नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर विदेशी कम्पनीलाई बेच्नु पर्ने, ‘अहिले अन्डर इन्स्योरेन्स छ’

बिजमाण्डू
२०७७ असार २५ गते १५:४१ | Jul 9, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मर्जर तथा प्राप्तिको काम चाँडो सक्ने ब्यवस्था मिलाउन माग गरेका छन्।

उनले मर्जर र एक्विजिसन तथा बोनस लिस्टिङका बेलामा ढिला भएको भन्ने गुनासो आइरहेकोले राष्ट्र बैंकले यसमा केही चाँडो गर्ने ब्यवस्था मिलाउनु पर्ने बताए।

राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिका लागि सुझाव माग गरेको थियो। त्यहाँ साउदले नेप्सेमा विदेशी संस्था भित्र्याउन ब्यवस्था मिलाउन पनि सहजीकरणको माग गरेका छन्। उनले राष्ट्र बैंकको सेयर बाहिरका कम्पनीलाई बिक्री गर्न सकिए त्यो राम्रो हुने बताए।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले ब्याज दरमा स्थायित्व ल्याउन सुझाव दिएका छन्। बैंक नपुगेको ठाउँमा बीमा पुगेकाले त्यहाँबाट ल्याएको पैसा बैंकमा राखेको बताउँदै उनले ब्याज अस्थिर हुँदा बीमित मर्कामा पर्ने बताए। 

उनले ब्याज दर धेरै घटे बीमितहरुको बोनस दर पनि प्रभावित हुने बताए। बोनस दर घट्दा सर्वसाधारण बीमा गर्न इच्छुक नहुनेसमेत बताए।

कर्जा सीमाभित्र मात्र बीमा गर्नुपर्ने राष्ट्र बैंकको ब्यवस्थाले 'अन्डर इन्स्योरेन्स' भइरहेको बताउँदै उनले यस्तो ब्यवस्थालाई खारेज गर्न उनले माग गरे।  

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर धितो ऋणको सीमा बढाउन माग गरेका छन्। उनले ६५ प्रतिशतबाट बढाउनु पर्ने सुझाव दिएका छन्।