कृषि सामाग्रीको २७ हजार टन मल भारतमा अलपत्र, उपलब्ध मल बिभिन्न जिल्लामा पठाइँदै

बिजमाण्डू
२०७७ असार २५ गते १०:२८ | Jul 9, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। कोरोना महामारीको कारण नेपाल भारतमा शुरु भएको लकडाउनको कारण आयात निर्यातमा प्रतिकूल असर परेको छ । विदेशबाट आउने सामानहरु भारतको विभिन्न बन्दरगाहमा फसेका कारण नेपालमा ती वस्तुको चरम अभाव हुँदै गएको छ ।

धानबाली लगाउने समयमा विदेशबाट मल आइपुगेको छैन । भारत हुँदै नेपाल आउने रासायनिक मल बाटैमा रोकिएको छ । भारतको कोलकाता र विशाखापटनम बन्दरगाहमा होल्ड हुँदा करिब २७ हजार टन रासायनिक मल अलपत्र परेको कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगंजका निमित्त प्रमुख गोरखनाथ केसीले बताए ।

चालु आर्थिक वर्षको ग्लोबल टेण्डरबाट वीरगंज नाकाबाट भित्रिने ५० हजार टन युरियामध्ये अब २० हजार टन मात्र आउन बाँकी रहेको उनले बताए। उनका अनुसार  डिएपी १० हजार टन आउन बाँकी रहेकोमा ३ हजार टन केही दिन अघि वीरगंजको सिर्सिया सुक्खा बन्दरगाहमा आइसकेको छ । युरिया र डिएपी गरी २७ हजार टन मल भने कोलकाता र विशाखापटनममा फसेको उनले जानकारी दिए।

लकडाउन र कोरोना महामारीको कारण कोलकाता बन्दरगाहमा श्रमिक अभाव हुँदा मेगासिपबाट आएको मलखाद अनलोड गरी ट्रक वा कन्टेनरमा पल्टी गर्न नसकेर यस्तो समस्या आएको भारतीय बन्दरगाहका अधिकारीहरुले बताएका छन् ।

विदेशबाट भारत हुँदै भित्रिने मलहरु वीरगंज, भैरहवा र विराटनगर नाकाबाट नेपाल भित्रिन्छन् । वीरगंजबाट यूरिया ६३ हजार ३ सय टन भित्रिनु पर्नेमा ५२ हजार २ सय ३८ टन भित्रिसकेको छ भने ४२ हजार टन डिएपीमध्ये ३३ हजार ६ सय २८ टन डिएपी मल भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त प्रमुख केसीले बताए ।

त्यसैगरी ३ हजार ३ सय ३५ टन पोटास भित्र्याउनु पर्नेमा २ हजार ८ सय ४३ टन भित्रिएको छ । वीरगंज नाकाबाट हालसम्म भित्रिएको मल पर्सालगायत १६ वटा जिल्लाको कार्यालयहरुमा पठाइएको छ ।

पर्सामा ११ हजार ५ सय ७० टन युरिया,६ हजार २ सय १३ टन डिएपी र १ सय ८१ टन पोटास विभिन्न सहकारीबाट वितरण गरिएको छ। बाँकी मल कलैया, चपुर, जनकपुर, ढल्के, मलगंवा, हेटौडा, काठमाडौं, धुलिखेल, त्रिशूली, खजुरी, भरतपुर, कावासोती, दमौली पोखरा र पर्वतस्थित कृषि सामग्री कम्पनीको शाखा कार्यालयहरुलाई बिक्रीका लागि  पठाइएको उनले बताए।

नेपालमा बर्सेनि ७ लाख टन रासायनिक मल आवश्यक रहेकोमा जम्मा ५० प्रतिशत खपतको मल आयात गरिन्छ । कृषि सामाग्री कम्पनीले ७० प्रतिशत र साल्ट टेड्रिङ कम्पनीले ३० प्रतिशत गरी वार्षिक रूपमा ३ लाख टन मल आयात हुने गरेको छ । युरिया इन्टरनेशनल कमोडिटी दुबई र डिएपी आईपिएल भारतबाट आपूर्ति गर्ने सम्झौता भएको छ ।