गौतमबुद्ध विमानस्थल संचालन मिति अझै नौ महिना पर धकेलियो, मन्त्री भन्छन् ‘अब डिसेम्बरबाट मात्रै’

बिजमाण्डू
२०७७ असार १९ गते १५:०४ | Jul 3, 2020
गौतमबुद्ध विमानस्थल संचालन मिति अझै नौ महिना पर धकेलियो, मन्त्री भन्छन् ‘अब डिसेम्बरबाट मात्रै’

Tata
GBIME
Nepal Life

काठमाडौं। यसै वर्षबाट संचालनमा आउनुपर्ने गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य पछाडि धकेलिएको छ। विमानस्थल अब आगामी डिसेम्बरबाट मात्रै संचालनमा आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले बताएका छन्।

मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने 'कोभिड-१९ का कारण निर्माण सामाग्री ल्याउन नसकेकाले आयोजना निर्माणले गति लिन सकेन।' उक्त विमानस्थलको निर्माण ९१ प्रतिशत पूरा भइसकेको छ। अन्तिम समयमा निर्माण सामाग्री ल्याउन नसक्नु र कामदार-प्राविधिक साइटमा पुग्न अप्ठ्यारो भएकाले पूर्वनिर्धारित लक्ष्य प्रभावित भएको उनले बताए।

मन्त्रालयले तयार पारेको विवरण अनुसार लकडाउन सुरु भएको तीन महिनायता उक्त विमानस्थलको तीन प्रतिशत थप काम भएको छ। हाल २९ जना चिनियाँसहित दुई सय ७५ जना कामदार परिचालित भइ टर्मिनल भवनको एयर कन्डिसनिङ, मार्बल, टायल्स, आल्मुनियम फिटिङ र रङरोगन लगायतको काम भइरहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो। लिंक ट्याक्सी-वे निर्माण कार्य सम्पन्न भइसकेको छ भने रनवे लाइट जडानको काम अन्तिम चरणमा छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा निर्माण पूरा भएर संचालनमा आउने मन्त्री भट्टराईले बताएका छन्। हाल उक्त विमानस्थलमा रहेको एक्सेस रोड, कार पार्किङ एरिया, ढल व्यवस्थापन, टर्मिनल बिल्डिङका कामहरु भइरहेको छ। त्यहाँ दुई सय ४४ चिनियाँसहित चार सय ४४ जनाको जनशक्ति परिचालित छ।

गत वर्ष मंसिरमा शिलान्यास गर्ने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले गति लिन सुरु गरेको मन्त्रालयले जनाएको छ। यो आयोजनाका सुरु गर्नका लागि निर्माण क्षेत्रभित्र पर्ने रुखविरुवाको गणना सुरु भएको जनाइएको छ। यतिखेर विमानस्थल छेउमा रहेको पसाह खोलाको ३० प्रतिशत र बकैया नदीको ४० प्रतिशत तटबन्ध निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले तयार पारेको विवरणमा उल्लेख छ।

उक्त आयोजनाका लागि अहिले 'एक्सप्रेसन अफ इन्ट्रेष्ट'को मूल्यांकन सम्पन्न भइ 'रिक्वेष्ट फर प्रपोजल' मूल्यांकनको चरणमा छ। मन्त्रालयले जुरिच अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवसायिक प्रस्ताव दिनका लागि आउँदो सेप्टेम्बरसम्मको म्याद थपेको छ।