका गोल्यानलाई लकडाउन ठूलो अवरोध बनेर आयो। निर्यात गरिएका अर्गानिक फलफूल र महको रेस्पोन्स राम्रो थियो। तर निकासी भने अनिश्चित।

कहिले झापाको स्ट्रबेरी, कागती र ड्रागन फ्रुटका बगान त कहिले बर्दियाका धान खेतहरुमा पुगिरहने लतिकालाई लकडाउनपछिको केही समय बन्दी बनेको अनुभव भयो। घरमै बस्नुपर्दा उनलाई निकै छटपटी भइरहेको थियो। माटोका उत्पादनहरु जिल्लाबाट काठमाडौं ल्याउन सकिएन। काठमाडौंमा घरभित्रै बसेर कृषिमा काम गर्न सम्भव थिएन। सबैतिर निराशाका खबरहरु मात्र थिए। लतिकाले तीन हप्ताजस्तो घरभित्र बिताइन्। त्यसबेला उनको दिमागमा के मात्र आइरह्यो भने- 'महामारी भएर जस्तोसुकै अप्ठेरो अवस्था आए पनि जीवन रहुन्जेल मानिसले खान त छोड्दैन !'

उद्यमीले कठिन अवस्थामा पनि अवसर खोज्नुपर्छ भन्ने लतिकालाई राम्रोसँग थाहा छ। लकडाउनकै बेला उनले निर्णय गरिन्- अब कुनै पनि किसिमका नकारात्मक समाचार नसुन्ने र नहेर्ने। माटो ब्राण्डका कृषिजन्य उत्पादन निकासी रोकिएपछि स्थानीय बजारमै संभावना खोज्न उनले सुरु गरिन्। किसानसँग जोडिएर उनीहरुका उत्पादनलाई कसरी हुन्छ मानिसको घर घरमा पुर्‍याउने नयाँ योजना बनाइन्। काठमाडौं ल्याउन नसके पनि झापाको आफ्नो फार्ममा भएका उत्पादनहरु स्थानीयस्तरमै बिक्री हुँदै थिए। सहकार्य गर्दै आएका किसानका उत्पादनहरुका लागि अब देशभित्रै आफ्ना उत्पादनलाई बजार खोज्नुपर्ने अवस्था आयो।   

माटोले अर्गानिक उत्पादन गर्दै बजारसम्म पुर्‍याउँथ्यो। उपभोक्ताबाट रेस्पोन्स पनि राम्रो भइरहेको थियो। कोरोनाका कारण उत्पन्न संकटका बीच लतिकाले काठमाडौं भित्रै सम्भावना खोज्ने निधो गरिन्। आफ्ना उत्पादनहरु एकातिर बारीमै कुहिने अर्कोतिर उपभोक्ताले खान नपाउने अवस्थालाई उनले सेतुको काम गर्ने निर्णय गरिन्। उनले काठमाडौं, भक्तपुर र ललितपुरका किसानहरुसँग सम्पर्क बनाइन् र उनीहरुको उत्पादनलाई माटोको ब्राण्डिङमा बजारमा उतारिन्। तर लकडाउनको समयमा तरकारी बेच्ने कसरी? माटो टोली सोल्टीमोड र झम्सिखेल जस्ता चोकमा भ्यान राखेर तरकारी र  फलफूल बेच्न थाले।  

त्यसबेला मानिसहरुमा यति धेरै डर थियो कि उनीहरु दौडिँदै आएर सामान किन्थे, फर्कन्थे। धेरै हाउजिङ र अपार्टमेन्टहरुबाट डोर टु डोर सर्भिस पाए राम्रो हुन्थ्यो भन्दै फीडब्याक आउन थालेपछि भने उनले भान्छासम्मै तरकारी पुर्‍याउने नयाँ आइडिया बुनिन्। त्यसका लागि माटोका आफ्नै डेलिभरी भ्यानहरु थिए, जसले बारीबाट घरघरसम्म तरकारी फलफूल पुर्‍याउने जिम्मा पायो। कडा लकडाउनका बीच थालिएको यही डोर टु डोर सर्भिसलाई अब माटोले निरन्तरता दिने भएको छ। 'यसबाट किसानलाई राहत हुने र उपभोक्ताले पनि घरमै बसेर फलफूल तरकारी पाउने। साथै हामीलाई पनि कृषिकर्ममा होमिनुको लक्ष्य प्राप्त गर्ने कडी बन्छ भनेर यसलाई निरन्तरता दिएका हौं,' नयाँ कामबारे लतिकाले सुनाइन्।

कम्पनीले सोसल साइटमा दैनिक मूल्य सूची नै राखिदिने गरेको छ। यसबाट घरघरै पुर्‍याउने सेवा दिने कम्पनीले महंगोमा बेच्छ होला भन्ने भ्रम पनि चिर्न सहयोग पुग्ने लतिका बताउँछिन्। अहिले थोरै भेराइटीबाट सुरु गरे पनि केही समयपछि नै यसमा भान्छामा आवश्यक सबै सामान दिने तयारी भइरहेको छ। डोर टु डोर सर्भिसअन्तर्गत सिजनल तरकारी फलफूल र अण्डा दैनिक मूल्य सूचीका साथ माटोले उपलब्ध गराउँदै आएको छ। पछि दाल, चामल, तेल, मरमसला लगायतका सामान पनि किचेन बास्केटमा उपलब्ध हुने उनले जानकारी दिइन्।  

घरमै तरकारी चाहनेले माटोको कल सेन्टरमा फोन गरेर अर्डर गर्न सक्छन्। लतिकाले वर्किङ पिपुलले होम डेलिभरी बढी रुचाएको बताइन्। सामानको मूल्य पनि उल्लेख हुने भएकाले ढुक्कसँग किन्न सक्नु यसको फाइदा हो। आगामी ६ महिनामा भान्सामा चाहिने सबै सामाग्री डेलिभरी गर्ने लक्ष्यसहित टिम अघि बढेको छ।

'समय अप्ठेरो छ। तर अडप्टाबिलिटी चाहिन्छ। बिजनेसमा हामीले आफूलाई समयसँगै योजना बनाएर ढल्न सक्नुपर्छ,' उनले भनिन्।
लतिकाका अनुसार हाल मध्यपूर्वको बजारबाट सुकमेल, मह, ग्रीन टी, बेसार, अदुवा, अनार, स्याउ, स्वीट कर्न, बासमती चामलको माग आइरहेको छ। उनले निर्यातको सम्भावना प्रचुर देखेकी छन् ।

स्थानीय स्तरमा उत्पादन भएका सामानलाई आन्तरिक खपत मात्र नभई निर्यातमा नै जाने ठूलो महत्त्वाकांक्षाका साथ माटोले टिम बिस्तार समेत गरिरहेको उनले बताइन्। झापा र बर्दियाको काला नमक चामल माटो ब्राण्डमा प्याक भएर बजारमा ल्याउन ठिक्क पारिएको छ । काला नमक चामलको माग अन्तर्राष्ट्रिय बजारमा पनि निकै रहेको उनले जानकारी दिइन्। गोल्यान समूहले झापाको फार्मबाट थालेको  कृषि उद्यम  निर्यातको स्तरमै पुगिसकेको बेला भएको लकडाउनमा समूहले यूटर्न गर्दै हाल स्थानीय बजार लक्षित भएर काम गरिरहेको हो।  

त्यसैले माटोमार्फत गोल्यान समूहले देश भित्रै बढी भन्दा बढी युवाहरुलाई कृषि र प्रोसेसिङमा ल्याउने प्रयास गर्दैछ। 'हामी उत्पादनलाई एक चरण माथिल्लो स्तरमा अर्थात प्रोसेसिङ को अवस्थामा पुर्‍याउनुपर्छ भन्नेमा छौं। यसबाट विदेशमा रोजगारी गुमाएर फर्किएका लाखौं युवाहरुका लागि रोजगारी सिर्जनाको अवसर पनि हुन्छ। टमाटरबाट केचप, आलुबाट चिप्स, दूधबाट बटर र चिज जस्ता उत्पादन ल्याउन सके कृषिजन्य उत्पादनहरुको 'भ्यालु एड' हुन्छ र यसबाट साना तथा मझौला उद्योगहरु स्थापित हुन सक्छन्,' उनी भन्छिन्।

कम्पनीले झापा बर्दिया लगायतका स्थानहरुमा आफ्नो डेमो फार्म तयार गरेको छ। तर यतिले मात्र पुग्दैन। त्यसैले माटोकै गुणस्तर रहनेगरी स्थानीय किसानहरुलाई अर्गानिक उत्पादनको सहयात्री पनि कम्पनीले बनाएको छ। आफ्नै फार्मको छेउछाउका  किसानहरुलाई पनि अर्गानिक खेतीका लागि प्रोत्साहित गर्दै कम्पनीले उनीहरुसँग सहकार्य गर्न थाल्यो। किसानका उत्पादनहरु माटो ब्राण्डबाटै बजारमा जाने र उनीहरुले त्यसको उचित मोल पाउने निश्चितता भएपछि स्थानीय किसानहरु पनि सहकार्यका लागि तत्पर भएको लतिकाले बताइन्।

अब भने बेरोजगार युवाहरु र कोरोनापछि विदेशबाट फर्किएका युवाहरुलाई यहीँ टिकाउनका लागि केही 'आकर्षक प्लान'को आवश्यकता उनले देखेकी छन्।

'विदेशबाट फर्किएकाहरुसँग सीप र श्रम गर्ने बानी हुन्छ। तत्काल उनीहरुलाई यहाँ कसरी बजार खोज्ने भन्ने थाहा नहोला, तर हामी त्यो काम गर्न सक्छौं। उनीहरु कृषि र त्यसको प्रोसेसिङमा काम गरुन् हामी बजारको जिम्मा लिन्छौं। त्यसबाट 'मिडिलम्यान' बन्द हुनेछ। युवाहरुले प्रचुर अवसर पाउँछन्। किसानहरुले वास्तविक मूल्य,' उनी भन्छिन्। आगामी ६ महिनाभित्रै कम्पनीले केही प्रोसेस्ड फूड ल्याउने तयारी पनि गरेको छ। कम्पनीले यसबारे स्थानीय उद्यमी, कृषक, महिला समूहहरु र एसएमईहरुसँग कुरा गरिरहेको उनले जानकारी दिइन्।

 लकडाउनमा सम्भावना खोज्दै माटोले ल्याएको नयाँ उत्पादन सेनिटाइजर पनि हो। लकडाउनका बीच पनि माटो टिम नियमित सम्पर्कमै थियो। उनीहरु नयाँ प्रडक्ट ल्याउने बारे छलफल गर्न साप्ताहिक मिटिङ बस्थें। बजार अध्ययन पनि गरे। मानिसलाई गुणस्तरीय सेनिटाइजर चाहिएको रहेछ। लकडाउनको फाइदा उठाउँदै त्यसबेला बजारमा ह्वात्तै सेनिटाइजर आएको थियो जसमध्ये कतिपय नक्कली थिए त कतिपयले आवश्यक कम्पोनेन्ट राखेका थिएनन्। 'यसबाट मानिसले आवश्यक सुरक्षा नपाइरहेको भान भयो। त्यसैले हामीलाई सेनिटाइजर लञ्च गर्नुपर्छ भन्ने लाग्यो,' सेनिटाइजर ल्याउनुअघिको ब्रेन स्ट्रोमिङबारे उनले भनिन्। भक्तपुरमा रहेको एमडीएच फर्मास्युटिकल्ससँग मिलेर कम्पनीले बनाएको सेनिटाइजरमा माटोकै क्वालिटी कन्ट्रोल मेकानिज्म छ।

कम्पनीले पहिलो लटमा २ हजार लिटर उत्पादन गर्यो, जसको बजार प्रतिक्रिया निकै राम्रो भयो। त्यसैबाट उत्साहित भएको टिमले सेनिटाइजरको उत्पादनमा राम्रो सम्भावना देखेको छ। ७५ प्रतिशत अल्कोहल प्रयोग गरी उत्पादन भएको माटोको सेनिटाइजर लेमन ग्रासको बास्ना भएकाले मानिसले रुचाएका छन्। कम्पनीले ७५ एमएलको पकेट साइज स्प्रे मोडलको ११५ रुपैयाँमा बिक्री गरिरहेको छ। यसैगरी ५०० एमएलको स्प्रे र ५ लिटरको जर्किन पनि छ।

'अरु उद्योगले काम बन्द गर्नुपर्‍यो होला। कामदारलाई बिदामा राख्नुपर्‍यो होला। तर हामीले भने लकडाउनकै बीच स्टाफ बढायौं। टिमलाई ठूलो बनायौं,' उनले सुनाइन्।

लकडाउन अघि माटोले केही ठूला डिपार्टमेन्टल स्टोरमार्फत तरकारी र फलफूल बेच्ने गरेको थियो। अब भने कम्पनीले काठमाडौंमा आफ्नै स्टोर खोल्ने योजना बनाएको छ। कम्पनीले पहिले आफ्नै मोडल स्टोर बनाउने र बिस्तारै युवाहरुलाई कृषिमा सहभागिता गराउँदै फ्रेन्चाइजी स्टोर खोल्न दिने तयारी पनि माटोले गर्दैछ। हालको लागि माटोका उत्पादनको प्रमुख बजार काठमाडौं नै हो। तर बिस्तारै काठमाडौं उपत्यका बाहिरका अन्य शहरहरुमा पनि यसको बिस्तार गरिने लतिकाले जानकारी दिइन्।

'आगामी एक वर्षमा माटोको आफ्नै १० वटा मोडल स्टोर हुन्छ। ३० वटा जति फ्रेन्चाइजी स्टोर पनि स्थापना भइसक्छ,' लतिका लामो रेसको घोडा बन्नुपर्नेमा विश्वास गर्छिन्।

कम्पनीको अबको योजना अनुसार जुन स्थानको उत्पादन हो त्यहीँ खपत गर्ने प्रणाली स्थापित हुनेछ। यसबाट ढुवानीमा लाग्ने खर्च बचत हुने र उपभोक्ताले सस्तोमा सामान पाउन सक्ने अवस्था सिर्जना हुन्छ। स्थानीय उत्पादनहरुलाई त्यहीँ प्रोसेसिङ गरी त्यसको बजार खोज्नुपर्ने देखिन्छ। यसमा स्थानीय सरकारहरुको पनि सहभागिता र अनुगमन हुनुपर्ने आवश्यकता उनले देखेकी छन्। गोल्यान समूहले आफ्ना उत्पादनको लागि स्थानीय बजार खोज्ने र माटो ब्राण्डबाट निर्यातमा समेत स्थापित हुने लक्ष्य लिएको उनले बताइन्।

गोल्यान समूहका अनेक प्रोजेक्टहरुमध्ये लतिका कृषिमै यसरी डट्नुको पछि सत्य के हो भने कुनै पनि देशमा कृषि नै मेरुदण्ड हो, जसको सही उपयोगले अर्थतन्त्रको कायापलट गर्न सक्छ।

'कोरोना महामारीबाट सिक्नुपर्ने धेरै छ। अब रेमिट्यान्समा मात्र भर पर्नु हुँदैन। युवाहरुलाई यहीँ टिकाउने दह्रो विकल्प चाहिनै सक्यो। त्यो विकल्प कृषि बाहेक के हुन सक्छ त? अहिले पनि हाम्रा उत्पादन बारीमै कुहिन्छन्। खाद्यान्न र तरकारीजन्य उत्पादन किन्न अर्बौं रुपैयाँ विदेशिएको छ। 'हामीले कृषिमा पूर्ण आत्मनिर्भर हुने अनि निर्यात गर्ने अवस्थामा पुग्यौं भने सोचौं त देशमा के हुँदैन ?,' उनी प्रश्न गर्छिन्।