बजार खुलेपछिको चहलपहलः ५०% छुट दिएर सामान बेच्दै दरबारमार्गका व्यवसायी

सरला सुवेदी/बिजमाण्डू
२०७७ असार १९ गते १०:३५ | Jul 3, 2020
बजार खुलेपछिको चहलपहलः ५०% छुट दिएर सामान बेच्दै दरबारमार्गका व्यवसायी

Tata
GBIME
Nepal Life

काठमाडौं। बजार खुलेसँगै दरबार मार्गका पसलमा चहलपहल बढ्न थालेको छ। छुटका आकर्षक अफर सार्वजनिक गर्दै ग्राहक रिझाउने प्रयासमा व्यवसायी देखिएका छन्।

लकडाउन खुकुलो पारिएपछि खुलेको बजारमा २० प्रतिशतसम्म व्यापार हुन थालेको व्यवसायीले बताएका छन्। तीन महिना लामो बन्दाबन्दीपछि बजार खोल्दा व्यवसायीले छुटका विभिन्न अफर दिएर ग्राहक तान्ने प्रयास गरिरहेका छन्। अहिले दरबारमार्गका पसलले सामानमा ५० प्रतिशतसम्म छुट दिइरहेका छन्। रेस्टुरेन्टहरूका लागि प्याकिङमा मात्रै कारोबार गर्न दिइँदा अपेक्षितरूपमा ग्राहक बढेका छैनन्।

काठमाडौं उपत्यकामा बिभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका सामानका शोरूमहरू दरबारमार्गमा छन्। लामो समय बन्द रहेको कारोबारलाई पुनः ट्रयाकमा ल्याउन व्यवसायी कस्सिएका छन्। यसका लागि सामानपिच्छे छुटका अफर सार्वजनिक गरिरहेका हुन्।

यहाँका पसलमा ब्याग, जुत्ता र फेन्सी लगायतका पसलमा छुटका अफरले ग्राहक आकर्षित गर्ने जोडबल चलिरहेको छ। कतिले ग्राहकले सामान खरिद गरेका आधारमा केही बढी पनि छुट दिएको पाइएको छ।

एडिडासका जुत्तामा ५० प्रतिशतसम्म छुट दिइएको रुट्स फेशनका कर्मचारी दीपेश चौलागाइले बताए। ६ हजारदेखि २० हजार रूपैयाँसम्मका जुतामा उक्त छुट रहेको जानकारी उनले दिए।   

लेबल्स स्टोर प्रालिमा व्यापार राम्रो भइरहेको कर्मचारी विशाल तामाङले बताए। 'रिबोक कम्पनीको टीसर्ट आइटममा ४० प्रतिशत छुट र जुतामा ६० प्रतिशत छुट  दिएर बिक्री गर्न थालेका छौं,' उनले भने, '२८ सय रुपैयाँदेखि ९ हजारसम्मको टीसर्टमा ४० प्रतिशतसम्म छुट छ।' साथै ३ हजारदेखि २० हजारसम्मका जुत्तामा  ६० प्रतिशत छुट दिइएको उनले बताए। सामानको मूल्य अनुसार छुटका अफरहरू दिइएको छ।  

दरबार मार्गका पसलहरुमा नियमित बाहेकका ग्राहकहरु पनि देखिन थालेको जारा फेशनका संचालक सन्जिव श्रेष्ठले बताए। 'सामान अनुसार २० देखि ४० प्रतिशतसम्म छुट दिइरहेका छौं,' उनले भने, 'कारोबार फेरि पुरानो अवस्थामा फर्काउन धेरै मेहनत गर्नुपर्ने अवस्था छ।' थाइल्याण्डबाट सामान आयात गर्दै आएका उनले यतिबेला पुरानो स्टक बिक्री गर्दै आएको बताए। ब्याग, जुता, महिला-पुरुषका फेसनका सामान उनले बेच्दै आएका छन्। एक हजारदेखि १५ हजार रुपैयाँसम्मको सामान छुटको अफर राखिएको उनले बताए।

ग्राहकले २० हजारसम्मको ब्याग आइटम खरिद गर्दा ५० प्रतिशत छुट र ३० हजार भन्दा माथिको खरिद गर्दा ६० प्रतिशत छुट दिन थालिएको म्याड अबाउट ब्याग्स् पसलका कर्मचारी रवीन्द्र लामाले बताए। उक्त पसलमा २१ सयदेखि ८ हजार रूपैयाँ मूल्यसम्मका ब्यागमा ५० प्रतिशत छुटमा राखिएको छ। साथै ८ हजारदेखि ३० हजार रुपैयाँ पर्ने सुटकेसमा ५० प्रतिशत छुटमा राखिएको उनले बताए।

दा मिलानो इटालियाले पनि लकडाउनपछि सामानमा छुटको अफरसहित बिक्री गरिरहेको स्टोर प्रबन्धक मजिद मुनिरले बताए। उक्त स्टोरमा दा मिलानो र रोस्सो ब्रुलेनो फूटवेयर एण्ड एसोसोरिज गरेर दुई ब्राण्ड छ। जसमा जुता, ब्याग र सुटकेसका साथै लुगाका बिभिन्न आइटम छन्।

रोस्सो ब्रुनेलो कम्पनीका जुता १५ हजारदेखि २८ हजारसम्म मूल्यका छन्। यसमा ५० प्रतिशतसम्म छुट दिइएको छ। १२ हजारदेखि ३० हजार रुपैयाँसम्म पर्ने ब्यागहरूमा २० प्रतिशत छुट राखिएको छ। छुटका नयाँ अफर बाहेक पनि नयाँ सामानमा स्टोरको सदस्यता भएकालाई १० प्रतिशत थप छुट दिने गरेको मुनिरले बताए।

लकडाउन खुकुलो भएर बजार खुल्न थालेयता बलेनो फेन्सीमा दैनिक ५ देखि १० प्रतिशत व्यापार हुन थालेको संचालक राधेश्यामले बताए। 'हामीसँग चाइनिज फेन्सी सामान छन्,' उनले भने, 'हरेक सामानमा २० देखि ५० प्रतिशत छुट दिँदै आएका छौं।' यतिबेला पुरानो स्टक नै बिक्री गरिरहेको उनले जानकारी दिए।

फेसन हाउस बिइङ ह्युमनमा यतिबेला ५० प्रतिशत व्यापार भइरहेको निर्देशक सुदीप चन्द्र बख्रेलले बताए। 'हाम्रा सबै आइटम फिक्स प्राइस छ, छुटको नयाँ योजना छैन,' उनले भने, 'सबै आइटम नयाँ छन्।'  

फेसन हाउसमा आइरहने धेरैजसो ग्राहक नियमित र पुरानै छन्। लकडाउनले नयाँ सामान झिकाउन नपाएका व्यवसायिक प्रतिष्ठानले पुरानो स्टक क्लियरेन्समा जोड दिएका छन्। छुटसहित सामान बेचेर नयाँ झिकाउने सुरमा व्यवसायी देखिएका छन्।