प्रदेश २ ले पर्साका किसानलाई दियो कृषि कर्जामा ब्याज अनुदान, ८० हजार किसानलाई फाइदा

बिजमाण्डू
२०७७ असार २४ गते १०:१९ | Jul 8, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। प्रदेश २ सरकारले किसानलाई कृषि कर्जामा सहुलियत दिएको छ। प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले यस्तो जानकारी दिएका हुन्।  

लकडाउनको क्रममा कृषि प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले ब्याज अनुदान चेक हस्तान्तरण कार्यक्रममा मन्त्री साहले चार महिनाको ब्याज मिनाहा गर्दा ८० हजार किसान परिवार प्रत्यक्षरूपमा लाभान्वित भएको बताए।

उनले प्रदेश सरकारले जनताको हकमा काम गरिरहेको भन्दै भाषणमा होइन व्यवहारमा खरो उत्रिने  बताए। ८० लाख जनसंख्या भएको प्रदेशमा ४० लाख कृषक रहेकाले सरकारले कृषिलाई आधुनिक तरिकाको बनाउने योजना अनुरुप अगाडि बढिरहेको बताए ।

लकडाउनको अवसरमा प्रत्यक्षरूपमा प्रभावित भएका कृषि क्षेत्र उकास्न र आम जनताले कृषिमा लगानी गर्न वातावरण मिलाइरहेको उनको भनाइ छ।

मन्त्री साहका अनुसार विदेशबाट १० लाख युवाहरु प्रदेश २ मा आउने आकलन छ। विदेशबाट युवाहरू घर आउने क्रम जारी रहेकाले रोजगारी व्यवस्थापनमा चुनौती थपिंदै गएको छ। कृषि क्षेत्रमा नै बेरोजगार युवाहरुलाई रोजगारी दिन प्रदेश सरकारले आगामी आवमा प्रत्येक किसानलाई राहत पुग्ने योजना ल्याएको उनले बताए।

पाँच लाख रुपैयाँसम्म कृषि ऋण लिएका ऋणीहरुको ब्याज माफ गरेर हुँदैन, आगामी आवसम्म ५० लाखसम्म ऋण लिएका व्यक्तिको पनि ब्याज मिनाहा गर्ने योजना अनुसार सरकार अगाडि बढिरहेको बताए।

उनले कुखुरा व्यवसायीहरुका लागि ढुवानी र चल्लाका लागि योजना ल्याएको बताए। प्रदेशको आठवटै जिल्लामा पहिलोपटक पर्सा जिल्लाले ऋण मिनाहाको योजना चाँडै पूरा गरेकाले धन्यवाद दिएका थिए।  मुख्यमन्त्री कृषि योजना अन्तर्गत प्रदेशभरिमा १० कट्ठासम्म खेत भएका व्यक्तिहरुको खातामा सिधै १० हजार रूपैयाँ प्रदेश सरकारले पठाउने तयारी गरिरहेको उनले बताए।

कार्यक्रममा सहभागीहरुले ब्याज मिनाहाभन्दा ब्याजदर सस्तो गरे किसानहरुलाई समस्या नपर्ने बताएका थिए। कृषिको नाममा लिएका ऋण अन्य क्षेत्रमा लगानी गर्नेहरुमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग थियो।

पर्साको हकमा प्रदेश सरकारले ३ करोड १० लाख ब्याज अनुदान विनियोजन गरेकोमा २ करोड ९६ लाख ४५ हजार बजेट खर्च भएको जनाइएको छ। पर्सामा जम्मा ५ हजार ३ सय ६१ जना निवेदकहरुबाट ४ हजार ६ सय ६५ जना ऋणीको ५ लाखसम्म ब्याज मिनाहा भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए।

यादवले ५ लाखदेखि १५ लाखसम्म ७८ लाख, १५ लाखदेखि ३० लाखसम्म ८० लाख ५० हजार रकम प्रदेश सरकारले पठाएमा अन्य ब्याज पनि मिनाहा हुने तथ्यांक सार्वजनिक गरेका थिए। २३ वटा बैंक, २५ वटा लघुवित्त संस्था र २२ वटा सहकारीमार्फत ब्याज मिनाहा भएको छ।