भारतका दुई पोर्टमा ४१ हजार टन रासायनिक मल फस्यो, नेपाल आइपुग्न एक महिना पनि लाग्न सक्ने

बिजमाण्डू
२०७७ असार २१ गते ०८:४८ | Jul 5, 2020

Tata
GBIME
Nepal Life

 

वीरगंज। नेपालमा धानबाली लगाउने सिजन चलिरहँदासमेत किसानले सहजै रासायनिक मल पाउन सकिरहेका छैनन् ।

 

नेपाल सरकारले ग्लोबल टेण्डरबाट खरिद गरेको रसायनिक मल लकडाउनले भारतमै ठूलो परिमाणमा होल्ड भएर बस्दा नेपाली किसानलाई समस्या भइरहेको हो ।

नेपालमा रसायनिक मल युरिया र डिएपीको हाहाकार भएपछि नेपाली बजारमा मलमा कालोबजारी पनि भइरहेको वीरगंज–२१ लिपनीविर्ताका किसान एवं अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले गुनासो गरे ।

‘धानबालीका लागि यसपाली पनि मल पाइरहेको छैन,कोही कोही पसलले राखेका छन् भने बोरामा २ सय भन्दा बढी महंगोमा मल बेच्दा किसान ठगिन बाध्य भएका छन्,’ उनले भने,‘सरकारले सहज मल बिक्री वितरणको वातावरण तयार पार्नु पर्छ। भारतबाट आउने मल पनि सीमा लक हुँदा रोकिँदा किसानहरु चिन्तित छन् ।’

नेपाल सरकार मातहतका कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र ३० प्रशित साल्ट ट्रेडिङले ग्लोबल टेण्डरबाट मल खरिद गर्ने गरेका छन् ।

नेपालमा न्यूनतम ७ लाख टन मलको आवश्यकता रहेकामा त्यसको ५० प्रतिशत मात्र खरिद गर्न सरकारले पैसा विनियोजन गर्ने गरेको छ ।

साल्ट ट्रेडिङ लिमिटेड वीरगंजका प्रमुख अमोज लामिछानेका अनुसार चालू आव नेपाल सरकारले रासायनिक मलको लागि ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो भने अगामी आवमा ११ अर्ब विनियोजन गरेको छ ।

साल्ट ट्रेडिङ लिमिटेडले चालू आवमा ७६ हजार ५ सय टन यूरिया,६५ हजार टन डिएपी र २५ सय टन पोटासको ग्लोबल टेण्डर गरेको थियो  जसमध्ये यूरिया दुबईको मल्टिपल कमोडिटी कम्पनीबाट खरिद गर्ने सम्झौता भएको थियो भने डिएपी भारतीय आइपिएल कम्पनीबाट किन्ने सम्झौता भएको थियो।

साल्ट ट्रेडिङ लिमिटेडले यूरिया,डिएपी र पोटास गरी कुल १ लाख ४४ हजार टन रसायनिक मल खरिद गरेकोमा ४१ हजार ५ सय टन मल भारतमै अलपत्र परेको साल्ट ट्रेडिङ लिमिटेड वीरगंजले जनाएको छ ।

साल्ट ट्रेडिङले खरिद गरेको साढे २१ हजार टन यूरिया मल भारतको गुजरात राज्यको कान्डला बन्दरगाहमा अलपत्र परेको छ भने २० हजार टन डिएपी मल कोलकाता बन्दरगाहमा फसेको साल्ट ट्रेडिङ वीरगंज कार्यालयका प्रमुख लामिछाने बताउँछन् ।

लकडाउन र एम्फुन आँधीको कारण कोलकाता बन्दरगाहमा समुन्द्रिक पानीको सतह उच्च भएपछि जहाजबाट मल पल्टी गर्न समस्या भएपछि मेगासिप जहाजलाई मोडदै गुजरातको कान्डला बन्दरगाहमा लगिएको थियो ।

तर कान्डला बन्दरगाहबाट नेपालको लागि विराटनगर, वीरगंज, भैरहवा नाकासम्म ढुवानी सेवा तथा मल पठाउने भारत सरकारको स्वीकृति नहुँदा कान्डलाबाट पुनः कोलकाता पठाएर नेपाल पठाउने बन्दरगाहका अधिकारीहरुले नेपाली निकायलाई जानकारी गराएका छन् । यसकारण भारतको कान्डला र कोलकाता बन्दरगाहमा फसेको मल आउन ढिलाई भएको उनको भनाई छ ।

‘कान्डलाबाट नेपाल पठाउने नेपाल–भारत सरकारसंग सम्झौता छैन,त्यस कारण फेरि रिरुट गरी मल कोलकाता ल्याएर नेपाल ल्याइने तयारी छ,’ उनले भने,‘कान्डला पोर्टका अधिकारीहरुले समन्वय गरिरहेका छन्,सात दिन पनि लाग्न सक्छ। एक महिना पनि लाग्न सक्छ ।’