ओली-प्रचण्ड चार घण्टा लामो वार्ता : निस्किएन निष्कर्ष, ‘सौहार्दपूर्ण भयो, अर्को चरणमा छलफल हुन्छ’

बिजमाण्डू
२०७७ असार १९ गते १५:५७ | Jul 3, 2020
ओली-प्रचण्ड चार घण्टा लामो वार्ता : निस्किएन निष्कर्ष, ‘सौहार्दपूर्ण भयो, अर्को चरणमा छलफल हुन्छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। पार्टीको विवाद चरम उत्कर्षमा पुगेका बेला  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै चार घण्टा लामो छलफल भयो।

बालुवाटारमा भएको छलफलले ठोस निचोड नल्याएपनि वार्ता सकारात्मक भएको एक नेताले जानकारी दिए। 'सौहार्दपूर्ण रूपमा वार्ता भएको छ। अर्को चरण बसेर कुराकानी गर्ने सहमति बनेको छ,' एक नेताले भने।

भोलि हुने स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष फेरी छलफलमा बस्ने सहमति भएको छ। छलफलमा अध्यक्षद्वयसँगै महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए।

बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीको विवाद उत्कर्षमा पुगेका बेला सहमति जुटाउन दुई अध्यक्ष वार्तामा जुटेका हुन्। पार्टी स्थायी कमिटी बैठक बसिरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट संसद अधिवेशन अन्त्य गरेपछि पार्टी फुटाउने अध्यादेश ल्याउन तयारी भइरहेको झस्को नेताहरुमा पसेको छ।

त्यही कुराको सुँइको पाएपछि बैठक रोकेर अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास नै पुगेका थिए। राष्ट्रपतिले त्यस्तो तयारी नरहेको जानकारी प्रचण्डलाई दिएकी थिइन्। नेताहरुले पार्टीलाई फुटबाट जोगाउनका लागि वार्ताको जिम्मा दुई अध्यक्षलाई दिएका छन्।