अजोड इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै मागभन्दा झन्डै दोब्बर आवेदन 

बिजमाण्डू
२०७७ असार २५ गते १८:०१ | Jul 9, 2020


अजोड इन्स्योरेन्सको प्राथमिक निष्काशन (आइपीओ) मा आवेदन खुला गरेकै दिन माग गरिएको भन्दा बढीको आवेदन परेको छ ।

Tata
GBIME
Nepal Life

एक सय रुपैयाँ प्रतिकित्ताका दरले कुल ३० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि छुट्याएको छ । आइपीओ खुला गरेकोमध्ये बिहिवार साँझ ५ बजेसम्ममा नै ५० लाख कित्ताको लागि आवेदन परेको अजोडको धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ । 

पहिलो दिन एक लाख २९ हजार जना आवेदकहरुबाट ५० करोड रुपैयाँबराबरको सेयरका लागि आवेदन परेको हो । कम्पनीले माग गरेको कुल कित्ताभन्दा १ दशमलव ८३ गुणा सेयरका लागि आवेदन परेको हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलअनुसार अझै सबै डाटा आइनसकेकाले आवेदनमा तलमाथि हुनसक्नेछ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ३० लाख कित्ता छुट्याएको छ ।  कुल सेयरमध्ये चार प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीहरुलाई र पाँच प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई बिक्री खुला गरेको हो । 

कम्पनीले छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्मका लागि बिक्री खुला गरेको छ । 

आवेदकहरुले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धकसँगै अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालय सुन्धारा र सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
हाल ७० करोड रुपौयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बिक्रीपछि एक अर्ब पुग्नेछ । 

२०७५ असार २१ गतेदेखि औपचारिक कारोबार शुरु गरेको यस कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तीन करोड ५१ लाख खुद नाफा गरेको छ । साथै, चालु वर्ष कुल बीमाशुल्क ६० करोड ६३ लाख आर्जनगरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी  ५.०२ र प्रतिशेयर नेटवर्थ ११२.४६ छ ।