कुखुराको मासु र अण्डामा मूल्यवृद्धि, मागका तुलनामा बढेन आपूर्ति, ‘केही समय अभाव रहने’

बिजमाण्डू
२०७७ असार १९ गते १५:५१ | Jul 3, 2020
कुखुराको मासु र अण्डामा मूल्यवृद्धि, मागका तुलनामा बढेन आपूर्ति, ‘केही समय अभाव रहने’

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनले कुखुरा उत्पादन घट्दाको असर अहिले बजारमा परेको छ।  मासु र अण्डा दुवैको माग उच्च छ, आपूर्ति न्यून। त्यसैले भाउ बढ्न थालेको छ। 

जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र अण्डाको क्रेटमा मा २५ रुपैयाँसम्म मूल्य बढेको छ। हाल बजारमा कुखुराको मासु प्रतिकेजी ३७५ रुपैयाँ छ। जिउँदो कुखुरा प्रतिकेजी २६० पुगेको छ भने अण्डा क्रेटको ३६५ रुपैयाँ पर्न थालेको छ ।

गत सातासम्म उपभोक्ताले मासु ३६० र अण्डा क्रेटको  ३५० रुपैयाँमा खरिद गरिरहेका थिए। गत मंगलबारबाट लागू हुनेगरी मूल्य बढेको पोल्ट्री संघका अध्यक्ष जंगबहादुर बीसीले बताए। 'मागको अनुपातमा उत्पादन बढेको छैन,' उनले भने, 'भाउ नपाउने भनेर लकडाउनमा धेरैले खोरमा चल्ला हालेनन्, त्यसैले अहिले बजारमा सर्टेज भएको हो।'

पोल्ट्री संघ र कुखुरापालक किसानले बजारको मागलाई ध्यानमा राख्दै अहिले खोरमा चल्ला हाले पनि तयार भएर बजारमा आउन डेढ महिना लाग्छ। 'साउन लागेपछि नयाँ लट तयार हुन्छ, त्यसपछि भाउ घट्छ,' अध्यक्ष बीसीले भने।

अण्डाको बजारमा माग अधिक छ। सामुदायिक कोल्ड स्टोरमा यतिबेला अण्डा सर्टेज हुन थालेपछि बिक्री गर्न नपाएको संचालक सानुकान्छा तामाङले बताउँछन्। उनले बुधबारदेखि बढेको भाउमा मासु बेचिरहेको बताए।

चितवनमा उत्पादन हुने कुखुरा र अण्डा उपत्यका आइपुग्दा मूल्य बढेर आउने गरेको लक्ष्य पोल्ट्रीका संचालक प्रदीप खनालले बताए । डिलरलाई नै अण्डा प्रतिक्रेट ३६५ रुपैयाँ पर्न थालेपछि खुद्रा बिक्रीमा मूल्य बढ्नु स्वभाविक भएको उनको भनाइ छ।  

'लकडाउन अगाडि मैले दिनको ३५ सय क्रेट अण्डा बेच्दै थिएँ, यतिबेला १६ सय क्रेटभन्दा बढी बेच्न पाइएको छैन,' उनले भने, 'उत्पादन नै घटेर थोकले मागेभन्दा कम माल आइरहेको छ।' लक्ष्य पोल्ट्रीले  हाल उपत्यकामा होलसेल र रिटेल गरेर दैनिक १४ सय क्रेट अण्डा बिक्री गर्दै आएको जनाएको छ।  

'गत महिनासम्म कम उत्पादन हुँदा पनि बजारको माग धानिरहेको अवस्था थियो। लकडाउन खुकुलो भएपछि मासु र अण्डाको खपत बढ्यो,' नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भने, 'पहिलेकै अनुपातको सप्लाइले कहाँ बजार धान्छ ?' व्यवसायीले खोरमा चल्ला हाल्न थालिसकेकाले तयार हुँदै जाँदा बजार केही समयपछि सहज हुने उनले बताए।

'चल्ला राखेर खान हुने कुखुरा तयार हुन ४५ दिन लाग्छ,' उनले भने, 'त्यो बेलासम्म त अब अभाव रहन्छ।'