ट्याक्सी चलाउने व्यवस्था गर्न संसदीय समितिको निर्देशन, ‘सिएमसीको मापदण्ड अनुसार गर्नु’

बिजमाण्डू
२०७७ असार २४ गते १६:२३ | Jul 8, 2020


काठमाडौं। संघीय संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी संचालन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
बुधबार बसेको समितिको बैठकले ट्याक्सी संचालनका लागि आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

Tata
GBIME
Nepal Life

समितिले सार्वजनिक यातयात सम्वद्ध सरोकारवाला मजदुर संगठन र व्यवसायी महासंघका पदाधिकारीहरुसंग छलफल गरेको थियो ।

छलफल पश्चात समितिले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति (सिएमसी) ले तयार पारेका मापदण्डहरु पूरा गरी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

सरकारले लक डाउनकै अवधिमा पनि केहि पेशा व्यवसाय संचालन गर्ने व्यवस्था गरेकाले स्वास्थ्यका मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई चलायमान बनाउन,  सर्वसाधरणलाई आवतजावतमा  थप सहजता प्रदान गर्न  सार्वजनिक यातायात सम्वद्ध ट्याक्सी संचालन गर्न दिन निर्देशन गरेको हो।

ट्याक्सी व्यवसायीहरुले विजोर प्रणालीका आधारमा संचालन गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन समेत गरेका थिए। उनीहरुले यातायात व्यवस्था विभाग अघि ट्याक्सी राखेर विरोध गरेका थिए।

छिट्टै कार्यविधि बनाएर संचालन गर्न दिने सरकारले प्रतिवद्धता गरेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका थिए। ट्याक्सी अरु सार्वजनिक सवारी साधनको तुलनामा सुरक्षित हुने भन्दै संचालनका लागि माग गरिएको व्यवसायीहरुको भनाई छ।

अन्य सवारीसाधनमा जस्तो धेरै मानिसहरु चढ्ने नमिल्ने, एउटै परिवारका मात्र चढ्ने, एउटा गन्तव्यबाट अर्को गन्तव्यमा बीचमा नरोकी सिधै पुर्याउने भएकाले जोखिम कम हुने उनीहरुको तर्क छ।

दुईजना मात्र राखेर चलाउने उनीहरुले प्रतिवद्धता जनाएका छन्। सरकारले पनि दुई जना मात्रै यात्रु राखेर चलाउन दिने निर्णय गर्न लागेको बुझिएको छ।

देशभर करिव २० हजार ट्याक्सी रहेका छन्। उपत्यकामा मात्रै ११ हजार ट्याक्सी रहेको बताइएको छ। ती २० हजार  चालकमा आश्रित परिवार गरी ८० हजार समस्यामा परेको उनीहरुको भनाइ छ।

निजी सवारीसाधन चलाउन दिने तर एम्बुलेन्स सरह प्रयोग गरिने ट्याक्सी चलाउन नदिएको भन्दै उनीहरुले विरोध जनाएका छन्। यातायातका मजदुरहरुले राहात नपाएका कारण विजोक अवस्थामा पुगेको भन्दै संचालन गर्न दिन आग्रह गर्दै आएका थिए।