हुण्डाइको तीन मोडलमा आकर्षक योजना, क्रेटा, आइ-१० र स्यान्ट्रो खरिद गर्दा एक वर्ष इएमआइमा ५०% छुट

बिजमाण्डू
२०७७ असार २१ गते १३:२६ | Jul 5, 2020
हुण्डाइको तीन मोडलमा आकर्षक योजना, क्रेटा, आइ-१० र स्यान्ट्रो खरिद गर्दा एक वर्ष इएमआइमा ५०% छुट

Tata
GBIME
Nepal Life

काठमाडौं। हुण्डाइ मोटर्सको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले तीनवटा गाडीमा ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ।

क्रेटा, आइ-१० र स्यान्ट्रोको खरिदमा नगद छुट, पहिलो वर्षको इएमआइमा ५० प्रतिशत छुट र रोड ट्याक्स छुट लगायतको अफर सार्वजनिक गरेको हो। 'वर्तमान अवस्थालाई मध्य नजर गर्दै हामीले पहिलो वर्ष तीन मोडलका गाडी खरिद गर्ने ग्राहकका लागि इएमआइ सेयरिङको व्यवस्था लागू गरेका हौं,' कम्पनीका महाप्रबन्धक रुपेश शर्मा भट्टले भने, 'गाडी खरिद गरेको पहिलो वर्ष ५० प्रतिशत इएमआइ लक्ष्मी इन्टरकन्टिनेन्टलले व्योहोर्ने र ५० प्रतिशत ग्राहकले व्योहोर्नुपर्ने प्रावधान बनाइएको छ। त्यस पछि भने ग्राहकले सतप्रतिशत इएमआइ शुल्क तिर्नुपर्नेछ।'

'चुनौतीलाई सामना गर्दै बढ्नु छ अगाडी, हिम्मत छ हौसला छ हट्ने छैन कदम पछाडि' नारा दिइएको यो योजना तीनवटा मोडलका इन्ट्री लेवल गाडीमा लागू गरिएको उनले जानकारी दिए। कम्पनीका अनुसार यो योजना हुण्डाइ क्रेटा इ-प्लस, ग्राण्ड आइ-१० म्याग्ना र स्यान्ट्रो एरामा लागू गरिएको छ।

कम्पनीले क्रेटा इ-प्लसमा एक लाख ७० हजार रुपैयाँ, ग्राण्ड आइ-१० म्याग्नामा एक लाख २० हजार रुपैयाँ र स्यान्ट्रो एरामा एक लाख रुपैयाँ नगद छुटको व्यवस्था राखेको भट्टले बताए। कम्पनीले स्वास्थ्यकर्मीलाई लक्षित गर्दै २५  हजार रुपैयाँ बराबरको सर्भिस कुपनको अफर पनि ल्याएको छ। उनका अनुसार सर्भिस कुपन दुई वर्षका लागि लागू गरिएको हो।

'अहिलेको मुख्य उद्देश्य भनेकै रिकभरीतर्फ अघि बढ्नु हो। यो अवस्थामा रिकभरीका लागि टेवा दिने उद्देश्यले हामीले योजना सार्वजनिक गरेका हौं,' उनले भने। क्रेटा इ-प्लस खरिद गर्ने ग्राहकले पहिलो वर्षको इएमआइ ५० प्रतिशत छुट पाउँदा मासिक किस्ता १७ हजार दुई सय १४ रुपैयाँ मात्रै तिरे पुग्ने भएको छ।